विराट गोल्डकप माघ २८ गतेदेखि हुने

विराट गोल्डकप माघ २८ गतेदेखि हुने

विराटनगर, ५ माघ/

पूर्वको प्रतिष्ठित खेल उत्सब विराट गोल्डकप माघ २८ गतेदेखि हुने भएको छ । माघ २८ गते खेल उद्घाटन गर्ने गरी विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिले तयारीलाई तिब्र पारेको छ ।
प्रतियोगिताका लागि गत वर्षकै मूख्य प्रायोजक मारुती सिमेन्ट र रमपमसँग सम्झौता भइसकेको र अन्य प्रायोजकसँग कुराकानी भइरहेको आयोजक समितिले जनाएको छ । समितिका संयोजक राजेन्द्र राउतले चाँडै पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारे जानकारी दिने बताए । राउत संयोजक भएर गत वर्ष गरिएको गोल्डकप नाफामा गएको थियो । यस वर्ष पनि आयोजक विराट गोल्डकप फुटबल टुर्नामेन्टले राउतलाई नै संयोजकमा अघि सारेको छ । उद्योग व्यापार पृष्ठभूमिका राउत मोरङ  व्यापार संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
विराटनगरको पहिचानको रूपमा वि.सं.२०१८ सालदेखि श्री ५ महेन्द्र गोल्डकपको रुपमा सञ्चालन हुँदै आएको गोल्डकप पछिल्लो अवस्थामा राजनीतिक तथा स्थानीय विवादका कारण बन्द भएको थियो । वि.सं. २०६७ सालमा नयाँ समिति गठन गरी गोल्डकपलाई दुई वर्ष सञ्चालन गरिएकोमा २०७० सालमा विवादकै कारण हुन सकेको थिएन । गत वर्षदेखि उद्योगी, व्यापारीले नै प्रतियोगिता सफल बनाउन अग्रसरता लिएपछि यसले निरन्तरता पाउने आश पलाएको थियो ।
यस वर्षको प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका उत्कृष्ट टिमले भाग लिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट टिमको सहभागिताको लागि सम्पर्क भइरहेको आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगिताका बिजेता टिमले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने बताइएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, कोच, म्यानेजर, डिफेन्स, गोलकिपर, मिड फिल्डर, फरवार्ड र फेयर प्ले टिमले अलगअलग पुरस्कार पाउने बताइएको छ । प्रतियोगितामा मोरङ ११ ले यसपल्ट सशक्त सहभागिता जनाउने भएको छ ।  मोरङको इज्जत राख्ने र पदक दिलाउनेगरी उत्कृष्ट खेलाडीको अनुबन्धको तयारी भइरहेको मोरङ फुटबल क्लबका अध्यक्ष रविन दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्