अहिलेका नेताहरुमा जेल बसेको बाहेक कुनै विज्ञता छैन :गोविन्द नारायण

अहिलेका नेताहरुमा जेल बसेको बाहेक कुनै विज्ञता छैन :गोविन्द नारायण

केहि वर्षयता विवेकशिल नेपाली नामक राजनीतिक दलले नेपाली राजनीतिक धरातलमा एक छुट्टै पहिचान बनाउदै आएको छ । खास गरि नयाँ धारको राजनितिक दलका रुपमा नेपाली युवा पुस्ता तथा शिक्षित वर्ग बिच परिचित हुँदै गएको यस दल वैशाख १२ गते गएको महाभुकम्पको समयमा निक्कै सक्रिय भएर उद्दार, राहत र पुन:निर्माणमा लागेको खबर विश्वभरिका मिडियाले उठाएका थिए । यहि विवेकशिल नेपालीका व्यवस्थापिका परिषद प्रमुख गोविन्द नारायण विराटनगर आउनु भएको मौकामा आवर विराटनगरका सरोज कार्कीले वहाँसग गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ ।

निक्कै लामो समय पछि विराटनगर आउनु भयो नि ?
एक वर्ष जति पछि विराटनगर आएको छु । काम नभएसम्म र दिने कुरा केहि नहुँदा सम्म नआएको हुँ । अहिले विशेष गरि पुर्व सँगै तराईका विभिन्न क्षेत्रहरुमा राजनितिक प्रशिक्षणका लागि आएको हुँ । र विवेकशिल नेपालीको निति निर्माणमा हामी व्यस्त भएकाले पनि यता आउन समय नमिलेको थियो ।

विवेकशिल नेपाली कस्तो संगठन हो ?
विवेकशिल नेपाली मुख्य गरिकन राजनीति, आर्थिक र सामाजिक सुधार हुनु पर्छ भनेर स्थापित संगठन हो । यो राजनितिक दल नै हो । यसले  राजनितिक सुसंस्कार साथै आर्थिक सम्बृद्धि हासिल गर्नु पर्ने सोच राख्छ ।

जनताले विवेकशिल नेपाली नयाँ राजनीतिक सोच लिएर आएको हो कि भन्ने सोच्दा सोच्दै बाबुराम भट्टराईले भर्खरै नयाँ पार्टि खोलेका छन् जसको नाम नै नयाँ शक्ति राखेका छन् । तपाईहरु र नयाँ शक्ति उस्तै हो ?
दुबै फरक हुन् । बाबुराम जिको नयाँ शक्ति खासमा माओवादीबाट चोईटिएको मात्र हो ।  केहि नयाँ अनुहार त्यसमा दोहोरिएको देखिए पनि प्राय: अनुहारहरु  माओवादीबाटै दोहोरिएका छन् । नयाँपन केहि छैन ।  मेरो अर्थमा नयाँपन आउनका लागि समस्टिगत अवधारणामा नै परिवर्तन आउनु पर्यो । नयाँ शक्ति भनिनका लागि  मान्यताहरु फरक आउनु पर्यो , उसको बिचार, गराई, व्यवहार र  पुरा संरचनागत अवस्थामा फरक आउनु पर्यो । त्यस कारण विवेकशिल नेपालीमा यि सबै कुरामा अरु पार्टी भन्दा फरक छन् । जुन नयाँ शक्ति भनिने शक्ति वा अरुमा देखिदैन ।  त्यसैले पनि  नयाँ शक्ति र विवेकशिल नेपालीमा फरक देखिएको मलाई लाग्छ ।

तपाईले विवेकशिल नेपालीलाई अरु पार्टी भन्दा फरक र उत्कृष्ठ बताई रहँदा धेरैले एनजिले जस्तो काम गरेको आरोप लाउछन् नि ?
मैले तपाईलाई अघि भने जस्तै हामीले अहिले पोलिटिकल पार्टिलाई हेर्ने सोच नै परिवर्तन ल्याउन आवश्यक छ । हामीले पोलिटिकल पार्टी राजनिति गर्नलाई मात्र हो भन्ने सोच राख्छौं तर एउटा पोलिटिकल पार्टिले राजनिति सुधारका साथै सामाजिक जिवनस्तर र आर्थीक विकासमा सुधार ल्याउने पनि हुनु पर्छ ।  अहिलेका राजनितिक पार्टिले राजनिति मात्रै गरे तर जनताको जिवनयापनमा सहजता दिन सकेनन् । विवेकशिल नेपालीले गरिरहेको काम तपाईहरुलाई सामाजिक संस्थाले गर्ने काम जस्तो लाग्ला तर खासमा राजनितिक शक्तिले गर्नु पर्ने काम यसरी नै हो । हामी कहाँ  राजनितिक दलले त्यस्तो गर्ने परिपाटि नभएकाले अरुनै काम गरेको पो हो कि भन्ने लाग्ला तर त्यसो होईन हामीले वास्तविक राजनितिक पार्टीले गर्नु पर्ने काम नै गरेका हौं ।

विवेकशिलले विशेष उमेर समुहलाई आधार बनाई राजनिति गर्न खोजेको हो ?
हामी सबै खाले जमात वा उमेरलाई आधार बनाएका छौं । कसैमाथि भेदभाव गरेका छैनौं तर  हामी सँग जोडिन आउनेहरु मध्ये धेरै युवा उमेरका हुनु हुन्छ । सायद उहाँहरुलाई हाम्रो सोच र कार्य शैली नयाँ लागेर हो वा अरुनै कारणले  हामी सँग जोडिएका मध्ये ९० प्रतिशत भन्दा धेरै युवा हुनु हुन्छ भन्दा पनि हुन्छ ।

विकाश वा परिवर्तन प्राप्त गर्न युवाहरुको जोश र पुरानाको अनुभव आवश्यक पर्छ भनिन्छ । तर तपाईहरुसँग जोश त भयो अनुभवको कमि छ कि ?
मलाई पुरानोको अनुभव चाहिन्छ जस्तो लाग्दैन किनभने अहिले कुनै पनि अफिसमा जानु भयो , कलेजमा जानु भयो या विश्वको नम्बर एक भनिएका कार्यालयहरुमा जानु भयो भने त्यहाँ काम गर्ने नेपाली बुढाखाढा छैनन् । नेपाली युवाहरु नै छन् । त्यसकारण उमेरै देखाउनका लागि बुढाखाढा चाहिन्छ भन्ने छैन भलै उहाँहरु र सबैको साथ चाहिन्छ परिवर्तन गर्नका लागि । क्षमतावान व्यक्ति उमेरमा युवा होस् या बुढो होस् त्यसले केहि फरक पर्दैन । उमेरै मात्र क्षमताको मापदण्ड होईन  ।

आगामी दिनका लागि के छ विवेकशिल नेपालीको रोडम्याप ?
अब विवेकशिलले आफुलाई एउटा राष्ट्र सेवकको रुपमा अगाडी लिएर आउन आवश्यक छ । जसले नेपालको राजनितिक साथै सामाजिक विकासमा योजदान गर्न सकोस् । नेपालमा अहिले देखिएकोजुन लिडरसिप क्राईसिस त्यसलाई पुरा गर्नु छ । हामी डाक्टर बन्न चाहन्छौं, ईन्जिनियर बन्न चाहन्छौं तर नेता बन्न चाहँदैनौं ।  अर्को  विरोधाभाष के छ भने, हामी नेता बन्न चाहदैनौं तर देश बनोस भन्ने चाहन्छौं । एउटा राम्रो नेता भए न एउटा राम्रो देश बन्छ । त्यसकारण विवेकशिलले नेतृत्वमा आउन चाहने व्यक्तिहरुलाई नेतृत्व विकाशमा जोड दिएर सक्षम र ईमान्दार नेतृत्व निर्माणका लागि आफ्नो एभेन्यु प्रयोग गरेर स्थापित मात्र हैन देशलाई परिवर्तन दिन सकुन भनि कार्य गरि रहेको छ ।

तपाईले भनिरहेका देश विकास वा परिवर्तनका कुरा नीतिनिर्माण तहमा नपुगि सम्भव छैन । यसका लागि तपाईहरुले लक्ष्य निर्धारण गर्नु भएको छ कि यति समय पछि तपाईहरु त्यस तहसम्म पुग्नु भएको हुनेछ ?
मैले देखेको अब आउने स्थानिय स्तरको चुनावबाट नै विवेकशिल नेपालीको एक स्तरमा पकड रहने छ । र राष्ट्रिय स्तरको चुनावमा पनि हाम्रा केहि साथिहरुले पकड बनाउनु हुनेछ त्यसमा कुनै दुविधा छैन । भलै त्यो सानै स्केलमा किन नहोस् । हामीले एकै पटक देशै भरी होईन अर्गानिक रुपमा प्राकृतिक शैलीमा विस्तारै परिवर्तन ल्याउने छौं । यसका लागि कम्तिमा ५ वर्ष र बढिमा १० वर्षको समय पक्कै लाग्छ ।

काँग्रेस, एमाले, माओवादी लगायत त्यस पछिका मधेशी जनअधिकार फोरम (अहिलेको संघिय समाजवादी फोरम) लगायतका पार्टिले पनि आँफु स्थापित हुँदा जनतालाई ठुला खाले सपना देखाएका थिए । तर अन्तिममा  जनताको हातमा शुन्य हात पर्यो भन्ने अबस्था छ । तपाईहरु पनि त्यस्तै होईन भन्ने कुरामा जनताले कसरी विश्वास गर्ने ?
मैले देखेको पहिले ७ सालको क्रान्तिमा होस या ३६ सालमा या ६२/६३ सालमा नै किन नहोस् आम नागरिकले आवस्यकता अनुरुपको सक्षम व्यक्तिलाई छनौट नगर्ने वा छनौट नहुने र असक्षम व्यक्तिबाट विकास हुन्छ भन्ने आशा राखियो जुन सम्भव थिएन  । अहिले काँग्रेस, एमाले , माओवादी वा अरु कुनै  पार्टीमा पनि हामीले समाजमा भएका केहि छाडी लगभग असक्षम हरुलाई नेतृत्व प्रदान गरेका छौं जसबाट विकास र परिवर्तन हुदैन ।

तपाईले भनिरहनु भएको असक्षमता के हो ? तपाईको परिभाषामा सक्षमताको मापन के ले हुने हो ?
राजनितिमा उहाँहरुको एउटा के अनुभव थियो त जेल पसेको वा अन्दोलन गरेको बाहेक ? या त उहाँहरुले ठुला ठुला रिसर्च गरेको हुनु पर्यो , या त व्यवसाय गरि आँफुलाई प्रमाणित गरेको हुनु पर्यो । या त सामाजिक क्षेत्रमा कार्य गरि नाम कमाएको हुनु पर्यो वा ईमान्दारिताको कोशेढुङ्गा पार गरेको हुनु पर्यो तर फगत जेल पसेको उत्कृष्ठता बाहेक उहाँहरुसँग अरु कुनै उत्कृष्ठता थिएन । तर अहिलेको नेपाली परिवेशमा विभिन्न क्षेत्रमा उत्कृष्ठता हासिल गरेका व्यक्तिहरु छन् जसबाट वास्तविक विकास र परिवर्तन सम्भव छ । अरु  र विवेकशिल नेपालीमा फरक पनि यत्ति हो कि हामी व्यक्तिको क्षमता र उत्कृष्ठतालाई बढि प्राथमिकता दिने पार्टी हो । जसको भर्ना पोलिसि नै क्षमताको आधारमा गर्छौं  । हामी सँग जोडिएका नेतृत्व क्षमता र कामको आधारमा उत्कृष्ठ होस भन्ने निति तयार पारेका छौं । भोटका लागि खराब मान्छे आउनु पर्छ भन्नेमा हामी विश्वास गर्दैनौं ।  तपाईको पछिल्लो प्रश्नको उत्तरमा म यहि भन्छु कि यिनै आधारमा विवेकशिल नेपालीलाई विस्वास गर्ने ठाँउहरु मनग्गे छ ।

स्थापना देखि अहिलेसम्म आउँदा तपाईहरुको सोच र लक्ष्य पुरा भईरहेको देख्नु हुन्छ त ?
मलाई लाग्छ हामीले यि समयमा सोचे र लक्ष्य राखे भन्दा धेरै उपलब्धि हासिल गरेका छौं । विशेष गरि गत वैशाखमा गएको भुईचाँलोको बेलामा विवेकशिल नेपालीले गरेको कार्यको नेपाली जनताले मात्र हैन विश्वलेनै सह्रानय गरेको छ ।  त्यसबेलाको  पहिलो एक हप्ताको ट्रयाकिङ हाम्रो हेर्ने हो भने विश्वमै एक उत्कृष्ठ मोडल सेट भएको पाउनु हुन्छ । एउटा राजनितिक पार्टीले देश अप्ठ्यारोमा परेको बेला कसरी काम गर्नु पर्छ भन्ने हामीले त्यो बेला प्रमाणित गरि देखाएका छौं ।

पछिल्लो  चुनाव कै बेला पनि हामीले कुनै जित हासिल नगरेपनि छोटो तयारीमै स्थापित पार्टिहरुलाई झस्काउन हामी सफल भएका थियौं । कतिपय स्थानमा हाम्रा साथीहरु पाँचौं स्थानसम्म आउनु भएको थीयो । जुन सोचेको भन्दा धेरै ठुलो उपलब्धि थीयो  । मुख्य कुरा व्यवहार र विचारले मानिसलाई प्रभाव गर्न सक्छ कि सक्दैन भन्ने हामीलाई लागेको थियो तर विवेकशिलले गरेको कार्यको प्रभाव मानिसलाई परेको हामीले पायौं । त्यो हाम्रो सफलता नै हो ।

विवेकशिल नेपालीलाई भारतको आम आदमी पार्टी जस्तै भनेर दाँज्ने गर्छन । आईडियोलोजि  लगायतका कुरामा उस्तै हो कि फरक छ ?
धेरै फरक त होईन तर केजरीवालले चुनाव लड्नु अघि विवेकशिलका केहि साथीहरुले यहाँ राजनितिक गतिविधि सुरु गरिसकेका थिए । त्यसैले भारत र नेपाल दुबैका लागि यो नयाँ प्रयोग थियो  ।  विवेकशिल नेपाली आम आदमी पार्टी भन्दा धेरै फरक छैन किन भने  यो मुद्दामा आधारित पार्टि हो र उत्कृष्ठ व्यक्तिहरुले नेतृत्व लिनु पर्छ भन्ने मान्यतामा आधारित छ । त्यस्तै विश्वमा यस्तै अरु पार्टिहरुनि रहेछन् जस्तै डेनमार्काम ‘दि अल्टरनेटिभ’ भन्ने पार्टी छ ।

यतिका कार्य गर्न खर्चको आवश्यक पर्नु स्वभाविक हो ।  विवेकशिल नेपालीको आर्थिक पाटो कसरी संचालित छ ?
तपाईहरुलाई स्पष्ट पारौं विवेकशिल सदस्यहरुको व्यक्तिगत सहयोगबाट संचालित पार्टि हो । हामीले कुनै पनि व्यवसायिक संगठनबाट एक पैसा लिदैनौं र अहिले सम्म लिएका पनि छैनौं । र विवेकशिल नेपालीले सुरुवात देखिनै आफ्ना सम्पूर्ण आयव्यय पारदर्शी राख्दै आएको छ । यसको वेबसाईटमा गएर तपाईले सबै हिसाब किताब स्पष्ट देख्नु हुन्छ साथै निर्वाचन आयोगमा सबै भन्दा पहिले आफ्नो आयव्यय बुझाउने पनि हामी नै थियौं ।  हामी हिसाब किताब मात्र हैन पार्टीको निर्णयमा पनि पारदर्शिता हुनु पर्छ भन्ने मान्यता राख्छौं । पार्टीले के निर्णय गर्यो, किन निर्णय गर्यो र त्यसको नतिजा के निस्कन सक्छ भन्ने सम्मको  कुरालाई ध्यानमा राखेर निर्णय गर्ने प्रक्रिया हामी हाम्रा सदस्यहरु बिच व्यापक सर्वे गराएर गर्छौं । हाम्रा सदस्यहरुलाई कुनै निर्णय मन परेन भने त्यो निर्णय उल्टिन पनि सक्छ । हामी आर्थिक क्रियाकलाप र सांगठानिक र कार्यक्रमिक निर्णयहरु दुबै पाटोलाई पारदर्शी राख्छौं यो नेपालको लागि नयाँ मात्रै नभएर अनुकरणिय पनि हो ।

अन्त्यमा विवेकशिल नेपालीको अागामी योजना के छ भनेर बताईदिनु हुन्छ कि ?
हामीले धेरै नयाँ योजना भन्दा पनि भएकै योजनालाई प्रभावकारी ढंगबाट पुरा गर्ने सोच राखेका छौं । हामीले सोचि राखेको योजना भनेको अहिलेको २१ औं शताब्दिमा हामीले चाहेको विकसित नेपाल कस्तो हुन्छ भनेर थिङ्क ट्याङ्क बनाउने तयारी गरिरहेका छौं । अहिले धेरै क्षमता भएका व्यक्तिहरु रिटायर भए पछि बेरोजगार भईरहेका छन् । उनीहरुलाई  चिन्न नसकेको अवस्था छ । नेपाल कै अनुभवी युवाहरुको वास्तविक प्रयोग नभएको अवस्था छ । त्यसकारणले गर्दा खेरी यसखाले बौद्धिक चेतना र ज्ञानलाई एक ठाँउमा ल्याएर देशको हितमा विज्ञान, कृषि, अर्थ लगायतको पाटोमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर उक्त थिङ्क ट्याङ्कको तयारी गरिरहेका छौं । त्यो थिङ्क ट्याङ्कले दिएको निर्देशन वा निति हामी सँगसँगै अरु दलले नि प्रयोग गर्न सकुन ताकि नेपालको विकासको सवालमा एउटा साझा निति बन्न सकोस् भनेर काम गरि रहेका छौं । यो हाम्रो लागि एउटा ईनोभेसन नै हो  । यसबाहेक हामीले कसरी सामाजिक, आर्थिक क्षेत्रमा युवाहरुको क्षमतालाई  सदुपयोग  गर्न सकिन्छ,  कसरी धेरै भन्दा धेरै नेपाली नागरिकहरुलाई राजनीतिक क्षेत्रमा वहाँहरुको दक्षता, अनुभव र दृश्टिकोणको सदुपयोग  गर्न सकिन्छ भन्ने सुविचारित ढंगबाट  काम गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्