विराटनगर । मोरङ कारागारमा कैदीबन्दीले पाउने भत्तादेखि सबै सेवासुविधा र घरबाट समेत पैसा मगाएर सलामीको रुपमा असुली गर्दै आएका अभिषेक गिरी प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले उनीमाथि अपराधिक विश्वास घात मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, त्यस बाहेक उनी विरुद्ध सम्पति शुद्धीकरण र संगठित अपराधमा समेत अनुसन्धान गर्ने गरी प्रमाण संकलनमा सक्रिय छ ।
यस क्रममा स्थानीय प्रशासनले गिरीको प्रोफाइल तयार पारेको छ । उनको क्रिमिनल प्रोफाइलमा संगठित समूहको नाम समेत उल्लेख छ । जसमा संगठि रुपमा आपराधिक गतिविधि गर्न गिरीले ती व्यक्तिहरुलाई मोटरसाइकल उपलब्ध गराउने गरेको देखिएको छ । गिरी समूहले भन्सार तथा सरकारी कार्यालयहरुमा हुने लिलामीका ठेक्का आफ्नो दवावमा पार्ने गरेको समेत खुलेको छ ।
प्रशासनले तयार पारेको प्रोफाइलमा संगठित आपराधिक क्रियाकलापमा संलग्नहरुको नाममा बिक्रम थपलिया, पवन सुराना, बिमल भट्टराई, अन्सुल मिया (अन्सारु) र वसिम आलमसम्मको नाम रहेको छ । यी व्यक्तिहरुसँग नजिक भएका युवाहरु नै गिरीको अपराधिक कार्यका लागि खटाउने गरिएको दावी गरिएको छ । पछिल्लो समयसम्म गिरीको सक्रिय आपराधिक कार्यमा यहि समूहका युवाहरुलाई परिचालन गर्ने गरिएको हो ।
यस विषयमा अभिषेक गिरीसँग नाम जोडिएमध्येका पवन सुरानासँग बुझ्दा उनी गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । उनले आफू धार्मिक व्यक्तित्व भएकोले सबैसँग नजिक रहेको बताए । यसैगरी अर्का राजनीतिक रुपमा सक्रिय रहेका युवा वसिम आलमले चिया पीउने र भेटघाट गर्ने गरेकै आधारमा गिरीको अपराधिक कार्यसँग नाम जोड्न नमिल्ने बताए । उनले आफ्नो कुनै अपराधमा संलग्नता भएको भए अनुसन्धान गर्दा हुने बताएका छन् । गिरी बाहेक समेत छुट्टाछुटटै अपराधिक समूहका व्यक्तिहरु विराटनगरमा छन् । प्रहरीले उनीहरुको विषयमा समेत प्रोफाइलिङ्ग अन्तिम चरणमा पु¥याएको दावी गर्दै आएको छ ।