झापामा महिलाले बनाए झोलुंगे पुल निर्माण

झापामा महिलाले बनाए झोलुंगे पुल निर्माण

विर्तामोड: सरकारले टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीलाई निर्माणको काम जिम्मा दिएको भन्दा स्थानीय उपभोक्ता समितिलाई जिम्मा दिइएको निर्माणको काम छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न भएका छन् । पछिल्लो समयमा झापा बुधबारे १ मा रहेको दामा खोलामा महिला उपभोक्ता समितिले बनाएको झोलुंगे पुल यसको गतिलो उदाहरण बनेको छ ।

२०७१ साल फागुन महिनाबाट उक्त पुलको निर्माण सुरु गरेका बुधबारे १ का महिलाले चारमहिनाको अवधिमै पुल बनाइसके । पुल बनेपछि बुधबारे १ दामा खोला पारिपट्टिका सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।
महिला मात्रै रहेको उपभोक्ता समितिका अध्यक्ष यमुना चापागाईंका अनुसार समिति बनाउने बेलामा निकै समस्या भोग्नु पर्‌यो । उनले भनिन्, ‘पुरुष दाजुभाइले यिनीहरूले काम गर्न सक्दैन भन्थे । तर हामीले समयभन्दा अघि नै गुणस्तरीय काम गरेर देखायौं ।'

उनीहरुले ढुंगा पनि बोके, लट्ठा पनि ताने । आफ्नो मेहेनतका कारण गाउँले सबैले सेवा पाएकाले सन्तुष्टि मिलेको उनीहरूको भनाइ छ । पुल निर्माण समितिका सचिव गंगा आचार्यले पुल निर्माणले धेरै सुत्केरी महिलाको ज्यान बाँचेको बताइन् ।

उक्त पुलको लम्बाई ७५ मिटर छ । पुल निर्माणका लागि जिल्ला विकास समिति झापाले ८४ हजार ४ सय ८८ रुपैयाँ र बुधबारे गाविसले पनि सोही परिमाणको रकम उपलब्ध गराएको थियो । पुल निर्माणमा सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । विभिन्न दातृ संस्थाको सहयोग समेत जुटाएर २८ लाख १६ हजार रुपैयाँको लागतमा उक्त पुलको निर्माण सम्पन्न भएको समितिका कोषाध्यक्ष अनिता चापागाईंले बताइन् ।

स्थानीयवासीको सक्रियतामा बुधबारेमा झोलुंगे पुलको निर्माण समयमा भए पनि झापाको पुरानो नगरपालिकाअन्तर्गत मेची पारीको गाउँ जानका लागि बन्ने भनिएको पुलको निर्माण अत्तोपत्तो छैन । उक्त पुल नबन्नुको मुख्य कारण हो सरकारी ठेक्का प्रणाली । पूर्वी सीमाको मेची खोलापारीको यो गाउँका बासिन्दा झोलुंगे पुल बन्ने कुराले खुसी भएका थिए । तर त्यो खुशी स्थायी हुन सकेको छैन ।

झापा क्षेत्र नम्बर ३ का सांसद् कृष्णप्रसाद सिटौलाले मेची नदीमा झोलुंगे पुलको शिलान्यास गर्दा मेचीपारीका सबै घरबाट परिवारै किनारामा भेला भएका थिए । तर पुल शिलान्यास भएको यत्रो महिना बितिसक्दा पनि निर्माणको काम अलपत्र अवस्थामा छ । मेची नदी पारिको गाउँमा बसोबास गर्ने नागरिकको मागलाई सम्बोधन गर्दै सरकारले नदीमा झोलुंगे पुल बनाउने योजना अघि सारेको नौ महिना बितिसक्दा निर्माणस्थलमा ठेकेदारले एक बन्डल रड, बालुवा र गिट्टी थुपारेर पुल निर्माणको काम अलपत्र अवस्थामा छोडेको छ ।

१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल बनाउने सम्झौता गरेको ठेकेदार कम्पनीले नौ महिना उसै गुजारिसकेको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेका अनुसार हाल ठेकेदार कम्पनीले केही काम गरेको कारण समयमा काम सम्पन्न हुन्छ भन्ने आश गर्न सकिने ठाउँ भने अझै छ ।नागरिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्