समयको दुरुपयोग ! -पुरुषोत्तम भण्डारी

समयको दुरुपयोग ! -पुरुषोत्तम भण्डारी

 

हाम्रो समाजमा धेरै व्यक्तिहरुलाई समयको महत्व नै थाहा छैन भन्दा अत्युक्ति नहोला ! पढेलेखेका र समयको महत्व बुझ्नुपर्ने मानिसहरुले पनि समयको सम्मान गर्न नजानेको देख्दा म छक्क पर्छु ! बरु सामान्य श्रम गारेर खाने मान्छेले भन्छ, हत्तेरिका ! यसरि बसेर कहिले काम सकिन्छ , म त हिंडे है भन्छ र जुरुक्क उठेर आफ्नो काम गर्न हिंडी हाल्छ तर आफुलाई पढे-लेखेको र जान्ने-सुन्ने मान्छेले पनि समयको महत्व नबुझेको देखेर म घोर्र छक्क पर्छु !
यसरि समय खेर फालेर रमाउने मानिसहरु जहीं-तहीं छ्याप-छ्याप्ती भेट्न सकिन्छ ! चाहे तपाईं आफ्नै घर-छिमेकमा हेर्नुस , चाहे ठुला-ठुला सभा-समारोहमा जानुस , सबैतिर समयको सत्यानास गर्ने , दुरुपयोग गर्ने जमात भेट्नुहुन्छ ! नपत्याए, कुनै दिन यसो बिचार गर्नुस र आफ्नै छर-छिमेकमा जानुस र नियालेर हेर्नुस त , त्याहाँ बिहानको समयमा कहिले देखिको मक्कीइसकेको दांत माझ्ने ब्रश मुखमा च्यापेर , लुंगी लगाएको भए, कि त बस्ने ठाऊँतिर बाट चार बित्ता माथि लुंगी उठाएर त्यहि बस्ने ठाऊँ कन्याऊँदै , आफ्ना कुरा अरुलाई थोपर्दै गफ लाईरहेका हुन्छन भने, कि त सू-सू गर्ने अंग तिर हात लगेर हेर्दै घिन लाग्ने तरिकाले कन्याइरहेका हुन्छन ! अर्कोतर्फ कोहि चाहिं कहिले देखि नधुएको हाप-पेन्ट, सुरुवाल वा घर बस्द्दा लाउने ठुलो खाले कट्टु लाएका तपाईंकै छिमेकी, अघि भने जस्तै कि त बस्ने ठाऊँ तिर कि त सू-सू गर्ने अंग तिर कन्याएको पनि थाहा नपाइकन ,एकनासले देख्नेलाई नै लाजमर्दो हुनेगरी , कन्याईको आनन्द लिईरहेका भेटिन्छन ! खै ! त्यसरी समय बर्वाद गर्दा उनीहरुलाई के आनन्द अऊँछ को नि , तर उनीहरुको साँझ-बिहानको दैनिक तालिका त्यहि हुन्छ !
तपाईं माथि उल्लेख गरिएका उदाहरण लाई पढेर भन्न सक्नुहुन्छ , त्यो त सामान्य कुरो हो , आफ्ना घर -छिमेकमा पनि आनन्दले कन्याएर हिड्न नपाउनु ? त्यस्तै मन लाग्छ र कन्याएरै जीवन बिताउन मन छ भने मेरो भन्नु केहि छैन तर त्यो समय लाई कुनै उपलब्धिमुलक कार्यमा उपयोग गर्न सकिदैन र ? आफ्नै बाल-बालिका संग उनीहरुले पढेका कूराहरु , उनीहरुका समस्याहरुको बारेमा सोध-पुछ गर्दा पनि हुन्छ नि , हुन्न र ? करेशा-बारीमा पसेर यसो एउटा विरुवा गोडे मात्रै पनि त हुन्छ नि, हुन्न र ?अरु केहि नभए, आफ्नै श्रीमती लाई तरकारी केलाउन सघाइदिए , इज्जत जान्छ र ? बुढा भएका आमा--बाउका गोडा छामेर यसो सुमसुम्याईदिए मात्रै पनि त धर्म हुन्थ्यो होला नि , हुन्न र ? तर त्यसो गर्दा त भुइँचालो नै गैहाल्छ होला नि ! त्यसैले होला तपाईं लाई समय खेर फाल्दा , समयको दुरुपयोग गर्दा आनन्द आउँछ होला , कि कसो ?

आफ्ना घर वोरिपरी मात्रै हैन , हामि साना-ठुला जुनसुकै खाले सभा-समारोहमा पनि समयको दुरुपयोग भएको देख्न सक्छौं ! कुनै एउटा कार्यक्रमको उद्घाटन गर्नुपर्यो भने , प्रथम त काठमाण्डौ केन्द्रित भएर सबैभन्दा ठुलो ओहोदामा बसेको कुन मान्छे संग उठ-बस छ , त्यस्तो व्यक्तिलाई आफ्नो कार्यक्रममा ल्याएर उसको बहुमुल्य समयको सत्यानास गर्ने सोचाई राख्छन ! त्यस्तो सोचे जस्तो पदमा भैरहेको व्यक्ति संग उठ-बस रहेनछ भने भूपु हरुको नाम मथिङ्गलमा खेलाएर आफ्नो र अर्काको समेत समयको सत्यानास गरिन्छ ! नाथे त्यत्ति जाबो काम गर्न पनि सकिनस भनेर कत्ति जनालाई हो , अनगिन्ति टेलिफोन गरेर हुर्मत लिने काम गरिन्छ र उसको दिनभरी काम गर्ने मूड लाई नै सत्यानास पारिन्छ ! बल्ल-बल्ल उपलब्ध भएको तथाकथित ठुलो भनाउँदो व्यक्तिलाई उद्घाटन स्थलमा बोलाइनेछ भनेर सारा मिडिया मार्फत झ्याली पिटाइन्छ र फलानो दिन भनेर दिन पनि तोकिन्छ तर भनेको दिन , झ्याली पिटाएर बोलाईएको व्यक्ति आईदिदैन ! अनि शुरु हुन्छ जिरो लेभल देखि फेरि अर्को ठुलो व्यक्तिलाई मनाउने प्रक्रिया ! समयको सत्यानास !

सभा-स्थल भरि बराम मानिस छन् तर तिनीहरु प्रति कसैको ध्यान जाँदैन, ध्यान जान्छ त कता ? कि त मोबाइल -फोन तिर ,कि त मूल गेट तिर , कि त खास-खुस तिर ! सभा-स्थलमा भेला भएका मानिस पनि उस्तै हुन्छन , समय खेर गैरहेको मतलब छैन , मुक्खाले त ठिक्क पार्छन , लौ ! बर्बाद भो , बित्यो , यस्तो काम थियो , उस्तो काम थियो भन्दै गनगन गरिरहन्छन तर जुरुक्क उठेर हिडदैनन् , किन ? लाज हुन्छ , त्यत्रा मानिस बसिरहेका छन् , आफु मात्रै कता हिड्नु ? त्यत्तिले मात्रै हो त त्यसरी समय खेर फालेर बसिरहेका ? हैन ! त्यसभित्र पनि उनीहरुको आफ्नै ठुलो स्वार्थ लुकेको हुन्छ जस्तो कि त्यो उद्घाटन गर्न आउने तथाकथित ठुलो मान्छेलाई जी-हजुरी टक्र्याउने , सम्बन्ध बनाईरहने र पछि भविष्यमा क्याश गर्ने दाउले उनीहरु बसिरहेका हुन्छन , टस-मस नगरी बसिरहन्छन !सबै त त्यस्ता हुँदैनन् है हुँदैनन् भन्नु होला , ठिकै भन्नुभयो , सबै त्यस्ता हुँदैनन् , कोहि रमिते हुन्छन , कोहि नौला हुन्छन , कोहि केहि पाइहालिन्छ कि भनेर आसाले बसेका आसे पनि हुन्छन होला , जे होस् थरि-थरिका मानिस हुन्छन र ति सबैको उदेश्य चाहिं अरु कुरामा समान नभए पनि समयको सत्यानास गर्ने मामिलामा चाहिं समान हुन्छ !
अरुलाई त भन्नु-नभन्नु सबै कुरा भन्नुभयो र हुर्मत लिने कोशिश गर्नुभयो तर तपाईं आफु चाहिं के गर्नुहुन्छ नि ? के समयको बिचमैं उठेर हिड्नुहुन्छ त भन्ने प्रश्न उठ्न सक्छ ! हो , म बिचमैं उठेर हिड्छु , पर्खिएर बस्दिन ! तथाकथित ठुलो-वा सानो जोसुकै आओस , समय भित्र आउँछ भने स्वागत गर्ने हो , हैन भने "श्वेत -सलाम" ! त्यस्ता तथाकतिथ ठुला-साना व्यक्तिलाई पर्खिने समय भित्रमा त घन्टाका हिसाबले पैसो पो कमाइरहेको हुन्छु , म आफु त ! एक त म आफ्नो डिउटी छोडेर कहीं कतै जान्न , यदि गैहालें भने पनि , त्यहि मौकामा आफुलाई आवश्यक पर्ने कुराहरुको सपिङ्ग गर्ने, आफ्नो स्वास्थ्यको रेगुलर चेक-अप गर्ने,, आफन्त लाई भेटघाट गर्ने र घर फिर्ने गर्छु , अनावश्यक-रुपले अर्कालाई पर्खिएर समयको सत्यानास गर्दिन !
अन्त्यमा प्रश्न उठ्न सक्छ , त्यसोभए त्यस्ता उद्घाटन कार्यक्रमहरुमा समयको सदुपयोग कसरि गर्न सकिन्छ त ? सबै भन्दा उत्तम तरिका अपनाउने हो भने सम्बन्धित क्षेत्रको सबै भन्दा पाको र अनुभवी व्यक्तिलाई उद्घाटन गर्न लगाउने ! यसो गर्दा समय र अर्थ मात्रै हैन कि अरु धेरै कुराको सदुपयोग हुनेथियो !

पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्