अफिसमा बसेर ‘नेट सर्फिंग’ गर्दै गर्दा दिउसो एउटा दुखद समाचार पढेँ – ‘धनकुटाको सिदुवामा गाडी दुर्घटना भएर ७ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए ।’ अत्यन्तै दुखित बनायो, यस खबरले । तर अफिसियल ब्यस्तताले केही सोच्नै भ्याइनछु । कामकै थिचाइमा परिरहेछु ।
एक्कासी दिउसो साढे ४ बजे धरानस्थित रेडक्रसको ब्लड बैंकबाट सुभास सरको फोन आउँदा मात्र म झसंग भएँ । मैले केही बोल्नै नपाई सरले भन्नुभयो,– ‘अतित आज धनकुटामा भएको दुर्घटनाका ४० जना घाइतेलाई घोपामा ल्याएको छ, हामीसंग ५ पिन्ट ‘ए पोजेटिभ ब्लड’ मात्र छ, तुरुन्त रक्तदाता खोज्नु पर्यो । नत्र आज बिजोग हुन्छ ।’ ‘म सबैतिर खबर गरेर रक्तदाता लिएर आउँछु’ भनेर मैले सुभास सरलाई आश्वस्थ पारेँ । फोन राखेपछि फेरि एक पटक झसंग भएँ, भन्ने वित्तिकै साँझमा कसरी रक्तदाता लिएर धरान जान सकिएला र ?
लगभग ३ वर्ष पुग्न लाग्यो मैले युथ फर ब्लडसँग आबद्ध भएर रगत संयोजन गर्न सुरु गरेको । त्यसकारण हाम्रो एक किसिमको सर्कल चाहिं बनेको छ । मैले तत्काल युथ फर ब्लड सुनसरीका अध्यक्ष हिमाल निरौला भाइलाई फोन गरेर सबै कुरा सुनाएर रक्तदाता तयार गर्न अनुरोध गरेँ । ४० जना दुर्घटनाका घाइतेहरुलाई अभाब नहुनेगरी रगत संयोजन गर्नु भनेको चानचुने कुरा थिएन । कम्तिमा पनि ९० देखि १०० पिन्ट रगतको आवश्यकता थियो ।
हामीलाई एक्कासी चुनौती आइपरो । एक त साँझ परिसकेकोले रक्तदाता भेटिन गारो हुने, भेटिइहालेपनि वेलुका मापसे गरिसकेका हुने । यो हाम्रो पुरानो अनुभव पनि हो । तर रगतको आवश्यकता जहिल्यै एक्कासी नै पर्छ । त्यसकारण केहीन केही अभ्यस्त पनि भइसकेका थियौं हामी । यस पटकको थप समस्या चाहिं ठूलो संख्यामा भएका घाइतेलाई धेरै रगत चाहिन्छ भन्ने डर थियो ।
मैले अध्यक्ष हिमाल भाइलाई फोन गरेपछि सामाजिक संजाललाई संम्झिएर फेसबुकमा सहयोगको अपिलका साथ पोस्ट हाले । सबैभन्दा छिटो सुचना संप्रेषण हुने माध्यम सामाजिक सञ्जाल भएकाले फोनको घन्टी बज्न सुरु भइहाल्यो । मैले निरञ्जन जी, बिनोद जी लगायतका इटहरीका सामाजिक क्षेत्रमा सक्रिय अरु अभियन्ताहरुलाई फोन गरेर सहयोगको अपिल गरेँ । इटहरी बसेर फोन गर्नुभन्दा ‘ब्लड बैंक’ नै बसेर रगत खोज्ने काम सही हुने भनेर हिमाल र म ब्लड बैंक तिर लाग्यौं ।
रक्तसंचार केन्द्र पुगेपछी हामी खुशी भयौ । त्यहाँ ‘युथ फर ब्लड’ धरानको टिमले अनिल जी र सुनिल जी को नेतृत्वमा काम सुरु गरिसकेको थियो । हामी पनि संगै–सँगै लागेर रक्तदाता खोज्न लाग्यौं । रगत अभाब भएको कारणले गर्दा इटहरीको नमस्ते एफ.एम र धरानको कृति टेलिभिजन मार्फत सूचना जारी गरी सबैमा रक्तदानको लागि अपिल गरियो । इलाका प्रहरी कार्यालयका १७ जना प्रहरीले पनि आएर रक्तदान गर्नुभयो । हामीलाई चुनौती लगभग १ सय पिन्टको थियो । त्यहाँ बसेर हामीले हाम्रा नियमित रक्तदाता देबजी, बिनोदजी लगायतलाई फोन गर्यौ । युवा बिकाश केन्द्रका साथीहरु पनि तयारी अवस्थामा बसेको सूचना मैले पाए । त्यसपछि ‘युथ फर ब्लड’ इटहरीका संस्थापक सदस्य निरज पौडेललाइ फोन गरि एउटा गाडी रिजर्व गरेर लिएर आउन भने ।
त्यतिबेला सम्म सामाजिक संजालको मेरो पोस्टले सनसनी मच्चाईसकेको रहेछ । त्यो पोस्ट अनेकौ शेयर र रि–पोस्ट भइसकेको रहेछ । रक्तदान गर्न इच्छुक युवाहरुको फोन आएको आयै थियो । धरान, बिराटचोक, इटहरी, इनरुवा लगायतका ठाउबाट युवाहरु आइ रक्तदान गर्नुभयो । लगत्तै इटहरीबाट देब जी तिन जना साथीहरु लिएर ‘ब्लड बैंक’ आएर रक्तदान गराउनु भयो । बेलुकातिर इटहरीबाट निरज भाईले गाडी रिजर्ब गरेर १८ जना दाता लिएर आए । त्यो १८ पिन्ट डोनेशन गराउँदा हामीले जम्मा ९६ पिन्ट संकलन गरिसके थियौं ।
त्यसपछि तत्काललाई रगत अभाब नहुने निश्कर्ष निकालेर आकस्मिक रक्तदान अन्त्य गरियो । रक्तदान सकेर ब्लड बैंक धरान र युथ फर ब्लड सुनसरीको बैठक बसेर अब रगत अभाब नहुने निश्कर्ष निकालियो । हामी ढुक्क भयौ किन कि भोलीपल्ट धनकुटामा र पर्सिपल्ट उदयपुरमा रक्तदान थियो । बैठक सकेर खाना खाइ हिमाल भाइ र म सुत्नको लागी मेरो दिदीको घर तिर लाग्दै थियौ अचानक मेरो मोबाइलमा फोन आयो, –‘दाइ हामी रक्तदान गर्न आउन लागेको, हामी भानुचोकमा छौ ।’ हामीले अहिले रगत पूर्ति भइसकेकोले बिहान रक्तदान गर्न अनुरोध गर्यौ तर उनीहरुले फुर्सद नहुने बताएपछि हामी फेरी ब्लड बैंक फर्किएर रक्तदान गरायौ ।
यसरी थोरै घण्टामा हामी १ सय पिन्टभन्दा बढी रगत संकलन गर्न सफल भयौं । युथ फर ब्लडको अहिलेसम्म कै ठुलो रगत समायोजन हो यो । राती ओछ्यानमा पल्टिएपछि रक्तदान गर्ने सवैको अनुहार झलझली आइरह्यो । एकै वचनमा रक्तदान गर्न आएका, सामाजिक सञ्जाल र सञ्चार माध्यमको समाचार सुनेर खोज्दै आएकाहरुलाई एकैठाऊँ राखेर सलाम गर्न मन लाग्यो । नेपाली युवाहरुको सम्वेदना यो हदमा महसुस भइरहँदा गर्वले आँसु पो झर्न थालेछन् ।
हृदयदेखिकै धन्यवाद सम्पूर्ण रक्तदाताहरुलाई ।
लेखक युथ फर ब्लड सुनसरीका संस्थापक हुन्