विराटनगर । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पूर्वसचिव एकनारायण अर्याल विराटनगरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव ५९ वर्षीय अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । उक्त प्रकरणमा वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोप अर्याल माथि छ । सीआईबीका अनुसार यस क्रममा अमेरिकी डलर र बेलायती पाउन्डसमेत गरी ठूलो रकम गैरकानुनी रूपमा संकलन गरिएको थियो ।
सम्झौता तथा कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने गरी काम गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस प्रकरणमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको थियो । पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
