बर्षाले विजोग विराटनगर

बर्षाले विजोग विराटनगर

प्रेम देवान
विराटनगर , साउन ९
एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् ।

एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्यापक रूपमा क्षति पुगेको छ ।

आसपासका छिमेकी गाविस तथा नगरपालीकाका गांउमा चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका अनुसार, विराटनगर–१६ स्थित बकरी टोलामा पानी पस्दा ५० परिवार विस्थापित भएका छन् भने पानीको चाप बढ्दै गएपछि विस्थापितका सङ्ख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ ।

यसैबीच, रेडक्रस मोरङले बकरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो ठाउँबाट गएराति थप परिवार पनि विस्थापित भएको र उनीहरू नजिकको विद्यालय र सडकमा आज विहान आश्रय लिन थालेका छन् । उता कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् ।

यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जानकारी दिनुभयो । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका २०० परिवार विस्थापित भएका छन् । नुनसरी खोलाको पानी मधुमल्ला ४ र ६ वडामा पस्दा ५० परिवार विस्थापित भएका छन् । टापूका रूपमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्णरूपले क्षति भएको छ । यसका साथै, विराटनगर–डाइनिया सडकखण्डको थाननजिक कल्भर्टको छेउमा कटान हुँदा सो मार्ग बिहानदेखि अवरुद्ध भएको छ । ती ठाउँमा प्रहरीको टोली पुगेर मर्मत सम्भारको काम सुरु गरेको बताइएको छ । समग्रमा गएरातिको वर्षाका कारण मोरङ भएर बग्ने नदीको जलस्तरमा व्यापक रूपमा वृद्धि भएपछि कतिपय ठाउँमा बाँध भत्काएर मानवबस्तीमा पानी पसेको बताइएको छ । यता विराटनगरको हरेक सडक तथा भित्री सडकमा जमेको पानीले गर्दा आमसंर्वसाधारण हैरानमा पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्