प्रेम देवान,
विराटनगर । विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालनका लागि आवेदन खुला गरेसँगै व्यवसायीहरूले अनुमति माग्दै निवेदन दिन थालेका छन् । अहिलेसम्म पाँचवटा व्यवसायीले प्रशासनले तोकेको मापदण्ड पूरा गरेको दाबीसहित सञ्चालन अनुमति मागेका छन् ।
प्रशासनले तयार पारेको निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गर्ने व्यवसायले राति २ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । तर, आवेदन दिएका व्यवसायले तत्कालै राति २ बजेसम्म सञ्चालन गर्न भने पाउने छैनन् । प्रशासनसहित सम्बन्धित नियामक निकायको स्थलगत अनुगमन र मापदण्डको प्रमाणीकरणपछि मात्रै अनुमति दिइनेछ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार अहिलेसम्म पाँचवटा व्यवसायले मापदण्ड पूरा गरेको दाबीसहित आवेदन दिएका छन् । तीमध्ये विराटनगर–४ एयरपोर्ट लाइनस्थित सिंहासन रेस्टो एन्ड लाउन्जले सुरुवातदेखि नै अनुमति माग्दै निवेदन दिएको थियो ।
ुहामीकहाँ सुरुवाती दिनदेखि नै सिंहासनले अनुमतिका लागि निवेदन दिएको थियो । अहिले अन्य व्यवसायीले पनि मापदण्ड पूरा गरेको भन्दै आवेदन दिएका छन,ु कोइरालाले भने,अब सम्बन्धित निकायको टोलीले स्थलगत अनुगमन गर्छ । सबै मापदण्ड पूरा भएको पाइए थप अनुमति पत्र दिएर राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइनेछ ।’प्रशासनमा आवेदन दिने व्यवसायमा सिंहासनसँगै मेट्रो सिटी, फस्ट ब्रेक स्नूकर एन्ड पुल हाउस र एबी गीतगजल रहेका छन् । पाँचवटा आवेदन परेको प्रशासनले जनाएको छ ।
आवेदनमाथि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, विराटनगर महानगरपालिका, सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिसहितको टोलीले अनुगमन गर्नेछ । अनुगमनका क्रममा सुरक्षा, पार्किङ, ध्वनि नियन्त्रणलगायत प्रशासनले तोकेका सबै मापदण्ड पूरा भएको पाइएमा मात्रै व्यवसाय सञ्चालनको अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
मापदण्ड पूरा नगरे राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न नपाइने ः
रात्रिकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनले सुरक्षा, ध्वनि नियन्त्रण, श्रमिकको अधिकार र सेवाग्राहीको सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न मापदण्ड निर्धारण गरेको छ । मापदण्डअनुसार राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि मदिरा पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै खोल्न पाइनेछ । होटल तथा मनोरञ्जन स्थलमा दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाइने छैन । शुक्रबार राति १ बजेपछि र अन्य बार राति १२ बजेपछि पनि मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ ।
मनोरञ्जनात्मक व्यवसायमा अनिवार्य साउन्डप्रुफ भवन र साउन्ड कन्ट्रोल सिस्टम जडान गर्नुपर्नेछ । ध्वनि प्रदूषणका कारण छिमेकीलाई असर पुगेमा अनुमति रद्द गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, प्रवेश तथा निकासद्वार र सडक क्षेत्र देखिने गरी सीसीटीभी जडान, व्यवसाय परिसरदेखि बाहिर १०० मिटरसम्म पर्याप्त प्रकाश, डिजिटल डिस्प्ले बोर्ड, अग्नि नियन्त्रण उपकरण, आपत्कालीन निकासद्वार, पार्किङ र सुरक्षा गार्डको व्यवस्था अनिवार्य गरिएको छ ।
मादक पदार्थ सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन न्यूनतम शुल्कमा यातायात अर्थात् ड्रप सेवा उपलब्ध गराउनुपर्नेछ । डान्सबार, पब, डिस्को र दोहोरीमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ । त्यस्ता स्थलमा सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्रीमा पनि उमेरसम्बन्धी प्रतिबन्ध पालना गर्नुपर्नेछ । मसाज पार्लरका ढोकामा चुकुल वा लक लगाउन नपाइने व्यवस्था गरिएको छ ।
श्रमिकको हकहितलाई समेत मापदण्डमा समेटिएको छ । व्यवसायीले श्रमिकलाई नियुक्तिपत्र, बैंकिङ प्रणालीमार्फत तलब, जोखिम बिमा तथा रातिको खाना र यातायातको व्यवस्था गर्नुपर्नेछ । महिला श्रमिकका लागि सुरक्षित चेन्जिङ रुम र स्तनपान कक्ष अनिवार्य गरिएको छ ।
त्यस्तै, कर्मचारीले कामको समयमा मदिरा सेवन गर्न, ग्राहकसँगै बसेर खानपिन गर्न तथा उत्तेजक पोसाकमा नाचगान गर्न नपाउने व्यवस्था गरिएको छ ।
राति १० बजेपछि सेवा लिन बाहिर निस्कने ग्राहकले समेत अनिवार्य परिचयपत्र बोक्नुपर्नेछ । विराटनगरको केशलिया र सिंघिया खोला क्षेत्रदेखि उत्तरमा स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्म लागू हुने उक्त मापदण्डको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिले गर्नेछ । आकस्मिक निरीक्षणका क्रममा मापदण्ड उल्लंघन गरेको पाइए अनुमति तत्काल रद्द गरी प्रचलित कानुनअनुसार थप कारबाही गरिने प्रशासनले जनाएको छ ।
तीन वर्षदेखिको व्यवसायीको माग कार्यान्वयनतर्फ ः
विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीले २०८० सालदेखि नै उठाउँदै आएका थिए । लामो समयदेखि उठ्दै आएको उक्त माग अहिले प्रशासनले निर्देशिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाएसँगै व्यवसायीहरू उत्साहित देखिएका छन् ।
रात्रिकालीन होटल व्यवसायी विराटनगरका अध्यक्ष सुरज श्रेष्ठका अनुसार व्यवसायीले आजभन्दा तीन वर्षअघिदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालनको स्पष्ट मापदण्ड र अनुमति माग्दै आएका थिए ।
ुहामीले तीन वर्षअघिदेखि नै यो विषय उठाउँदै आएका थियौँ । अहिले आएर प्रशासनले चासो दिएर मापदण्ड बनाउनु सकारात्मक कुरा हो,ु श्रेष्ठले भने, ुमापदण्ड पूरा गरेर शान्तिपूर्ण रूपमा व्यवसाय सञ्चालन गर्न सके विराटनगरको आर्थिक गतिविधि र पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्छ । रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्थापन प्रहरी प्रशासनको मात्रै जिम्मेवारी नभएको उनको भनाइ छ । यसमा होटल व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।
रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीले आफ्ना सेवाग्राहीको आन्तरिक सुरक्षा, पार्किङ तथा अन्य आवश्यक सुविधाको उचित व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।रात्रिकालीन व्यवसाय खोल्न पाउनुपर्छ भन्ने तर प्रशासनले तोकेको मापदण्ड पूरा नगर्ने व्यवसायलाई अनुमति दिनु हुँदैन, उनले भने । रात्रिकालीन होटल व्यवसायी विराटनगरका अनुसार अहिले विराटनगरमा तीन दर्जनभन्दा बढी डान्सबार तथा गीतगजल सञ्चालनमा छन् ।
रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउँदै विराटनगरको आर्थिक तथा पर्यटकीय गतिविधि विस्तार गर्ने उद्देश्यले अघि सारिएको यो व्यवस्थाको प्रभाव अब प्रशासनको अनुगमन र कार्यान्वयनमा निर्भर रहने देखिन्छ । पाँचवटा आवेदनमाथि हुने अनुगमनपछि विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालनको नयाँ अभ्यास सुरु हुनेछ ।