माफिया भर्सेस सेवा

माफिया भर्सेस सेवा

तिनै हाम्रा डा. गोबिन्द केसी बिगत दश दिनदेखि पुन: अनसन बसिरहेका छन् । यसपटक उनको माग स्वास्थ्य क्षेत्रमा ब्याप्त माफिया तन्त्रको अन्त्यको लागीमात्र नभएर त्यसलाई प्रश्रय दिने अक्तियार प्रमुख लोकमान सिंह कार्कीको निरंकुश रबैयाप्रति पनि लक्षित छ । लोकतन्त्रलाई नै धरापमा पार्ने गरी बढिरहेको लोकमानतन्त्र ले आफ्नो क्षेत्रबाहिर पनि हस्तक्षेप गरेको भनेर बिगतमा पनि पटकपटक आलोचना भईसकेका छन् ।

ईतिहासमा धेरै कम आन्दोलन हुन्छन् जहाँ राजनैतिक आन्दोलन भन्दा वढि सामाजिक आन्दोलन चर्चाको शिखरमा पुग्छ । केहि समय अगाडी अन्ना हजारेले भारतमा गरेको भ्रष्ट्राचारबिरोधी सत्याग्रहले भारतमा ठुलो परिवर्तन ल्याएको छ । त्यसकै जगमा बनेको 'आम आदमी पार्टी' अहिले दिल्लीको सरकार चलाईरहेको छ ।

अहिले नेपालमा डा. गोबिन्द केसी तिनै सामाजिक आन्दोलनको अगुवा हुन् । उनको समर्थनमा सहभागी हुनेहरु तथा बिभिन्न सामाजिक संजालहरुमा उनको अनसनको समर्थन गर्दै #IamWithDrKC भन्ने ह्यासट्यागमा मानिसहरुले लेखिरहेका छन् ।अक्तियारको विज्ञप्तीमा उनलाई 'पागल' भनेर संवोधन गरिएपछि अहिले #IamWithPagal ह्यासट्यागहरु पनिभाईरल भईरहेका छन्। बौद्धिक बर्गलाई बहसमा छेडेर सम्पुर्ण नेपालीहरुको जीवनको लागी सबैभन्दा संबेदनशील स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने उदेश्यको यो आन्दोलनमाहामी कसरी लागिरहेका छौ त्यो पनि महत्वपूर्ण बिषय हो ।

अहिले अस्पताल स्वास्थ्यको लागी सबैभन्दा डरमर्दो ठाँउ बन्दै गईरहेको छ । नक्कली डा. हरुको पर्दाफार सँगै बढ्दो लापरबाहीका कारण जीबन सम्म गुमेका समाचारहरु सामुन्ने आईरहेका कारणसकुशल उपचार गरेर फर्किन सकिएला कि नसकिएला भन्ने त्राश हुनेगर्छ सबैमा । त्यसमाथी बोकाईने औषधीको अनावश्यक भारीले भएको बिरामलाई झनै वढाईदिने खतरा पनि बढिरहेको छ । संचालनमा आईरहेका धेरै मेडिकल कलेजहरुमा बिरामी नपुगेर अनुगमनको बेला नक्कली बिरामीहरु राखिएको सम्म समाचारहरु आईरहेका छन् । टेक्निकल क्षेत्र यस्तो हो जहाँ प्राक्टिकल नगरेसम्म कोहिपनि दक्ष हुँदैन । यदि हामीलाई भोली उपचार गर्ने डा. हरुनै पर्याप्ट बिरामी हेरेको अनुभव नभएका छन् भने त उनिहरुले जाँच्ने हाम्रो जीवन त्यसै पनि जोखिममा हुनेछ ।

डाक्टरपढाउनलाई लाखौ खर्च गर्ने अविभावकहरु छन् । उनिहरु जीवनभरको मेहनेत र पसिना आफ्ना सन्तानको खुशीको लागी खर्चिरहेका हुन्छन् । उनिहरुलाई आशा हुन्छ कि आफ्नो सन्तान भोली डा. बनेर देशको सेवा गर्नेछ । तर त्यसको लायक बन्न सके पो बन्ने । सर्टिफिकेट मात्र बोकेर भोली हल्लिनुपर्ने भयो भने पर्यप्त बिरामी र भौतिक साधन बिना संचालन भएका अहिलेका मेडिकल कलेजहरुले त्यसको जिम्मेबारि लिन्छन्? साथै योग्यता¸ क्षमता र ईच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीहरुले के डा. बन्नै नसक्ने त?

अधिकारका लागी धेरै आन्दोलनहरु गरियो । भर्खरै संविधान पनि जारी भएको अवस्था छ । त्यसमा 'स्वास्थ्यको अधिकार' पनि सामेल छ । तर माफियाको जालोले जकडिएको स्वास्थ्य क्षेत्रले हाम्रो अधिकारलाई कुल्चेर व्यापार मात्र गरिरहेको छ । यहि थितीको बिरुद्ध पनि डा. केसी अनसन बसेका हुन् ।

डा.केसी निष्टाका प्रतिमुर्ती हुन् । नेपाली जनतालाई आवश्यक परेका बेला उनि जस्तोसुकै अबस्थामा पनि सेवा गर्न पुगेका थिए । उनको यहि निष्ठाकै कारण पटकपटकको अनसन सामुन्ने सरकार झुक्दै गएको हो । तर उनको माग पुरा गर्छौ भनेर गरिएका धेरै संझौताहरु कार्यान्वयन नभएकाले गर्दा अहिले आठौ पटक उनि अनसन बसिरहनुपरेको छ । माफियागिरीको कारण सेवाभन्दा बढि ब्यापारमा लागेको स्वास्थ्य क्षेत्रलाई सफा गर्न उनले थालेको यो कदममा सबै जनताहरुले साथ दिनु आजको आवश्यकता हो । आफुलाई अस्पतालमा पर्दा तोडफोड गर्ने तर त्यो अस्पताल त्यसरी गैरजिम्मेबार किन भयो¸ हामीले कस्तो डाक्टरहरुबाट सेवा लिईरहेका छौ भनेर प्रश्न नगर्ने हो भने देशमा सिस्टम भएन भनेर गाली गर्ने कुनै अधिकार हामीलाई छैन । सिस्टम बनाउने बेलामा पछि बस्ने वा सिस्टमको लागी लडिएको लँडाईमा साथ नदिने हो भने हामी के नेपाली?

यो गोविन्द केसीको माग होईन, हाम्रो माग हो ।

मलाई सानाको घटना याद छ । स्कुलमा फट्याई गर्थेँ म । चकचक पनि उति नै गर्थेँ । जो सँग पनि कुचुरकुचुर चल्नु पर्ने । पदम भन्ने साथी थियो मेरो । उ एकदमै सरल र शान्त स्वभावको । एकदिन मैले उसलाई पिँटे र उ पुग्नु अगाडी नै निलमणी सरलाई 'पदमले कुट्यो' भनेरपोल लगाउन गएँ । तर सरले उल्टै मलाई नै पिट्नुभयो र भन्नुभयो¸ 'पदमले त्यस्तो गर्दै गर्दैन' । यो घटनालाई जब डा. गोबिन्द केसी सँग जोडेर हेर्छु तब मलाई सानोमा ठुलो ज्ञान सिकेको महशुस हुन्छ कि यदि कसैले आफ्नो स्वभाव र आचरणले मानिसको मन जितेको छ भने  उ सँग ठुलो शक्ति हुन्छ । गोबिन्द केसी एक त्यस्ता ब्याक्ति हुन् जसले आफ्नो निष्टाको बलमा आफुलाई यो लँडाईको अग्रभागमा उभ्याएका छन् । अब आफुलाई निष्ठावान् बनाएर देशमा सिस्टम परिवर्तन भएको हेर्न चाहाने तपाई हामी सबैले उनलाई साथ दिनु जरुरी छ ।

हामीले राजनैतिक आन्दोलनको लागी पटकपटक दलहरुलाई साथ दिँयौ । हाम्रै भोटले उनिहरु अहिले निर्णायक भुमिकामा देश हाँकिरहेका छन् । तर यदि हाम्रै स्वास्थ्य क्षेत्रसँग जोडिएको आन्दोलन प्रति उनिहरु कान थुनेर बस्छन् भने उनिहरुलाई झक्झक्याउने बेला भएन र? स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको सामाजिक आन्दोलनमा जान कसैलाई पनि राजनैतिक निष्ठाले रोक्नुहुदैन । कतिन्जेल बोरिङ राजनीतिको लागी मात्र साधन भईरहने । त्यहि राजनितीले फोहोर पारेको स्वास्थ्य क्षेत्रलाई सफा गर्न लागेका डा. केसीले उठाएका माग हाम्रा हुन् । अस्पतालमा जानुपर्ने हामी हो¸ जोखिममा पर्नसक्ने जीवन हाम्रो हो । यो आन्दोलनबाट उनलाई पाउनुपर्ने केहिपनि छैन । यत्तिको निष्टावान् मान्छे हाम्रो लागी लडिरहेको छ भने उसको लागी हामी समर्थन पनि बाँढ्न सक्दैनौ त?

डा. केसी लाई भगवान् भनेर भन्नेहरु पनि छन् । तर म उनलाई भगवान् मान्दिन । उनि एक असाधारण योद्धा हुन् जसले नेपालमा निष्टाको शान्तिपूर्ण आन्दोलनले पनि परिवर्तन खोज्न सकिन्छ भनेर बताईरहेका छन् । सवै नेपालीका सन्तानलाई क्षमता हुँदा डा. बन्न सक्ने वाताबरण बनाउन लागिरहेका छन् । मेडिकल कलेजहरु केन्द्रमा मात्र सिमित नभएर बाहिर पनि निस्कनुपर्छ भनिरहेका छन् । के यो हाम्रो लागी राम्रो बिषय हैन?

त्यसैले जहाँबाट जसरी हुन्छ उनको मागमा ऐक्यबद्धता गरौ । मार्टिन लुथर किङ जुनियरले भनेका थिए¸ 'हाम्रो ईतिहासमा सवैभन्दा मुख्य कमजोरी के भयो भने ठुलो सामाजिक परिवर्तनको लागी हामी बेलैमा जाग्न सकेनौ ।'कम्तिमा यो अवस्था हाम्रो देशमा नआओस् । आज हामी चुप बसेको कारणडा. केसीले जीवन गुमाउनु पर्यो भने हामीले जीवनभर आफुलाई धिक्कार्नु पर्नेछ । हाम्रो स्वास्थ अधिकारको लागी पागल भएर लागेका एक सचेत पागलको जीवन रक्षाको पागल भएर लाग्नुपर्छ । तपाई छान्नुस्¸ माफिया कि सेवा?

[caption id="attachment_23393" align="aligncenter" width="640"]लेखक युथ फर ब्लडका केन्द्रिय सचिव हुनुहुन्छ । उहाँलाइ ट्विटरमा पच्छ्याउन सकिन्छ @skyasesh लेखक युथ फर ब्लडका केन्द्रिय सचिव हुनुहुन्छ । उहाँलाइ ट्विटरमा पच्छ्याउन सकिन्छ @skyasesh[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्