आज हिन्दु धर्मका कुरा

आज हिन्दु धर्मका कुरा

 

 

संविधानसभाका लागि गाउँ–गाउँमा सुझाव संकलन गर्न जाँदा करिब ९० प्रतिशत मानिसले नेपाललाई पुन: हिन्दु धर्म राष्ट्रसहितको संविधान जारी गर्न सुझाव दिए । तर १० प्रतिशतले धर्मनिरपेक्ष राष्ट्र नै हुनुपर्ने बताए । तै पनि १० प्रतिशतले दिएको सुझाव ९० प्रतिशतको सुझावका अघि निरीह भयो । संसारमा कतै नभएको यो घटना नेपालमा घटिरहेको छ । यसका कारण सबैलाई थाहा छ, तै पनि केही नयाँ तथ्यहरु पनि खोल्न चाहन्छु ।

१) धेरैले भन्छन्, नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर निरपेक्ष बनाउन पश्चिमी मुलुकले पैसा दिए । तर कुरा त्यति सजिलो छैन । यसका लागि करिब २५ वर्ष (२०४६ सालपूर्व) देखि तयारी गरिएको थियो । यसमा पश्चिमी मुलुक मात्रै होइन, भारतको कांग्रेसआई निकट कर्मचारीतन्त्र पनि सक्रिय भएको थियो । अर्थात पश्चिमी मुलुकले एक साथ भारत, नेपालका कम्युनिस्ट नेता र कतिपय कांग्रेसका नेताहरुलाई अघि बढाएका थिए । आज कांग्रेस र एमालेमा त्यस्ता व्यक्ति बढि लोकप्रिय देखिन्छन्, जसले धर्मनिरपेक्षताको वकालत गर्छन् । ती व्यक्ति किन लोकप्रिय बनाइए ? किनभने उनीहरुलाई भोलीको धर्मनिरपेक्ष मुलुकको नेता बनाउनु थियो ।

२) तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले धेरै संस्कृत विद्यालय, महाविद्यालय त जलाए नै संस्कृत पढ्ने विद्यार्थी र पढाउने शिक्षकलाई कारवाही गरे । उनीहरुलाई संस्कृत भाषाभित्र अथाह ज्ञान छ भन्ने थाहा नभएको होइन तर पश्चिमा राष्ट्रलाई विश्वास नलिई आफ्नो युद्ध अघि बढ्दैन, बढ्यो भने पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा खेप्नु पर्छ भन्ने राम्ररी थाहा थियो । माओवादीहरुले धर्मनिरपेक्षताको मुद्दा ल्याउनु नै भोलीका दिनमा आफू कारवाहीबाट बच्नु थियो । उनीहरुको आजको व्यवहारबाट पनि कुरा छर्लङ्ग भएको छ ।

३) नेपालमा धर्मनिरपेक्षताको कुरा बहसमा आउनुको मुख्य कारण नेपालका नालायक तथाकथित धर्मगुरुहरु हुन् । हिन्दु धर्मभित्रका योग, ध्यान, आचरण र देशविकासका कुरा यी धर्मगुरुले कहिलै गरेनन् । न त यिनीहरुले हिन्दु धर्मभित्रका छुवाछुत, अत्याधिक झमेलायुक्त कर्मकाण्ड, सडेगलेका स्वास्थानी जस्ता वाहियत धर्मकथा, पुराण भन्ने लोभी–पापी पण्डीतहरुको नै विरोध गरे । यिनै तथाकथित धर्मगुरुका कारण नेपाली हिन्दुहरु भारतीय गुरुको शरणमा जानुपर्‍थ्यो, जानु परिरहेको छ । यी धर्मगुरुहरुले भारतका लागि धेरै गरे तर नेपालका लागि केवल उपदेशात्मक ज्ञान मात्र दिए । यसले नेपालीहरुलाई हिन्दु धर्मतर्फ फ्रस्टेसन पैदा गर्‍यो ।

४) हिन्दु धर्मभित्रका योग, ध्यान र संस्कृत भाषाभित्रको अथाह विज्ञान पश्चिमा राष्ट्रले प्रयोग गरिरहेका छन् । नासा लगायत पश्चिमा विज्ञान केन्द्रहरुमा बेद र उपनिषद्मा भएका ज्ञानहरुबारे धेरै अनुसन्धान भैरहेको छ । पिपलको पातदेखि तुलसी र गाईका विशेषताबारे उनीहरुले मोटा मोटा पुस्तक लेखिसकेका छन् ।
नेपालमा भने हिन्दु धर्मको बोक्रो कुराहरु मात्र प्रयोग भएको र उनीहरुलाई सजिलै मोड्न सकिन्छ भन्ने कुरा उनीहरुले बुझेका थिए । अर्को तर्फ नेपाली धर्मगुरुहरु यति नालायक निस्किए कि यीनीहरु प्रति कुनै श्रद्धा नै उत्पन्न सकेन । अर्थात गतिलो धार्मिक नेता नै जन्मन सकेन ।

५) सबैभन्दा दुर्भाग्य कुरा के भयो भने सबैभन्दा अलोकप्रिय नेताले हिन्दु धर्मको मुद्धा बोकिदियो, त्यो पनि राजसंस्था सँगै जोडेर । जब अन्तरीम संविधानमा धर्मनिरपेक्ष शब्द पर्‍यो त्यसको विरोधमा बोल्ने कुनै लोकप्रिय व्यक्ति बाँकी रहेन । आम जनता अलमल्ल परे । धेरै सञ्चारमाध्यम उहिल्यै विदेशीको प्रभावमा परिसकेका थिए । हिन्दु धर्मका पक्षमा लेख्ने–बोल्ने लेखक–पत्रकारहरु थाहै नपाई पाखा पारिसकिएका थिए र उमेरले कच्चा, हिन्दु धर्मभित्रका गहन कुरा नबुझ्ने काँचा पत्रकारहरु शक्तिमा आइसकेका थिए । सबैभन्दा रमाइलो कुरा कसैले हिन्दु धर्मका बारेमा लेखिहाल्यो भने विरोध गर्ने सयौं बौद्धिक सयौं व्यक्तिहरुलाई विभिन्न छात्रबृद्धि दिएर विदेशमा पढाएर तयार बनाइएको थियो । आज जुँगामा रेखी बसेका पत्रकारले धर्म भनेको के हो भनेर उपदेश दिएको लेख लोकप्रिय पत्रिकाहरुमा पढ्न पाइन्छ । धर्मकै विषयमा वर्षौ अनुसन्धान गरेका पाकेका व्यक्तिहरुलाई प्रतिगामीको लेवल लगाइएको छ ।

६) यी सबै कारणले अब नेपाल हिन्दु राष्ट्रका रुपमा रहनेछैन भन्ने कुरा प्रष्ट छ । तर केही हिन्दु अतिवादीहरु यसैमा राजनीति गर्न खोजिरहेका छन् । भारतको एउटा वर्ग र पश्चिमा राष्ट्रहरुले चाहेको पनि यहि नै हो । त्यसैले यी अतिवादीहरुलाई पनि भारतका विभिन्न धार्मीक केन्द्रले सघाउन थालेका छन् । किनभने नेपालमा जात र धर्मका कारण जति अस्तिरता हुन्छ, चीन र भारतका बीचमा बसेर खेल्न पाइन्छ । यसले देशका केही नेता, कर्मचारी तन्त्र, भारत र पश्चिमा राष्ट्रलाई फाइदा हुन्छ । यो कुरा चीनले नबुझेको होइन । उ पनि चुप लागेर बस्दैन । फलस्वरुप हामी कोही चीनका, कोही भारतका, कोही युरोपीयन युनियनका, कोही चर्चका, कोही गुम्बाका, कोही मस्जिदका र कोही हिन्दु धर्मका अखडाका गोटी बन्न पुग्छौ । आखिर २५ वर्ष अघि रचिएको चक्रब्युहमा नेपाली मज्जाले परेका छन् । अब महाभारतमा जसरी अभिमन्यु चक्रब्युहमा मारिए, हाम्रो धर्म र संस्कृति त्यसैगरी मर्नेछ ।

के छ त उपाय ?
आफ्नो धर्म, संस्कृतिका गलत कुराको विरोध र हिन्दु धर्मका ध्यान–योग, आचरण र व्यवहारको प्रयोग गरेर आफूले आफूलाई चिन्नु बाहेक अर्को कुनै उपाय छैन । हामीले गतिलो आध्यात्मिक नेता जन्माउन सकेनौ तर आफै त्यो ठाउँमा पुग्ने र यी सबै कुरा बुझेर नेपालीलाई कसैको गोटी बन्न बाट जोगाउने र आफ्ना राम्रा कुराको प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्तैन । अब अरुतिर होइन, आफू तर्फ फर्कन सक्छौं ।

- Aswini Koirala

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्