नपत्याएका दुई प्रसङ्ग – विजय खतिवडा

नपत्याएका दुई प्रसङ्ग – विजय खतिवडा

साउनदेखि विराटनगर नशा तथा हिंसामुक्त हुने र साउनमा नै नयाँ संविधान आउने । विराटनगरका आम नगरवासीलाई मात्र नभएर यसवारेमा जानकारहरू अधिकांश यी दुई भनाईहरू पूरा हुनेमा हत्तपत्त पत्याई हाल्दैनन् । तर पनि यसक्षेत्रमा लागेकाहरूको काम गराई तथा कुरा सुन्दा पत्याउन करै लाग्छ ।
विराटनगरमा जैन धर्मालम्वीहरूको चातुर्मास तथा नेपालको संविधान निर्माण यी दुवै सन्दर्भ विराटनगरमा मात्र नभएर अन्तर्राष्ट्रिय चासो र चर्चा पनि उक्तिकै छ ।
जैन धर्मालम्वीहरूको प्रत्येक चार वर्षमा हुने चातुर्मास विराटनगरमा हुनका लागि अन्तिम तयारी भइसकेको छ । त्यसका लागि विभिन्न देशका जैन धर्मलम्वी तथा गुरूहरू विराटनगर आउन थालेका छन् । यही चातुर्मासाका लागि नै साउन ६ गते बुधबार जैन धर्मका प्रमुख व्यक्तित्व आचार्य महाश्रमण विराटनगर आउँदै छन् । भारतको नयाँ दिल्लीबाट पैदलयात्रा हुँदै वीरगञ्जको बाटोबाट उनी बैशाखमा काठमाडौंमा पुगेर उनी अहिले त्यहाँबाट फर्की पैदलै यात्रामा सुनसरीको सोनापुर आइपुगी सकेका छन् । बिहीबार टंकीसिनुवारी बसी शुक्रबार भारतको विहार पुग्नेछन् ।

आचार्य महाश्रमण भारतको विहारमा दश दिनसम्म व्यस्त हुनेछन् र ठिक साउन ६ गते चातुर्मासाका लागि विराटनगर आइपुग्ने छन् । सारा सांसारिक सुख त्यागेर जैन धर्मको माध्यमबाट समस्त प्राणी तथा मानव सेवामा लागेका आचार्य महाश्रमणको यात्रा अहिंसा यात्रा हो । उनको विराटनगर आगमनले विराटनगरका जैन धर्मालम्वी तथा विराटनगरवासीलाई त आकर्षण गरेकै छ । विश्वमा विभिन्न स्थानमा छरिरहेका जैन धर्मालम्वीहरूलाई पनि विराटनगरले तानेको छ ।
चार महिनासम्म चल्ने चातुर्मासका लागि जैन धर्मका अन्य आचार्य मुनी तथा साधु साध्वीहरू आउने क्रम जारी छ । चातुर्मासमा विराटनगर जैनमयी हुने संकेत देखिन सुरू गरेको छ । अब चातुर्मासा हुने मानेमा विराटनगरमा विराटनगर अहिंसाको केन्द्र हुन्छ अर्थात विराटनगरमा मांस मदिरा विक्री वितरणमा नियन्त्रण हुन्छ ,व्यवस्थित हुन्छ । जैनीहरुको अन्तराष्ट्रिय अनुष्ठानबाट महान उपलब्धी हुन सक्छ भनेर पत्याउन करै लाग्छ ।

विराटनगरमा मापदण्ड विपरित जताततै मांस–मदिरा खुला रूपमा विक्री वितरण भइरहेकै छ । मन्दिर, अस्पताल, शैक्षिक संस्थाको ५ सय मिटर वरीपरी मदिराजन्य वस्तु विक्री वितरण गर्न नपाइने नगरपालिकाले मापदण्ड बनाएकै छ । तरपनि नियम उलङ्घन गरी खुद्रा पसल, खाना, चिया तथा पान दोकानमा समेत मदिरा विक्री भएको पाइन्छ । जथाभावी मदिरा सेवनले सवारी दुर्घटना, झैझगडा बढेको छ । दिन दहाडै खुकुरी, छुरी प्रहार तथा अश्लिल हर्कतका कामहरु मौलाइरहेका छन् । फलस्वरुप समाज अधोगतितर्फ लम्किरहेको भान हुन्छ । त्यसैले यो देशमा केही हु“दैन भनेर विदेशिनेको संख्या पनि पाइन्छ ।
विराटनगरमा सडक छेउमा नै खुला रूपमा पशुबध गरिन्छ, बाहिर नै झुण्ड्याएर मासु विक्री भइरहेको छ । नगरपालिकाले खुला रूपमा पशुवध गर्न एवम् झिंगा भन्किने तथा बाटोको धुलो पर्ने गरी खुल्ला रूपमा मासुजन्य पदार्थ विक्री गर्न नपाइने नियम बनाएको छ तर पनि उलङ्घन हुनु सामान्य जस्तै छ । गुट्खा, खैनी लगायतका जीचहरु खाने र विक्री गर्ने कार्यत खुलम खुला रुपमा छ । कार्वाही भएको पाइदैन ।
विराटनगरको रानी भन्सार नाका भएर लागू पदार्थ नेपाल भित्रिरहेको समाचार दैनिकजसो पढ्न पाइन्छ । यातायात पुगेको पहाडी ठाउँ तेह्रथुम, खाँदवारी, चैनपुर, वसन्तपुरदेखिका दुव्यसनीहरू लागू पदार्थको खरिद तथा सेवन गर्न जोगवनी आउने गरेको छन् । अब त सीमा प्रहरीको काम लागू पदार्थ समात्नु पनि नियमितता जस्तै भएको छ । दैनिक जसो कोही न कोही लागू पदार्थ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका छन् ।
विराटनगरको लागि जहा“सुकै पसलमा मदिरा पाउनु, जुनसुकै बेला सेवन गर्नु, जसले पनि सेवन गर्छ भन्नेमा अचम्म मान्न छोडिएको छ । विहान तथा दिउ“सो मदिरा सेवन गरेर सवारी साधन चलाउ“दा प्रहरीले मापसे परीक्षण नगर्दा मदिराप्रेमी लागि चालकको लागि सहज छ । बेलुकापनि मापसे गर्नको लागि कुनै समयसीमा नै छैन । ग्राहक आउन छाडेपछि मात्र स्वत राति १० बजे तिर मदिरा पसल बन्द हुन्छ ।
धुमपानको त कुनै सीमा नै छैन । चिया पसल होस् या चमेनागृहमा धुमपान नगर्नेले धुमपान गर्नेलाई इमान्दिारिताको साथ कुर्सी छोडदिनु पर्छ या शानका साथ फ्वाङ फ्वाङ उडाएको धु“वा निःशुल्क सुघ्नु पर्छ । अब यस्तो स्थितिमा विराटनगरमा नशा तथा हिंसाको अन्त्य हुन्छ र ? तर पनि चार महिनासम्म चल्ने चातुर्मासले अन्त्य गर्ला भनेर चार्तुमासाको तयारीमा लागेकाहरूको गतिविधि तथा स्थानीय समाजमा गरेको छलफल तथा अन्तरक्रियाले विश्वास बढाएको छ ।

नेपालमा नया“ संविधान आउने सवालमा पनि राजतन्त्रको अन्त्य र जनयुद्धपछि गणतान्त्रिक बनेको नेपाल कसरी नया“ मार्गमा अगाडि बढ्ला भनेर अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक नै हो । अझ संसारका दुई उदयीमान नया“ महाशक्ति राष्ट्र भारत र चीनको बीच नेपाल भएकोले यहा“को हरेक गतिविधिले विश्वलाई प्रभाव पार्ने प्रष्ट छ । अर्थात नेपालको गतिविधिले छिमेकी मुलुक भारत र चिनलाई प्रभाव पार्छ जसको असर सारा विश्वलाई पर्नेे नै भयो ।
यस्तै संविधासभाका प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताले संविधान निर्माणमा गरिरहेको प्रतिवद्धता र वर्तमान गति हेर्दा नयाँ संविधान पक्कै साउनमा नै आउँछ भन्ने लाग्छ । तर विगतमा उनीहरूबाटै पटक–पटक गरेको प्रतिवद्धताको उलङ्घन तथा संविधासभाकै अन्य दलहरूले गरेको विरोध र संविधानको मस्यौदा जलाउने काम हेर्दा अझै पत्यार लाग्दैन । तरपनि महाभूकम्पको पारेको संकटको कारण र जनतामा नेताहरुप्रति गुम्दै गरेको विश्वासलाई बढाउन पनि उनीहरूले संविधानसभामा पछिल्लो समयमा गर्दै गरेको प्रगतिले एक भएका छन् । जसले गर्दा नयाँ संविधान आउँछ भन्नेमा विश्वास बढ्दै गएको छ ।
नपत्याइने प्रसङ्ग नै भएपनि साउनमा नेपालीले सर्वस्वीकार्य एक थान नयाँ संविधान पाउन् । साथै विराटनगरमा मात्र होइन नेपाल नै नशा तथा हिंसामुक्त राष्ट्र बनोस् भन्नेमा कामना गरौं ।

साभारः उदघोष दैनिक। विराटनगर २०७२ असार २४ गते बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्