झुक्याएर आश्रममा छोडिएका बृद्धको उपचार गरिदिने

झुक्याएर आश्रममा छोडिएका बृद्धको उपचार गरिदिने

लेखनाथ खतिवडा

पाँचथर । तीन महिना अगाडि आँखाको उपचार गरिदिने भन्दै झापाबाट झुक्याएर पाँचथरस्थित सिद्धपोखरी सेवा सदनको ज्येष्ठ नागरिक आश्रममा छोडिएका एक वृद्धको आँखाको उपचार गराइने भएको छ ।
समाचार प्रकाशन भएपछि सम्बन्धित सरोकारवालाले आफ्ना कमजोरीलाई स्वीकार्दै आँखाको उपचार गरिदिने प्रतिबद्धता जनाएका हुन् । आश्रममा इलाम फिक्कल घर भई झापाको शनिअर्जुन नगरपालिका–१ मा रमेश भट्टराईको घरमा बस्दै आएका ७२ वर्षिय तिलोचन भण्डारीलाई झुक्याएर ल्याएर अलपत्र छोडेको समाचार प्रकाशन भएपछि रमेश भट्टराई सहितको सरोकारवालाको टोलीले प्रतिबद्धता जनाएका हुन् ।
‘मालिक रमेश भट्टराईले आँखा उपचारको लागि डाक्टरलाई भेट गर्न लैजाने भन्दै यहाँ ल्याएर छोडेर भागे,’ उनले भने, ‘भोलि आउँछु बस्दै गर्नु भनेर हिँडेका उनी अहिले सम्म फर्केनन्,’ उनको गुनासो थियो ।
बुधबार आश्रम सञ्चालक संस्था सिद्धपोखरी सेवा सदन, मानव अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरुका साथ सरोकारवालासँग कुरा गर्दै रमेश भट्टराईले ज्येष्ठ नागरिक भण्डारीको आँखाको उपचारमा लाग्ने सम्पूर्ण खर्च साथै आवश्यक पर्ने खाद्यान्न र उनको नागरिकता साथै ज्येष्ठ नागरिकको पेन्सनपट्टा समेत उपलव्ध गराउने प्रतिवद्धता जनाए ।
उनले भने, ‘उहाँलाई झुक्याएर ल्याएको होइन पाँचथरमा आँखाको उपचार हुने अस्पताल छ उपचारपछि उतै आश्रममा बस्नुपर्छ भनेको हुँ ।’ ‘मेची आँखा अस्पतालभन्दा ठूलो अस्पताल कहाँ छ’ भनी पत्रकारले प्रश्न गरेपछि उनी नाजावाफ भएका थिए ।
सहमतिमा आँखाको उपचारको लागि आवश्यक पर्ने सम्पूर्ण रकम रमेश भट्टराईले व्यहोर्ने साथै निजको आँखाको उपचारको लागि सिद्धपोखरी सेवा सदनले आवश्यक पहल गरी उनको उपचारमा तुरून्त लैजाने सहमति भएको सेवा सञ्चालक संस्था सिद्धपोखरी सेवा सदनका राजेन्द्र काफ्लेले बताए ।
आँखाको उपचार हुने भन्ने सुनेपछि ज्येष्ठ नागरिक भण्डारी खुसीले दंग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्