बंगलोर पढ्न चाहानेलाई मेरो सल्लाह – अतित गुरागाईं

बंगलोर पढ्न चाहानेलाई मेरो सल्लाह – अतित गुरागाईं

नेपालमा प्लस टुको समाप्ती पछि उच्च शिक्षाको लागि बंगलोर जाने नेपाली बिद्यार्थीहरु दिनानुदिन बढ्दैछन् । अझ भनौ नेपाली बिद्यार्थीहरुको लागि उत्कृष्ठ शैक्षिक हबको रुपमा पनि बंगलोरलाई लिने गरिन्छ । तर यहाँ रहेका कन्सल्टेन्सीका गफ र कलेजका वेबसाइटमा राखिएका आकर्षक र लोभलाग्दा तस्विरहरुको कारण प्राय  नेपाली बिद्यार्थीहरु चाहिने भन्दा धेरै आकर्षित हुन्छन् । जसको परिणाम पछि गएर हात लग्यो शुन्यको स्थितिमा समेत पुग्नसक्छ ।

कतिपय नेपालीहरु कलेज भर्ना भएपछि त्यहाँबाट भागेर नेपाल नै आएको पनि उदाहरणहरु छन् । बंगलोरका प्रत्येक कलेजहरुले भर्ना हुने बित्तिकै हरेक बिद्यार्थीहरुको प्रमाणपत्र आफ्नो हातमा पार्ने गर्दछन् र पढाई पुरा भएपछि वा पुरा नभई कोर्सको पुरै रकम तिरेपछि मात्र उक्त प्रमाणपत्र फिर्ता गर्छन् । त्यहाँका कलेजहरुले एक तरिकाबाट बिद्यार्थीहरुलाई ब्लाकमेलिंग गरिरहेका छन् । अझ फाइन र अतिरिक्त शुल्क भनेर समेत बिद्यार्थीहरुसंग चर्को रकम लिने गर्छन् । कतिपय अवस्थामा यहाँका कन्सल्टेन्सीहरुले कलेजको एक वर्षको पुरै रकम यहि लिएर कलेजलाई नतिरी बिद्यार्थीहरुलाई परीक्षाको बेला अबर पार्ने समेत गरेका छन् । त्यसैले यस्ता दलालहरुबाट टाढा रहनु नै हाम्रो लागि उपयुक्त हुन्छ ।

आवश्यक जानकारी
दुरी – भारतको बंगलोर शहर नेपालको जुनसुकै सिमानाबाट पनि पच्चीस सय देखि तिन हजार किलोमिटरको दुरीमा पर्छ । नेपालका सिमानाका नजिकका भारतीय शहरहरु जस्तो कि जल्पाईगुरि, कटिहार, पटना, कलकत्ता, मुजÞफापुर, गोरखपुर बाट बंगलोरको लागि रेल पाउन सकिन्छ । यी शहरहरुबाट बंगलोर पुग्न स्लीपरमा आठ सय देखि हजार सम्म र थ्री टियर ए.सी मा दुइ हजार देखि पच्चीस सय सम्म लाग्ने गर्दछ ।

हावापानी – बंगलोरको हावापानी एकदमै राम्रो छ, बारै महिना न जाडो न गर्मि हुने ठाउँ हो बंगलोर । तपाई बंगलोर जाँदै हुनुहुन्छ भने गर्मीका लुगा र एउटा पातलो विन्ड चिटर बोके पुग्छ । प्राय ः पानी पर्ने भएकोले त्यहाँ गर्मि कम हुन्छ तर बंगलोरको उत्तरी भेगमा भने दक्षिण भेग भन्दा केहि गर्मि हुने गरेको छ ।

कलेज छनोट – कलेज छनोट गर्दा तपाई कलेजको वेबसाइटको भर नपर्नु नै बेस हुन्छ । कलेजको वेबसाइटमा तपाइले हेर्ने भनेको नै कलेजमा लाग्ने शुल्क र कलेजको ठेगाना मात्र हो । तपाई गुगलमा गएर Best ( तपाइले पढ्न चाहेको बिषय-  colleges in bangalore  भनेर सर्च गरे पछि तपाई कलेजको लिस्ट संगै कलेजको ठेगाना पाउन सक्नु हुन्छ । कलेजको ठेगाना टिपोट गरिसकेपछि तपाई सिधै बंगलोर जानुहोस । त्यहाँ पुगेर तपाई आफ्नो मोबाइलमा ola भन्ने एप डाउनलोड गर्नु होस् जसले तपाइलाई सस्तो र सुरछ्यित ट्याक्सी सेवा दिन्छ । तपाईले नेटबाट टिप्नुभएको कलेजको ठेगाना चालकलाई देखाउनु भयो भने तपाइलाई उसले कलेजसम्मै पुर्याईदिन्छ । यसरी सबै कलेज डुलेर तपाई आफुलाई राम्रो लागेको कलेजमा भर्ना हुन सक्नु हुन्छ ।

सुरक्षा – बंगलोर शहर सभ्य र सुशील मानिसहरुको शहर भनेर चिनिन्छ । त्यहाँ चोरी र लुटमारको डर तपाइले नमाने हुन्छ । त्यहाँ हामीले बचेर रहनु पर्ने भनेको बिहारीहरू र केहि नेपालीहरुसंग नै हो । परदेशको ठाउँमा नेपाली भेटियो भनेर बिश्वास नगरिहाल्नुस । तर तपाई कुनै कलेजमा पुगेर नेपाली भेटियो भने फेरी नडराउनुहोस् । मानिसलाई चिनेर मात्र बिश्वास गर्नु होला ।

खाना – बंगलोरमा प्राय ः साउथ इन्डियन खाना पाइन्छ तर अहिले त्यहाँ नेपाली तथा नर्थ इन्डियन खाना पनि पाउन थालिएको छ । एकदमै सस्तो र मिठो खाना पाईन्छ त्यहाँ । त्यहाँका होटलहरुपनि सफा र गुणस्तरका हुन्छन र बेला बेलामा सरकारी अनुगमन पनि हुने गर्दछ ।

भाषा -बंगलोरमा बोलिने भाषा भनेको त्यहाँको स्थानीय भाषा हो, जसलाई कनडा भनिन्छ तर त्यहाँ हिन्दी र अंग्रेजी बोल्न जान्नेलाई भाषा समस्या कहिले नि हुदैन । त्यहाँ हरेक मानिस कि त हिन्दी बोल्न जान्ने हुन्छ कि त अंग्रेजी बोल्न जान्ने हुन्छ । त्यसैले भाषा समस्या हुन्छ भनेर तपाइँ नडराए हुन्छ ।

बसाइ – तपाईलाई बस्नलाई पनि बंगलोरमा केहि समस्या हुदैन । तपाई जाने कलेजले बिदेशी बिद्यार्थीहरुको लागि होस्टेलको व्यवस्था हुन्छ अथवा तपाइलाई होस्टेल बस्न मन नलागे पेयिंग गेस्ट पनि बस्न सक्नुहुन्छ । तपाईलाई बस्नको लागि 1 BHK  रुम पनि उपयुक्त हुन्छ तर त्यसकोलागि डिपोजिट राख्नु पर्ने हुन्छ त्यसैले सबै भन्दा राम्रो होस्टेल वा पेयिंग गेस्ट नै हुन्छ ।

म आफै पनि बंगलोरमा पढ्दै गरेको बिद्यार्थी हुँ र दिनानुदिन यस्ता समस्याहरु भोग्दै र देख्दै आएको छु । म पछिको भाइबहिनीहरुले यस्तो समस्या भोग्न नपरोस भन्ने कामना गर्दछु । बंगलोर शहरमा हिन्दी वा अंग्रेजी जान्नेलाइ केहि समस्या हुदैन र यो ठाउँ नेपाल भन्दा केही फरक छैन । त्यसैले एजेन्टको भर नपरौ र आफै आएर बुझेर भर्ना हौं । तपाईलाई बंगलोरमा केहि समस्या परे फेसबुक पेज Nepalese In Bangalore को पनि सहयोग लिन सक्नुहुन्छ ।

हाल – होसाकेरेहल्ली बंगलोर
सम्पर्क – ९१८८९२९०५२२६ ( भारत )
– ९७७९८६२१४४२५५ ( नेपाल )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्