प्रधानमन्त्री केपी ओलीलाई एक युवाको खुल्ला पत्र

प्रधानमन्त्री केपी ओलीलाई एक युवाको खुल्ला पत्र

प्रिय प्रधानमन्त्री केपी शर्मा ओली,
म एक सामन्य नेपाली हु। देशको वर्तमान परिस्थितीलाई देख्दा, देशको ठूलो पदमा पुग्नु भएको तपाईंलाई यो पत्र नलेखी बस्न सकिन। आशा छ, सकारात्मक लिनु हुन्छ। सर्वप्रथम तपाइँलाई सुस्वास्थ्यको कामना र देशको ३८औ प्रधानमन्त्रीको रुपमा निर्वाचित तपाईलाई हार्दिक बधाई अनि शुभकामना। संघीय लोकतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री हुनु आफैंमा गर्वको कुरा हो। यो संगै तपाईका कैयन सपनाहरु पुर्ण भएका छन। कुनै एउटा आम नागरिक राजनीतिमा लाग्छ भने, उसले देशको सबैभन्दा ठूलो पदमा पुग्ने सपना पाल्नु सामान्य कुरा हो। हजुरले पनि कुनै दिन यस्तै यस्तै सपना पक्कै पाल्नु भएको थियो होला। यसर्थ आज तपाईंको सपनाले जितेको दिन हो र तपाई भाग्यमानी पनि साबित हुनुभएको छ किनभने संसारमा सबै सपना देख्ने हरु त्यो सपना सम्म पुग्न सकेका छैनन्। तपाईं पुग्ने मध्यको एक हुनुभयो। फेरि पनि बधाई छ।
कुनै दिन तपाईंको बारेमा पढेको थिए, सायद पत्रिका तिरै होला। एउटा सच्चा मानव भएर तपाईंको जीवन कथा पढ्दा मैले आफ्नो इमोसन लाई काबुमा राख्न सकिन। हो तपाईं मृत्यु संग युद्ध लडेर आउनु भएको कर्मठ सिपाही हुनुहुन्छ। मान्छेको जीवनमा अमुल्य कुरा भनेको समय हो, तर तपाइँले आफ्नो जिवनको त्यही अमुल्य समय चिसो जेलको भुइँमा गुजार्नु भएको छ। तपाईंले कति अमुल्य समय भुमिगत भएर गुजार्नु भएको छ। म कल्पना गर्छु तपाईंको ठाउँमा यदि म भएको भए, म के गर्थे होला? जब कल्पना गरे, साच्चै म कल्पनामै अर्धमृत बन्न पुगे। सायद जीवनमा समय सङगै त्याग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जुन कुराले तपाईं लाई त्यो कठिन चिसो कारागारमा बाच्न उत्प्रेरित गर्यो। मलाई याद छ ती दुखले लेखिएका हरफहरु- तपाईं राम्रो सङ्ग रेस्टरुम जान सक्नु हुन्न थियो रे। तपाईंका हातखुट्टा राम्रो सङ्ग चल्दैन थिए रे। हरेक दिन तपाईंको मृत्युको प्रतीक्षामा हुन्थे रे सहयात्रीहरु।
तर तपाई बाच्नुभयो, र बाच्नुभयो त केवल तपाइँको बाच्ने दृढ संकल्पले। तपाईंको दृढ इच्छाले। हो हरेक बाच्न चाहानेहरुको लागि तपाईं उदाहारणिय हुनुहुन्छ। तपाईंको दृढता लाई सलाम, तपाईंको आत्मविश्वासलाई सलाम।
जीवनलाई जितेर र मृत्युलाई हराएर आज तपाईं यो देशको अभिभावक बन्नुभएको छ। तर तपाईं यस्तो ऐतिहासिक समयमा हुनुहुन्छ जसले तपाईंलाई महान बन्ने सम्भावना बोकेको छ। तपाईंलाई हरेक कदममा चुनौति दिन देशले गम्भीर स्थितीको सामना गर्दै छ। प्रिय प्रधानमन्त्री, तपाईवाट आम नागरिकले अपेक्षा राखेका छन। विगतका दिनमा देश अनिर्णयको बन्दी हुँदा जनताले धेरै सास्ती खेपेका छन् । छिमेकीको सानो अहंम सिङ्गो देश दु:खमा परेको छ। तपाईं यस्तो बेला त्यो कठीन कुर्सीमा हुनुहुन्छ, जहाँ तपाईंले बोलेका हरेक शब्दले मतलब राख्दछन, तपाईंले गरेका हरेक निर्णयले मतलब राख्दछन । तपाईंको एक बोली अहिले महत्त्वपूर्ण छ। प्रिय प्रधानमन्त्री देशको लागि एक निर्णय गरेर हेर्नुस् ,अहिले नाकाबन्दीको मार खेपिरहेका नेपाली जनता, जुरमुराउदै भन्ने छन- हामी खाली पेट बसौला, बाडेर खाऔला तर हाम्रो स्वाधीनता हामिलाई प्यारो छ। हामीलाई कसैको हेपाई स्वीकार छैन। तपाईंले बुझ्नुपर्छ नेपाली जनता सधैं तपाईंको साथमा छन। आज हिमाल पहाड अनि तराई एक भएर उभिएको छ। यस्तो बेलामा तपाईं राष्ट्रियताको लागि चुक्नु भयो भने, १४ वर्ष जेल जीवन बस्दा तपाईंले मृत्यु सङ्ग लडेको युद्धको कुनै अर्थ बाकी रहदैन । इतिहास देखि छिमेकीको हेपाई सहेर बस्न बाध्य तराईका जनताले आज धेरै दुख पाएको हजुरलाई अवगत नै छ। तराई हाम्रो भण्डार हो। तराई भएन भने, कति नेपालीको पेट भोकै हुन्छ। प्रिय प्रधानमन्त्री, अब तपाईंको जिवनको वास्तविक परिक्षा सुरु भएको छ। यो सुन्दर शान्त नेपालले अब एउटा गतिलो जग बसाल्ने लिडरको आशा गरेको छ। तपाईं मृत्यु सङ्ग नडराएको मान्छे, मृत्यु लाई हराएको मान्छे, अब एकचोटी देशको लागि लडिदिनु होला, देशको सार्बभौम स्वाधीनता अनि विकासको लागि लडिदिनु होला। तराईका निमुखाले वास्तविक अधिकार पाउन। हिमालमा कसैले नुनको लागि लडाइँ गर्न नपरोस। पहाडमा कोहि भोकै मर्न नपरोस् । प्रिय प्रधानमन्त्री हामी भर्खरै ठूलो प्राकृतिक विपत्ति र सुनियोजित नाकाबन्दीले थलिएका छौ। तर हामी हारेका छैनौ। तर यदि देशले हार्यो भने हामी सामर्थ्यहिन हुने छौ ।
अन्तमा म एक आम नेपालीको हजुरलाई यहि अनुरोध छ, कसैको सानो धम्कीमा नडराउनु होला। कुनै प्रलोभनमा नबिक्नु होला। हामी बहादुर सन्ततिका सन्तान हौं । हामी सङ्ग यो देश बनाउने सहास छ। तपाईंले मात्र बलियो स्वाभिमानी जग हालिदिनु होला। हरेक नेपालीले तपाईंको संघर्षको कथा पढेका छन। यो त अझै अपुरो छ। मलाई लाग्छ यो हजुरको अन्तिम मौका हो, सोच्नुहोला लेखिनै लागेको तपाइँको इतिहास अब कुन अक्षरले लेख्ने।।

हेमन्त सापकोटा
काठमाडौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्