राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त

काठमाडौं, १० असार : राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले परिषद्को अध्यक्षका नाताले बिहीबार नेपाल सेपाकटाक्रो संघका कार्यबाहक अध्यक्ष विष्टलाई सदस्यसचिवमा नियुक्त गर्नुभएको हो । परिषद्को सदस्यसचिव पदका लागि उपाध्यक्ष टेण्डी शेर्पा, पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिनालगायत दौडमा रहेकोमा युवा तथा खेलकुदमन्त्री पौडेलले दौडमा पछाडि देखिएका विष्टलाई रोज्नुभएको हो । एमालेनिकट नेपाल खेलकुद महासंघका समेत कार्यबाहक अध्यक्ष रहेका विष्ट पार्टीमा माधवकुमार नेपाल निकट मानिनुहुन्छ । महासंघका अध्यक्ष रहेका पौडेलले आफू युवा तथा खेलकुदमन्त्री भएपछि प्रथम उपाध्यक्ष विष्टलाई महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरी परिषद्को सदस्यसचिव नियुक्त गरेका विष्टले बिहीबार नै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै विष्टले आफू नेकपा एमाले पार्टीसँग जोडिएको भए पनि परिषद्मा राजनीतिक आस्थाका आधारमा काम नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेल क्षेत्रको विकास नै आफ्नो मुख्य प्राथमिकता भएको भन्दै यसअघिका सदस्यसचिवले गरेका राम्रा कामलाई निरन्तरता दिने र आफूले गर्ने नयाँ कामका बारेमा केही दिनमै स्वेतपत्र जारी गर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारका पालामा एकीकृत नेकपा माओवादीको कोटामा सदस्यसचिव नियुक्त भएका युवराज लामाको चार वर्षे कार्यकाल गत जेठ २८ गते सकिएको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पौडी संघको सिफारिसमा राजेन्द्र श्रेष्ठ तथा अखिल नेपाल फुटबल संघको सिफारिसमा समी उल्लाहलाई परिषदको सदस्य पनि नियुक्त गर्नुभएको छ ।

 

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्