काठमाडौं, साउन १ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले समुह चरणको
आफ्नो पाँचौं खेलमा पपुवान्युगिनीको सामना गर्न लागेको हो । नेपाल र पपुवा
न्युगिनीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ । यसअघि खेलका चार खेलमा
दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको नेपाल पपुवा न्युगिनी विरुद्धको खेलमा जित निकाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकप
प्रतियोगिताका लागि छनौट हुने सम्भावना जीवितै राख्ने दाउका साथ मैदान उत्रने छ । नेपाललाई विश्वकपका लागि छनौट हुने
सम्भावना कायम राख्नका लागि खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा
अमेरिकालाई ६ विकेटले हराउनु बाहेक नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन ।वर्षाका कारण प्रभावित भएको नामिबियासँगको खेलमा अंक बाँडेको नेपाल त्यसपछिका दुई खेलमा पराजित भयो । तेस्रो खेलमा आयोजक आयरल्याण्डसँग ८ विकेट तथा चौंथो खेलमा हङकङसँग ५ विकेटले
पराजित भएको नेपालले अब पपुवा न्युगिनीसहित जर्सीसँग मात्रै खेल्न बाँकी छ ।
यी दुवै खेलमा जित निकाल्दै सन् २०१६ मा भारतमा हुने विश्वकपका लागि छनौट हुने सम्भावना जिवित राख्नु नेपाली टिमको चुनौती हो । चार खेलबाट मात्रै ३ अंक जोडेको नेपाल समुह एको पाँचौं स्थानमा छ । तीन खेलबाट पाँच अंक जोडेको पपुवा न्युगिनी भने दोस्रो स्थानमा छ । जर्सी र आयरल्याण्डलाई
पराजित गरेको पपुवा न्युगिनीले हङकङसँग अंक बाँडेको थियो । गर या मरको अवस्था पपुवा न्युगिनी विरुद्धको खेल नेपालका लागि गर या मरको हुनेछ । विश्वकप यात्राको सम्भावना जीवितै राख्नका लागि नेपाललाई प्रस्ट जितको खाँचो छ । तर नेपाललाई
ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियको अहिलेसम्मकै कम स्कोर (५३) मा रोकेको बलियो टिम मानिएको आयोजक आयरल्याण्डलाई हराएको पपुवा न्युगिनी विरुद्धको खेल निकै कठिन हुने देखिन्छ । बुधबारको खेलमा जित निकाल्न
कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन तथा शरद भेसवाकर जस्ता खेलाडीको ब्याट चल्नु पर्ने हुन्छ
। यस्तै बलिङमा पनि सुधार गर्नु पर्ने हुन्छ । अहिलेसम्म भएका खेल हेर्दा सोमपाल कामी र बसन्त रेग्मीले राम्रो बलिङ गरेको भएपनि अरुको सन्तोषजनक छैन । चाहिने बेला ब्याट नचल्ने बानीमा सुधार तथा बलिङ पनि राम्रो भएमा जित कठिन पनि हुनेछैन । टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइने नेपाल र पपुवा न्युगिनीबीचको खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ । आयरल्याण्ड गएर प्रत्यक्ष हेर्न नपाएका धेरैले घरमै बसेर खेल हेर्न पाउने छन् । नेपाल र पपुवा न्युगिनीबीचको खेल स्पोर्टस च्यानल स्टार स्पोर्टस फोरले प्रत्यक्ष प्रशारण गर्ने छ । आइसिसीले विश्वकप छनौटका ५१ मध्ये २० वटा खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ । जर्सी विरुद्धको नेपालको शनिबारको खेल पनि प्रत्यक्ष प्रशारण हुनेछ ।