इटहरी डुबानमा

इटहरी डुबानमा

इटहरी, जेठ ६ : बुधबार बिहान परेको वर्षाका कारण इटहरी उपमहानगरपालिकाका २ हजार बढी घर डुबानमा परेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै परेको सामान्य पानीले नै इटहरी क्षेत्र जलमग्न भएपछि इटहरीबासी चिन्तित भएका छन् । अव्यवस्थित बसोबास, ढलको उचित निकास नहुनु, बाटोअनुसार प्राविधिक रुपमा परीक्षण नगरी घर निर्माण गर्ने क्रम बढेपछि सामान्य वर्षा हुनासाथ इटहरी पूर्णरुपमा डुबानमा पर्ने गरेको छ । यहाँका टेंग्रा, बूढीखोला तथा आसपासका स्थानमा रहेका नालाहरूमा पानीको बहाब वृद्धि हुँदा पानी सोझै मानव वस्तीमा प्रवेश गरी बर्सेनि लाखौंको क्षति पु¥याउने गरेको छ । बुधबार बिहान लागतार २ घण्टा परेको अविरल वर्षाकै कारण फेरि इटहरी डुबानमा परेको छ । उपमहानगरपालिकाका २ हजार बढी घर डुबानमा पर्नुका साथै अन्य ५ हजार बढी परिवार बाढीबाट प्रभावित भएका छन् । उपमहानगरपालिकाले ढलको उचित व्यवस्थापन नगरी जथाभावी घर बनाउन दिएका कारण यस्तो समस्या आएको स्थानीयको दाबी छ । उनीहरू नालाको उचित व्यवस्था गरेर मात्र घर निर्माण गर्न स्वीकृति दिए समस्या समाधान हुने बताउँछन् । वर्षाका कारण इटहरी विराटनगर सडकसमेत जलमग्न भएपछि बुधबार बिहानभर यातायातका साधनहरू सञ्चालनमा कठिनाई भएको थियो । साविक हाँसपोसा गाविसको २ नम्बर वडा तथा हाल  इटहरी उपमहानगरपालिका २४ मा मात्रै झण्डै ५ सय बढी घर डुबानमा परेका छन् ।  यस्तै घरहरू डुबानमा परेपछि बुधबार इटहरी बसपार्क क्षेत्रका बासिन्दाले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले बसपार्क आसापासका क्षेत्रमा रहेको ढलको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नसमेत माग गरेका छन् । तर इटहरी उपमहानगरपालिकाका इञ्जिनियर अर्जुन दाहालले भने इटहरीमा ढलको व्यवस्थित निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विश्व बैंकको सहयोगमा इटहरीमा देखिएको समस्यालाई हल गर्नका लागि आफूहरू जुटिरहेको बताउनुभयो । इटहरी हुँदै बग्ने खोलाहरू अलिकति वर्षा हुनासाथ धार परिवर्तन गरेर मानव वस्तीमा पस्ने गरको भए पनि रोकथामका लागि पहल नगर्दा इटहरीवासी बर्सेनि बाढीबाट पीडित बन्दै आएका छन् ।

 

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्