नेपालको विजयी शुरुवात,आज नाबिबियासँग भिड्दै

नेपालको विजयी शुरुवात,आज नाबिबियासँग भिड्दै

ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताको विजयी शुरुवात गर्ने क्रममा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ।

आयरल्याण्डमा भएको खेलमा अमेरिकाले दिएको १२२ रनको चुनौति पछ्याएको नेपालले खेल सकिन २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो।

नेपालका शुरुवाती ब्याट्सम्यान सागर पुन एक चौका सहित ६ रन बनाएर पाँचौ बलमा जगदिप सिंहबाट बोल्ड भए। तर अर्का ओपनर अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाए। मण्डलले ४२ र मल्लले ५२ रन बनाए। बिनोद भण्डारीले ८ बलमा ७ रन बनाए।

कप्तान पारस खड्काले अभिजित २१ र शरद भेष्वाकरले अभिजित २ रन बनाए। पारसले १७ बलमा २ चौका प्रहार गरे।

अमेरिकाका जगदिप सिंहले २ र करन गणेश र हम्मद सहिदले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदा १२१रन बनाएको थियो।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचनले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। बसन्त रेग्मीले पनि समान ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चिँदै २ विकेट लिए। सागर पुनले १ विकेट लिए।

करन केसीले मंहगो बलिङ गर्दै २ ओभरमा २७ रन खर्चिए।

अमेरिकाका अकिम डडसनले सर्वाधिक ३९ रन बनाए। फहद बाबरले २३, करन गणेशले १५ र अदिल भट्टीले १४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

राम्रो शुरुवात गरेको अमेरिकाले नेपाली बलर सामु विकेट जोगाउन नसक्दा १२१ रनमा समेटिएको हो ।

समूह बीको अर्को खेलमा अफगानीस्तानले यूएइलाई ८ विकेटले हराउँदै समूहको शीर्ष स्थानमा उक्लियो।

युएइले दिएको १६५ रनको गतिलो चुनौति अफगानीस्तानले १७ ओभर २ बलमा पुरा गर्‍यो ।

अफगानीस्तानका मोहम्मद सेहेजादले ३७ बलमा ७४ रन बनाए। अब नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेपालले नामिबियाको सामना गर्नेछ। टि–ट्वन्टी प्रतियोगितामा नेपाली टोली अमेरिकासँग पहिलो पटक आधिकारिक खेलमा आमनेसामने भई पहिलो जित हासिल गरेको हो । यसअघि सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको टि–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्