आजको शिर्षक अलिक बेग्लै खालको छानेको छु ! यो कुनै एक प्राइभेट स्कुलको बसको नम्बर हो तर कुन स्कुलको को हो भन्ने बारेमा चाहिं म केहि जान्दिन ! एकदिन को कुरो हो , हालसालै है , महा-भुकम्प पछिकै कुरो हो ! म एउटा प्राइभेट गाडीमा परिवारका केहि सदस्य संगै इटहरी तर्फ जाँदै थिएँ ! अचानक यो बसले हामीलाई उछिनेर अघि लाग्यो ! प्रायजसो : प्राइभेट गाडी छिटो हकाइञ्छन तर यो बसले त हामि चढेको प्राइभेट गाडी लाई पनि उछिनेर , झन् छिटो पो दौडायो ! मैले गुरुजी लाई सोधें ," किन यसरि अत्तालिएर गाडी हाँकेको ?" गुरुजीले भन्नुभयो ," स्कुलको गाडी हो , स्कुल पुग्न हतार होला , दश त यहीं बजिसक्यो , छिट्टै पुग्न होला !"मैले भने," स्कुलको गाडी त झन् छिटो हाँक्न नहुने हो ! स-साना बाल-बालिका कत्ति डराएका होलान ! भर्खर खाना खाएर हिडेका होलान ! खाना बोमिट हुने सम्भावना हुन्छ ! त्यो भन्दा पनि ठुलो कुरो त गाडी दुर्घटनामा पर्यो भने के होला भन्ने डर कस्तो नभएको ? स्कुलका गाडीहरु यसरि कुदाउन मिल्छ र ?" गुरुजीले भन्नुभयो," हाम्रो देशमा जसले जे गरे पनि हुन्छ ,सर !" जसले जे गरे पनि हुनेभए , तपाईंले चाहिं किन ओभरटेक नगरेको त ? तपाईंको यो सानो गाडी त झन् छिटो कुद्छ होला , हैन र ? मैले गुरुजी लाई सोधें ! गुरुजीले भन्नुभयो," सर , म यत्ति छिट्टै मर्न चाहान्न नि , मलाई अझै यो संसार हेर्नु छ !" मैले भने," ए ! तपाईं लाई चाहिं संसार हॆर्न मन छ , तर ति स-साना बाल-बालिका लाई चाहिं छैन होला त ? यसमा अलिकति भए पनि तपाईं पनि दोषी हुनुहुन्छ ! तपाइंले किन यो गाडी लाई ओभर-टेक गर्न दिनुभएको ?" त्यसपछि गुरुजी छक्क पर्नुभयो र भन्नुभयो ," हो त नि , हगि ! मैले बाटो नदिएको भए त उ अझै हाम्रै पछि हुन्थ्यो !"
के हामीले सुरक्षित ठानेर रोजेका स्कुल र स्कुल बस हरु सान्च्चिक्कै सुरक्षित होलान त ? प्रश्न उठ्न सक्छ ,स्कुल बस मात्रै किन ? अरु चाहिं सवारीका कुन त्यस्ता साधन छन , जुन शुरक्षित हुन्छन र ? हो, हाम्रो देशमा केहीको पनि सुरक्षा छैन र कसैको पनि शुरक्षा छैन ! जता हेर्यो त्यतै लथा-लिङ्ग छ ! चारैतिर अराजकता छ ! तर त्यसो भन्दै हामि गैर-जिम्मेवार हुने कि हामीले हाम्रो जिम्मेवारी सम्झिएर कार्य गर्ने ? सबै भन्दा सचेत क्षेत्र भनेको शिक्षाको क्षेत्र हो ! शिक्षा प्रदान गर्ने शिक्षालयहरुले पनि आफ्नो संवेदनशीलता देखाएनन भने अरु कसले पो देखाउला र ? याहाँ प्रश्न उठ्न सक्छ , के स्कुलको प्रिन्सिपलले गाडी चालक लाई छिटो-छिटो गाडी हाँकेर दुर्घटनाको जोखिममा गाडी हाँक भनेर सिकाएको हुन्छ र ? हुँदैन, पक्कै पनि सिकाएको हुँदैन किनभने अचेलभरिका व्यापारीले चलाएका शिक्षालयमा सिकाउनु पर्ने त्यस्ता धेरै कुराहरु छन , जुन शिक्षालयले सिकाएकै हुँदैनन् ! गाडी-चालक लाई समय भित्रै स्कुल बस नल्याएमा गालि गरिन्छ ! एउतै बस भित्र सिट भन्दा बढी बिद्यार्थी कोचेर राखिन्छ ! बस यत्ति हतारमा हुन्छ कि भनौ त भने बाल-बालिका लाई राम्ररि चढ्न र ओर्लिन पनि पर्याप्त समय दीइदैन , ढोका ढ्याक-ढ्याक पारेर हिडाउना नै हतार भैरहेको हुन्छ ! कुनै पनि गाडी चालक लाई कुनै पनि विद्यालयले कुनै पनि प्रकारको दिनु पर्ने तालिम दिएकै हुदैन , न त साप्ताहिक न त माषिक ! गएर आफ्ना बाल-बालिका पढ्ने स्कुलमा छड्के जांच गर्नुस त , ट्वाइलेटमा हात धुने साबुन राखेका छन कि छैनन , थाहा पाई हाल्नु हुन्छ नि , के के सिकाउछ्न भनेर !
परिणामस्वरूप , स्कुलका बाल-बालिका बोक्ने गाडीहरु समेत रेसको मैदानमा दौडिन उतारिएका घोडा जसरि अन्धा-धुन हाँकीन्छन , न तिनका चालक लाई ति स-साना बालबालिकाको चिन्ता छ , न त ति ब्यापारी शिक्षालयका मालिक लाई नै छ , चिन्ता छ त केवल जसरि भए पनि बाल-बालिका बोक्न पठाएको गाडी चाहिं दश बजे भित्र स्कुलको गेट भित्र छिरिसकेको हुनुपर्ने , चिन्ता छ ! हामि अभिभावकको चिन्ता चाहिं के हो भने आफुले खाई-न-खाई जम्मा गरेको पैसा , हाम्रा शिक्षालयहरुले विभिन्न बहानामा यत्ति निर्मम तरिकाले चुसिरहेका हुन्छन कि त्यत्ति निर्मम तरिकाले त कुनै नर-भक्षी जंगली पशुले पनि आफ्नो शिकार लाई चुस्दैन होला ! अहिलेकै उदाहरण हेरौं न , महा-भूकम्पले थिल-थिलो बनाएर भर्खर -भर्खर यसो सास धान्ने मेलो जुट्दा -न -जुट्दै, हाम्रा बाल-बालिकाले पढदै -न-पढेको फिस र चढ़दै -न-चढेको गाडीको भाडा तिर्नु अरे ! यत्ति अनैतिक र यत्ति निर्मम ब्यबहार त जंगली नर-भक्षिले पनि गर्दैन होला ! तर्क चाहिं के दिन्छन , थाहा छ ? बैंकबात लिएको ब्याज तिर्नुपर्छ अरे, घाटा हुन्छ अरे ! ए ! बाबा ! हामीलाई तिमीहरुले कहिले पो नाफा चाहिं बाँडेका छौ र ? अरुबेला त हामि बोलेनौ , बोलेनौ ! यस्तो विपदको बेलामा पनि तिमीहरु लाई नाफा नै चाहिएको छ ? तिमीहरुमा मानवता भन्ने कुरो हुँदै नभएको हो कि बिर्सिएका ?
हुन त हामि अभिवावक पनि पट मुर्ख छौं या भनौं सुकुल छौं ! हामि हाम्रा घर--आँगनमा भएका स्कुल लाई हेला गर्छौं र के के न हगि देलान भनेर दुधे बाल-बालिका लाई समेत गाडी चढाएर पचास कोष टाढाको स्कुलमा पुर्याउछौं ! नजिकको तिर्थ हेला भनेझैं , हाम्रा नजिकका स्कुल त हेलित भैहाले नि ! बिहान दश बजे स्कुल पुग्नुपर्ने बाल-बालिका आधा पेट पनि नखाई बिहान आठै बजे देखि ड्रेस लगाएर सडकमा उभिएर स्कुल-बस कुर्छन ! नजिकैको स्कुलमा भए त कमसेकम बिहान भरि पुस्तक पढ्ने , गृह-कार्य गर्ने र बाउ-आमा संग अन्तरक्रिया गर्ने समय त पाउथे , बिचरा ! सधैं हतार !हतार ! न बाउ-आमा लाई शान्ति छ , न बाल-बालिका लाई ! सबै लाई टेन्सन ! टिफिनमा खाजा हाल्ने लाई भिन्नै टेन्सन , स्कुल ड्रेस लाईदिनु पर्ने अर्को टेन्सन , बाटो सम्म लैजानु पर्ने झन् ठुलो टेन्सन ! बेलुकी स्कुल बसले सारा शहर घुमाएर कतिबेला घर ल्याइपुर्याउने हो त्यो अर्कै टेन्सन ! आउने बित्तिक्कै गलेर लखतरान भएका बाल-बालिका लाई फेरि ट्युसनको नाममा दिने यातनाको भिन्नै टेन्सन ! ए ! बाबा ! ट्युसन नै हाल्नुपर्ने भए त्यो पचास कोष टाढाको स्कुलमा किन पुर्याएको हौ ,ति स-साना बाल-बालिका लाई ? हरे ! शिव ! हामि अभिभावक लाई चाहिं कसले दिने बुद्धि ? धन्न ! त्यो पैसो चाहिं कसरि आको छ को नि ? बुद्धि त एकरत्ति छैन हामीसंग ! बुद्धि भएको भए, हाम्रा बाल-बालिकाको पढाई राम्रो भैहाल्थ्यो नि ! बुद्धि भैदिएको भए त हामि ढुक्क भैहाल्थ्यों नि ! त्यहि बुद्धि नभएर त हो नि , कहिले हामि हाम्रै बाल-बालिका पढ्दै पढ्दैनन भनेर अरुलाई सुनाउछौँ त कहिले आफ्नै बाल-बालिका लाई ठटाउछौँ !
त्यसैले बेलैमा सोचौं , हामि सजग हौँ र अन्यायको विरुद्धमा आवाज उठाउँ ! भोलि समय गुज्री सकेपछि ,ज्या ! है ! भनेर के पो होला र ?
पुरुषोत्तम भण्डारी
९८४२०४१७१७