क्षतिग्रस्त बनेका घर भत्काउन धरधनी आफैँले निवेदन दिए

क्षतिग्रस्त बनेका घर भत्काउन धरधनी आफैँले निवेदन दिए

इलाम, ३ जेठ ।  विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका घर भत्काउन धरधनी आफैँले इलाम नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । वैशाख १२ र २९ गते गएको भूकम्पबाट क्षतिग्रस्त घर भत्काइदिन नगरपालिकामा सात जनाले निवेदन दिएका हुन् ।

इनपा–३ का पूर्ण सुवेदी, शिव थापा मगर, पूर्णमाया पौडेल, इनपा–६ का विजय बानियाँ, गोविन्द अधिकारी, इनपा–७ का अम्बर कार्की र इनपा–९ का केन्द्रबहादुर भण्डारीले नगरपालिका कार्यालयमा घर भत्काउन निवेदन दिएको शाखा अधिकृत रामकुमार शाहले बताए । यीमध्ये केन्द्रबहादुर भण्डारीको घर सेनाको सहयोगमा भत्काइएको हो ।

घर भत्काउन निवेदन परेपछि नगरपालिका कार्यालयले जिल्ला प्रशासनमा पत्राचार गरेको र प्रशासनले सेनाको सहयोग लिनुपर्ने भए सेनालाई सहयोग गर्न र नपर्ने भए आफैँले आफ्नो घर भत्काउन आदेश दिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । सबै घर सेनाले मात्र भत्काउन नसक्ने भएकाले जोखिम कम भएका घर आफैँले भत्काउन सकिने उनले बताए ।

भूकम्पपछि नगरपालिकाका प्राविधिक इञ्जिनियर दीपक गुरागाईं र भीमसेन श्रेष्ठ र सव–इन्जिनियर मेघनाथ ढुङ्गाना, राधाकृष्ण घिमिरेको टोलीले क्षतिग्रस्त घर, सरकारी भवन तथा अन्य भौतिक संरचनाको स्थलगत अनुगमन गरेको थियो ।

प्राविधिज्ञको अनुगमनपछि नगर क्षेत्रका ७८ घर पूर्णरुपमा क्षति भएको र ४२४ मा सामान्य क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाइएको थियो । त्यसमध्ये ४८ वटा भत्काएर नयाँ बनाउनुपर्ने र ३० वटामा मर्मत गरेर बस्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्