प्रेम देवान
विराटनगर १४ असार,
विराटनगर बञ्जारा चौक स्थित होटल ह्यारिसनमा आइतबार आयोजना गरिएको हरिसिं उषादेवी दुगड च्यारिटेवल ट्रष्टको वार्षिकोत्सव कार्यक्रममा मुख्य अतिथीको रुपमा आएका नेपाली सिने जगतका महानायक राजेश हमालसंग व्यस्तताको बावजुद मुस्किलले पाँच मिनट समय निकाली अन्तवार्ताकोलागि तैयार भए । प्रस्तुत:छ उनीसंग अनुज सापकोटाले लिएको संक्षिप्त अन्तवार्ता
१. राजेश जी, तपाई विराटनगर कति पटक आइसक्नु भयो ?
-पहिले त म कमै आउँथे । तर अहिले तपाईलाई सुन्दा अचम्म लाग्छ होला , म गएको हप्तामा चार पटक विराटनगर टेकिसकेको छु । म औपचारीक अनौपचारीक आउने जाने गरिराखेको छु ।
२. अझै कति समय सम्म चलचित्रमा अभिनय गर्नुहुन्छ ?
-हेर्नोस् , भख्खर त हुर्किने उमेर भैरहेको छ , अहिले नै कहाँ यो क्षेत्रलाई चटक्कै माया मार्नु । म अझै चलचित्र खेल्ने छु अवश्य पनि खेल्ने छु । आर्मीको मान्छेले एकखेप भनेको थियो एक चोटीको आर्मी सधैंको आर्मी त्यस्तै म पनि एकचोटीको कलाकार सधैंको कलाकार । कलाकारिता क्षेत्रमा लागेपछि यसलाई चटक्कै माया मार्न सकिन्न ।
३. तपाईं फिल्म निर्माण वा निर्देशनमा लाग्नुहुन्न ?
-एकदिन त्यो समय आएपछि यी आयामहरुमा पनि लागिन्छ होला । अहिले त अभिनय गर्ने रहर नै छ । तर उचित समयमा म अवश्य पनि चलचित्र क्षेत्रका विविध पक्षमा सहभागि हुने छु । स्व्रmीप्ट राम्रो र वातारवरण मैले सोचे अनुसारको भएभने म निर्माण वा निर्देशन वा दुवैमा पनि लाग्न सक्छु ।
४. तपाई सीनेमामा मात्रै सिमित हो की, अन्य व्यवसायमा पनि हात हाल्नु भएको छ ?
-मैले कुनै व्यवसायमा हात हालेको छैन । मलाई चलचित्र बाहेक अरु पेशा थाहपनि छैन । म यहि कलाकारिता क्षेत्रमा पुर्णरुपले समर्पित हुन चाहन्छु । २६ वर्षको मेरो चलचित्रको केरियरमा पछिल्लो १४ वर्षदेखि म दैनिक १२ देखि १४ घण्टाको हिसावले चलचित्रमा काम गर्दैछु । जबसम्म फिट छु तबसम्म काम गरिरहने छु ।
५. पहिला पहिला सेलुलोइड प्रविधिबाट फिल्म बन्थे , कम बन्थे तर उत्कृष्ट बन्थे, अहिले डिजिटल प्रविधिको युगमा ज्यादा बन्छन् तर स्तर खस्कदो छ , के धारणा राख्नु हुन्छ ?
-नया नया प्रविधि आउनु समयको माग हो र यो जायजपनि हो । डिजिटलाइजेशनले सेनेमा खिच्ने र बन्ने तरिकामा परिवर्तन आयो । अहिलेको आधुनिक युगमा प्रविधि र टेक्नोलोजीहरु हात हातमा पुगेको छ । यसरी हात हातमा पुगिसकेपछि चाहेको खण्डमा सवैले सेनेमा बनाउन सक्छ । तर सबैले फिल्म बनाउन सकेतापनि फिल्म निर्माणमा विज्ञता र दक्षता चाहिन्छ। हामी जस्तो विज्ञहरुको काम परिष्कृत फिल्म कसरी बनाउने भन्ने हो नकि केवल संख्या बढाउने र दर्शक तर्साउने। सेनेमाको भिडमा जसले आफ्नो क्षमता देखाउन सक्यो , उसैले नेपाली फिल्मी क्षेत्रको विज्ञको रुपमा पहिचान बनाउन सक्छ ।
६. भारतीय कलाकारहरु बलिउडबाट हलिउड पुगिसकेका छन् , तपाईलाई बलिउड वा हलिउडबाट सीनेमा खेल्न प्रस्ताव आएको छैन ?
-म नेपाली सेनेमामा लागेपछि दायाँ बायाँ सोच्ने समयनै पाइन । यहि नेपाली चलचित्र क्षेत्रबाट नै मलाई तृप्ती छ । मलाई बलिउड र हलिउड जानुभन्दापनि आफ्नै नेपाली दर्शक र नेपाली सेनेमा जगतप्रतिको उत्तरदायित्व बोध भयो । नेपालमा फिल्म खेल्नै वित्तिकै अन्य देशका फिल्ममा जानैपर्ने मानसिकता केवल कमजोर मानसिकता हो । यहि नेपाली चलचित्रलाई यथेष्ट योगदान दिन सकिन्छ । मलाई मेरै नेपाली दर्शकले यति अपार माया दिनु भएको छ , तपाई नै तछाडमछाड गरि अन्तवार्ता लिन आउनुभयो, मैले किन अर्काको मुख ताक्ने ।
७. अन्तमा नेपाली सीनेमामा आउन चाहने नवकलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
-कतिपयले नेपाली सेनेमा जगतलाई मजाकको विषय वस्तु र समय विताउने थलोको रुपमा लिएकाछन् । त्यसरी लिएर यो क्षेत्रमा प्रवेश गर्नेको दिगोपना रहँदैन । उनीहरु कतिखेर आए कतिखेर गए कसैलाई पत्तै हुँदैन । कलाकारितामा साँच्चै गम्भीर रुची छ भने आउनुस् । कलाकारिताको गहिराइलाई गम्भीर भएर अध्ययन गर्नुस् । आफूलाई यहि क्षेत्रमा समर्पित गर्नुस् अनि मात्र तपाई सफल र यो विधाको विशेषज्ञ बन्नु हुनेछ ।