चार वार्षिया बालिकाको तौल ४० केजी !

चार वार्षिया बालिकाको तौल ४० केजी !

गोविन्द पोख्रेल,उर्लाबारी
उर्लाबारी–६ मंगलबारेकी ४ वर्षिया बालिकाको तौल असामान्य भएपछि चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचौकका सञ्जिव धिमाल र रुकमाया धिमालकी छोरी लिजाको तौल उमेरभन्दा अस्वभाविक रहेको छ । ४ वर्षीया बालिका ४० केजी तौलकी छिन् ।
मंगलबारे अस्पतालका प्रमुख डा.खड्क लिम्बूका अनुसार सामन्यताः४ वर्ष उमेरका बालबालिकाहरुको तौल १५ देखि २० केजीसम्मको हुनुपर्छ । लिजाको तौल अस्वभाविक हुनुका कारणबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले समेत ठम्याउन नसकेको बाबु सञ्जिव धिमाल बताउँछन् । वीपी अस्पतालमा छोरीको शरीर चेकजाँच गर्दा थाइराइड ग्रन्थीलगायत अन्य भागको एक्सरे जाँच पनि ठीकठाक पाइएको धिमालले बताए । चिकित्सकहरुले बालिकाको तौल बढ्नुको कारण ‘जिनेटिक म्यूटेसन’ हुनसक्ने भन्दै त्यसको अनुसन्धान नेपालमा सम्भव नभएको बताएका छन् ।
लिजा स्थानीय सनसाईन बोर्डिङमा एलकेजीमा अध्ययनरत छिन् । मिजासिली स्वभावकी लिजालाई घर–छिमेकमा मात्र नभई विद्यालयमा पनि सबैले माया गर्ने गरेका छन् ।
विहान सवेरै उठेर,चिया विस्कुट खाइ नजिकैको ट्यूसनमा यी बालिका पढ्न जान्छिन् । मोटो शरीर भएपनि घर नजिकै विद्यालय हुँदा उनलाई पढ्न जान सहज छ । ट्यूसन पढेर आएपछि केही वेर उनी घरमै खेल्छिन् । खानाखाएपछि विद्यालय जानु उनको दैनिकी हो । विद्यालबाट ४ बजे घर आइपुग्छिन् । प्रायःविद्यालयबाट घर आउदा लिजाको ब्याग उनका साथीहरुले बोकेर ल्याइदिने आमा रुकमाया बताउँछिन् । लिजालाई पढ्न तथा गृहकार्य गर्न फराकिलो ठाँउ चाहिन्छ । प्रायःउनी ढल्केर पढ्छिन् । अन्य बालबालिकाहरुको खान्की र लिजाको खान्की उस्तै भएको बुवा सञ्जिवले बताउनुभयो । फरक यति मात्र छ, लिजा एक रातमा तीन लिटर पानी पिउँछिन् । फलफुल र चक्लेट उनलाई मनपर्छ ।
लिजा जन्मदाको तौल तीन केजी ९ सय ग्राम थियो । जन्मदेखि नै उनको तौल अप्रत्याशित तरिकाले बढेको हो । अप्रत्याशित शरीरको वनावट बढ्दै जाँदा शुरु–शुरुमा अभिभावकहरु आत्तिएका थिए । यद्यपि यी बालिकामा कुनै रोग नदेखिएपछि धिमाल परिवार निश्चिन्त बनेका छन् । बेलुका उनी अवेरसम्म टिभी हेरेर निदाउने गरेको परिवारले जनाएको छ । ४ वर्षीया यी बालिकको यत्रो तौल सम्भवतःनेपालका अन्य कुनै बालिकाबालिकाहरुमा नरहेको धिमाल परिवारले दावी गरेको छ ।
तस्विरहरुःलिजाको दैनिकीहरु(फोटो फिचर) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्