श्रीलंकालाई प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधी

श्रीलंकालाई प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधी

श्रीलंकाले प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकाले नेपाललाई घरेलु कोर्टमा ७५–४९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । श्रीलंकाको जितमा गालागे इरान्डीले १४ अंक योगदान गरिन् । नेपालकी भावना लामाले ११ स्कोर गरिन् । हारसंगै नेपालले उपविजेतामा चित्त बुझाउनु प¥यो । आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली महिला टिमलाई प्रोत्साहन स्वरुप १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने जनाएका छन् ।समान ३–३ खेल जितेका श्रीलंका र नेपालबीच भएको प्रतियोगिताको अन्तिम खेल नै फाइनल सरह थियो । उक्त खेल जसले जित्यो उपाधि त्यही टिमको पोल्टामा पर्ने निश्चित थियो । चार क्वाटरको खेलमा नेपालले कुनैपनि क्वाटरमा अग्रता लिन सकेन ।

 

पहिलो क्वाटरमा श्रीलंकाले १५–९ को अग्रता लिएको थियो भने दोश्रोमा २०–१३ ले अगाडि रह्यो । श्रीलंका तेश्रोमा १७–१६ तथा चौथोमा २३–९ ले अघि थियो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा श्रीलंकाले नेपाल विरुद्धको खेलमा मात्र समग्रमा तेहोरो अंक जोड्न सकेन । अपराजित रहँदै लगातार चार खेल जितेको श्रीलंकाले नेपाललाई हराउनुअघि माल्दिभ्सलाई १०५–३९, भुटानलाई ११२–३१ तथा बंगलादेशलाई ११५–११ अंकले हराएको थियो । त्यस्तै नेपालले बंगलादेशलाई ९२–२६, माल्दिभ्सलाई ७७–३६ तथा भुटानलाई ९०–३२ ले पन्छाएको थियो । चार खेलमा समान २–२ जित र हारको सामना गरेको माल्दिभ्स तेश्रो भयो । भुटानले चौथो स्थानमा यात्रा टुंगायो । भुटानले १ जित र ३ हार व्यहो¥यो । जितविहीन बनेको बंगलादेश पुछारबाट पहिलो स्थानमा रह्यो ।

 

शनिबारै पहिलो खेलमा भुटान र बंगलादेश भिडेका थिए । त्यसमा भुटान ६१–२९ ले अगाडि रहँदै सान्त्वना जित निकाल्यो । भुटान १८–२, १९–८, ११–१२ र १३–७ ले विजयी भयो । भुटानको स्कोर बोर्डमा पेम छिरिङले सर्वाधिक २७ स्कोर थपिन् । विजेतालाई उप प्रधान एवं रक्षा मन्त्री भीम रावल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे । दक्षिण एसियामै नेपालले पहिलोपटक आयोजना गरेको पाँचदिने दक्षिण एसियाली महिला बास्केटबलमा जम्मा १० खेल खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्