इनरुवा, २१ जेठ : बिरामी भएर जिल्ला अस्पताल इनरुवा सुनसरीमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । दमको बिरामी भएर अस्पताल भर्ना भएकी सुनसरीको मधेशा–१ बस्ने ६० वर्षीया दीर्घमाया कटवालको उपचार अभावले मृत्यु भएको भन्दै मृतकका आफन्त र छिमेकीले बिहीबार इनरुवास्थित जिल्ला अस्पतालमा घेराउसमेत गरेका छन् । ड्युटी तोकिएका डा. शशिभूषण राम बिरामीको अवस्था गम्भीर भएको जानकारी हुँदाहुँदै पनि ६ घण्टासम्म पनि उपचारका लागि नआएको र बिरामीको रेफर गर्नसमेत अन्य स्वास्थ्यकर्मीले सल्लाह नदिएको मृतकका आफन्तको आरोप छ । उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि तत्काल कारबाही र क्षतिपूर्तिको अडान लिएका मृतकका आफन्त र छिमेकीले माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् ।