मेरो घर बिराटनगर विमानस्थलको नजिकै छ, वा भनौं बिराटनगर विमानस्थल मेरो घर नजिकै पर्छ ! चाहे गर्मि याम होस् या जाडो याम , म बिराटनगर विमानस्थल तिर बेला न कुबेला घुम्न गैरहेको हुन्छु ! किनभने अहिलेको बिराटनगर विमानस्थल भित्रको वातावरण बडो आनन्दमय छ ! चारैतिर तारजालीले घेरा-बारा गरिएको छ, खालि जमिनमा हरियाली देखिन्छ , राम्रा-राम्रा फूल फुलेका बुट्यानहरु देखिन्छन , सिजनल-फूल पनि ढकमक्क फुलिरहेका हुन्छन , रुख-बिरुवा पनि सप्रिएर हरियालीको शोभा बढाईरहेका मात्रै हैनन् कि गर्मि याममा त तिनले शितलता नै प्रदान गरिरहेका हुन्छन !
मेरो घर नजिकै यत्ति राम्रो पार्क नभएको हुनाले , म बिराटनगर विमानस्थल क्षेत्र लाई नै पार्क सम्झिएर त्यतातिर डुल्न जान्छु ! झन् प्लेन उड्ने वा अवतरण गर्ने बेला रहेछ भने त हवाई-यात्रुहरु देख्न पाइन्छ , जुन दृश्य सार्है नै रमाइलो हुन्छ , मेरालागि ! अर्को मुख्य कुरो चाहिं त्यो एरियामा स-साना खाजा पशलहरु पनि छन ! भोक लागेको बेला भोक-प्यास मेटाउने बहानाले पनि त्यतातिर गैरहिन्छ ! अरु धेरै प्रकारका मानिसहरु , जस्तो कि बिद्यार्थी, ट्याक्सी -चालक, साँझ -बिहान डुल्नेहरु र चटपटे बेच्ने र खानेहरु , पनि त्यतातिर डुल्न जानेहुनाले त्यतातिर बडो रमाइलो वातावरण हुन्छ !अहिले त झन् होटेल-एसिया-३ स्टारले गर्दा त्यतातिरको आकर्षण झन् बढेको देखिन्छ !
हुन त म सानो हुँदा पनि साथि-भाई संग त्यो एरिया डुल्न जान्थें , कहिले नहरमा पौडी खेल्न , कहिले माछा मार्न त कहिले अच्छे -लाल-तावेदारको बंगैचामा आँप खान , एक चोटी त सानाको साथि भोला गौतम संग साइकल सिक्न पनि विमानस्थल भित्रको पिच गरेको बाटोमा गईयो , जुन सार्है रमाइलो थियो !
सानै देखि डुलेको ठाऊँ भएर हो वा शुरक्षित एरिया भएर हो वा अहिलेको विकासले राम्रो पारेको कारणले हो, बिराटनगर विमानस्थल-एरिया मेरा लागि सधैं नै प्यारो लाग्छ !
यस्तै एक-पटक , एकै बिमान बाट हाम्रो देशका दुई जना सभासद , लाल-बाबु पण्डित र गगन थापा आउनेवाला रहेछन ! आफ्नो एरिया भएकोले विमानस्थल भित्र कामगर्ने कर्मचारीहरु पनि जान-पहिचानका छन ! गगन थापा लाई स्वागत गर्न गएका युवाहरुमा एकजना मेरा बिद्यार्थी पनि रहेछन ! ति बिद्यार्थी संग भाला-कुसारी भयो , फोटा पनि खिचियो र निकै दिन पछि भेट-घाट भएकोले अरु कुरा पनि गरियो ! उनै विद्यार्थीले भने पनि, " सर, म हजुरलाई गगन थापा संग भेट गराउछु नि !" तर मैले मानिन ! किनभने मलाई लाग्यो त्यहाँ म पनि गगन थापा लाई रिसिव गर्न गएको ठानिनेछ र त्यहि कुरो मलाई चित्त बुझिरहेको थिएन !म त त्यहाँ केवल डुल्न मात्रै गएको थिएँ !
प्लेन अवतरण भैसकेपछि दुवै सांसदका आ-आफ्ना मान्छेहरुले उनीहरुलाई आ-आफ्नो गन्तब्य तिर लगे ! म अलिक पर बाट उनीहरुलाई नियालिरहेको थिएँ ! गगन थापा हेर्दै गोरो, राम्रो र सानदार व्यक्तित्व भएको मानिस , जसले पहिले नै आफ्नो क्रिया-कालाप बाट मलाई मन्त्र-मुग्ध पारिसकेका थिए ! मैले पनि कांग्रेस लाई नै भोट दिएको थिएँ र आफुलाई गगनकै पार्टीको एक हिस्सा ठान्थे !र पनि मैले उनीसंग परिचय गर्ने लोभ गरिन र परै बसें !
अर्कोतिर , बिचरा लाल-बाबु पण्डित ! कालो अनुहारमा टलक्क परेका दांत बाहेक सम्झन लायक केहि देखिन ! माधव-कुमार नेपाल जस्तो ढुलमुले नेताले चलाएको एमाले पार्टीको नेता , बिचरा लाल-बाबु पण्डित !त्यतिबेला अहिलेको जस्तो चर्चित पनि थिएनन ! हरे ! भाग्य भए पछि त लाल-बाबु पण्डित जस्ता गोरिल्ला जस्ता मान्छे पनि पो सभासद हुँदा रहेछन जस्तो लाग्यो ! मैले उनि चढेको गाडीलाई पनि निक्कै बेर नियालेर हेरिरहें !
आज यत्तिका महिना पछि , अचानक तिनै गगन थापा र लाल-बाबु पण्डितको सम्झना आयो ! अहिले बिहान टिभीमा गगन थापा लाई देखें ! उनि बोलिरहेका थिए, धारा-प्रवाहरुपले ! अनि लाल-बाबु पण्डित लाई सम्झिएँ ! आज त मलाई कस्तो लाग्यो भने कालो अनुहार भित्र टल्किएका राता-राता ओठ भित्रका ति सेता न सेता दांत देखाएर बोल्ने गोरिल्ला जस्तो अनुहार भएका लाल-बाबु पण्डित त गगन थापा भन्दा हजारौं गुणा राम्रा र ह्यान्डसम पो लाग्यो हौ ! नेपालि टोपी लगाएर निर्दोष मुस्कान दिएर दृढताका साथ् बोल्ने लाल-बाबु पण्डितले मेरो मन किन चोरे होलान ??? छक्कै पर्रें ! के भयो मलाई ? के भए , मेरा आँखा ??? किन त्यस्तो भएको होला , तपाईंहरुले पो भन्न सक्नुहुन्थ्यो कि ???
पुरु !
-Purusottam Bhandari