कुराकानी सुरु गर्नभन्दा अगाडी उनले हामीलाई सहज होस् भनेर उनका भिडियोहरु देखाए । उनले गिनिज वर्ल्ड रेकर्ड राख्न प्रयास गरेका भिडियोहरु हिमशिखर टेलिभिजनले खिचिदिएको रहेछ । त्यहाँ उनले टेवलमा राखिएका ४२ वटा वस्तुहरुलाई एकपटक हेरेर पुन मिसाएपछि पहिला जहाँ जुन अवस्थामा थिए त्यहिँ दुरुस्तै राखेका रहेछन् । उनलाई गिनिज वर्ल्ड रेकर्ड होल्डर त्यसैले वनाएको रहेछ ।
उनले तीसबटा बस्तुहरुको नाम नं दिएर लेख्न पनि लगाए । मैले ति भिडियोहरु हेरुन्जेल ईन्साफले नम्मर दिएर कपिमा नामहरु लेखिसकेको थियो । मोबाईलको रेकर्डर तयार भईरहेको बेला उनि साथीलाई फोन लगाउँदै थिए । भन्दै थिए¸ 'आज म सानो कामले व्यस्त छु । पाँच वजिसक्यो तिमी जसरी पनि जानु । विद्यार्थीहरु आईसकेहोलान् ।' कतै पढाउनेरहेछन् भनेर लख काटेँ ।
त्यसपछि उनि ति तीसवटा बस्तुहरुको नाम पढ्नलाई वाहिर गए । दुई मिनेटमा फर्किए र मलाई सोध्न भने । मैले सोधेपछी उनले लगातार अगाडीबाट पछाडी र पछाडीबाट अगाडी के के वस्तुहरु छन् सुनाए । त्यतिमात्र हैन कुन नम्मरमा कुन वस्तु छ वा कुन वस्तु कति नम्मरमा छ भनेर पनि भने । मैले धेरैवेर सोधिन । यौटै प्रश्न आईरह्यो¸ उनि कसरी गर्छन् ?
तिनै कुराहरु वुझ्नलाई त पुगेका थियौ नि हामी त्यहाँसम्म ।
˟˟˟˟˟
उनि र उनको प्रकाश गिरी भन्ने साथीहरु परिक्षाको लागी तयारी गर्न वसेका थिए । दुई वर्षअगाडीको कुरा हो त्यो । कुरैकुरामा उनको साथीले तीसवटा शव्दहरु कसले पहिला संझिसक्ने भनेर कम्पिटिसन राख्ने प्रस्ताव राख्यो । उनले माने । दुवैले संझिनुपर्ने शव्दको लिष्टहरु तयार पारे । उनलाई ति शव्दहरु चाँडै याद भैहाले । उनको साथीले पन्द्र मिनेटसम्म पढ्दा पनि याद नगरेको कुरा याद गर्न पाँच मिनेट पनि लगाएनन् ।
'यो हिसावले त तपाई वर्ल्ड रेकर्डनै राख्न सक्नुहुन्छ' उनको साथीले पहिलोपल्ट वर्ल्ड रेकर्डको कुरा निकालिदिएको थियो ।
त्यसभन्दा पहिला उनलाई वर्ल्ड रेकर्ड हामीजस्तो सामान्य मान्छेले राख्न सक्दैन जस्तो लाग्थ्यो । खत्रा हनुपर्छ जस्तो लाग्थ्यो ।
साथिले नै यो रेकर्ड कति रहेछ त हेरौ न भनेपछी उनिहरुले ईन्टरनेटमा खोजे । त्यो रेकर्ड उसवेला २२ वटा शव्दहरुको मात्र रहेछ । अनि त के चाहियो रेकर्ड राख्ने जुनुन उनको दिमागमा आईहाल्यो ।
त्यहि दिन नै त्यो रेकर्ड तोड्न सक्छु भन्ने लागेछ उनलाई त ।
त्यसपछिका एक महिना उनले वर्ल्ड रेकर्ड राख्ने प्रकृयाहरुको बारेमा वुझ्न लगाए । रिसर्च गर्दा उनलाई कलर चिन्ने रेकर्ड सजिलो लाग्यो र त्यसको लागी तयारी थाले । उनले त्यसको लागी एप्लिकेसन पठाउँदा पहिलाको वस्तु याद गर्ने रेकर्ड संख्या ४० पुगिसकेको थियो । उनले ४० को लागी तयारी पनि गर्न थाले । एक मिनेटमा ६० वटासम्म गर्नसक्ने भए । रेकर्डमा भने जित्नको लागी मात्र हो भनेर ४२ वटा मात्र पर्फर्म गरे ।
गिनीजले अनुमति दिएपछि उनि त्यसको तयारीमा लागे । चारवटा एंगलबाट भिडियो लिनुपर्ने रहेछ । क्षेत्रका विभिन्न ठुला मान्छेहरु सम्मिलित कार्यक्रममा खिचिएको त्यस्तो भिडियो सम्पादन नगरिकन पठाउनुपर्ने रहेछ । उनलाई त्यसको लागी प्रकाश गिरी¸ स्थानियबासी र अन्य संघसंस्थाले सहयोग गरिदिए । भिडियो खिच्ने व्यवस्था हिमशिखर टेलिभिजनले मिलाईदियो ।
तर दुर्भाग्य पहिलोपटक गरेको कलर चिनेर रेकर्ड राख्ने प्रयास खेर गयो । उनले कलर चिन्न स्पर्धाको लागी बनाएको भिडियोमा सानो प्राविधीक गडवढि देखिएकाले गिनीजले लिन मानेन । उनले कलर सिक्वेन्स भन्दै गर्दा क्यामेरा एक सेकेण्डले रोकिएछ । थोरै ग्याप निस्किएको त्यो टेक्निकल फल्ट हुँदा उनको पहिलो सपना पुरा हुन पाएन ।
वस्तुहरु चिन्ने दोस्रो रेकर्ड एटेम्प्ट गर्न उनले अर्को एक वर्ष पर्खिनुपर्यो । अगिल्लो सालको कुरा हो यो । उनले त्यसैगरी भिडियो वनाएर पठाए ।
˟˟˟˟˟
एकदिन घरको आफ्नै कोठामा वसिरहेका थिए । ल्यापटपमा नेट चलिरहेको थियो । उनलाई एउटा ईमेल आयो । त्यसमा उनको ठेगाना मागिएको थियो । उनले हतारिएर उत्साहित हुँदै पढेको त्यो म्यासेज गिनिजको अफिसियल ईलेलबाट आएको थियो ।
उनलाई के भईरहेको थियो याद नै भएन । अरु कामको लागी त गिनिजले ठेगाना सोद्धैन थियो । त्यो सर्टिफिकेट पठाउनलाई हो भन्ने अनुमान गरे ।
उनले कन्फर्म गर्न लण्डनको अफिसमा फोन गरे । १४२४ बाट त्यहाँको नम्मरमा डायल गर्दा उनको हात काँपिरहेको थियो । खुशीले ।
उनि तुरुन्तै तल ओर्लिए । बुवा सुतिरहनुभएको थियो । उहाँलाई पनि सुनाए । उहाँ त झण्डै रुनुभएको । पसलमा बसिरहुभएको आमा मिठो हाँस्नुभयो । गर्वको हाँसो थियो त्यो । परिवारको लागी खुशी ल्याउन सकेकोमा उनलाई पनि विशेष लागिरहेको थियो ।
उनले गिनीजको वेवसाईट चेक गरे । रेकर्डको करेन्ट रेकर्डमा उनको नाम चढिसकेको थियो । विश्वमा कसैले नगरेको काममा आफ्नो काम लेखाउनुको अनुभव विशेष हुनु नै भयो । सहयोग गर्ने सवैको अनुहार उनको आँखाभरी आईरहेका थिए ।
त्यति भईसक्दा पनि उनि केहिसमय गुमसुम नै भए । उनले रेकर्ड राखेको बारे धेरैलाई थाहा थिएन ।
पछि नेपाल सरकारले २०७२ असार २१ मा एक कार्यक्रममाझ 'राष्ट्रिय युवा अवार्ड' प्राप्त गरेपछि भने उनलाई सम्मान गर्नेहरुको लाईन लाग्यो । विभिन्न संघ तथा संस्थाहरुले उनलाई वोलाएर सम्मान गरे । विभिन्न स्कुलहरुमा उनले आफ्नो अनुभव सुनाए पनि ।
उनले त्यसवेलाका अन्तर्वार्ताहरुमा आफ्नो आगामी योजनाहरु सुनाएका थिए । मेमोरी सम्बन्धी धेरै रेकर्डहरुलाई उनि अहिले पनि व्रेक गर्न सक्छन् तर त्यसको लागी आर्थिक रुपमा उनलाई सहज छैन । 'कसैले साथ दियो भने देखाउन सक्छु' उनि भन्छन् ।
˟˟˟˟˟
वर्ल्ड रेकर्ड राख्नुभन्दा अगाडी र पछाडीको अर्पणमा धेरै फरक आएको छ । उनि पहिला कसैसँग बोल्न डराउँथे । भित्र कुरा खेल्थ्यो तर बाहिर भनिहाल्न मन गर्दैन थिए । अहिले स्पष्ट बक्ता भएका छन् । आफ्नो सफलता र आगामी योजनाको बारेमा निर्धक्क सुनाउँछन् । उनलाई बोलाईएका विभिन्न स्थानहरुमा पुगेर मेमोरी पावरहरु सम्वन्धि विभिन्न सेमिनारहरु पनि दिन्छन् । सुपर कन्फिडेन्ट भएका छन् । त्यसैको कारण आफ्नो मेमोरी पावर पनि वढिरहेको जस्तो लाग्छ उनलाई ।
के ले अर्पनलाई वर्ल्ड रेकर्ड राख्न सक्ने वनायो त?
उनलाई मेडिटेसनमा सानैदेखि रुचि थियो । बिवेकानन्दको 'माईन्ड पावर' किताबवाट सुरु गरेर उनका अन्य कितावहरु खुव रुचिले पढ्थे उनि । त्यसले दिमागलाई एकाकार वनाउन सहयोग गर्थ्यो । उनि सुनेका हरेक कुराहरुलाई केहि न केहि वस्तुहरुसँग दाँजेर संझिन्छन् । तर एउटा कुरा के भने सवैले उनले झै मेमोरिमै रेकर्ड राख्न सक्छन् भन्ने छैन । मान्छेअनुसार ईच्छा र रुचिहरु फरक फरक हुन सक्छन् । उनि भन्छन्¸ 'यदि आफ्नो दक्षता वुझ्ने¸ रिसर्च गर्ने र नियमित अभ्यास गर्नेहो भने हरेक मान्छेसँग कुनै न क्षेत्रमा विश्व रेकर्ड राख्नसक्ने क्षमता हुन्छ ।'
उनि कलरको रेकर्डलाई पुन अफिसियल वनाउनलाई एटेम्प्ट गर्ने तयारीमा छन् । र जुन वस्तु संझिने कुरा उनले हामीलाई सुरुमा देखाएका थिए त्यसलाई गीत गाँउदै दुईमिनेटमा याद गर्ने तयारीमा छन् । दिमागको मल्टिपल फंसनमा उनलाई रेकर्ड राख्नु छ अब ।
˟˟˟˟˟
उनिहरुले अहिले युथ ईम्पावरमेन्ट सोसाईटी (YES) खोलेका रहेछन् । भर्खरै सुरु गरेका छन् । यसको माध्यमबाट उनिहरुले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको लागी निसुल्क टिउसन पढाईरहेका छन् । केहि समयमा नै आवश्यक स्रोत जुटाउन सके भने निशुल्क कम्प्युटर क्लास पनि दिने उनिहरुको योजना छ ।
बोर्डर लाईन नजिकै भएकाले बालवालीकाहरु पढ्नमा भन्दा पनि वढि विभिन्न अवैधानिक काममा संलग्न हुन थालेको उदाहरणहरु देखेपछी केहि गर्नुपर्छ भनेर प्रेरित भएका रहेछन् उनिहरु । फेरि नियमित रुपमा खस्किरहेको एस एल सी को नजिजाले पनि उनिहरुलाई झक्झक्याएछ । त्यस्ता बालवालीकाहरुलाई जसरी पनि शिक्षा सम्म ल्याउन चाहान्छन् उनिहरु । भने¸ 'नगरपालीकासँग मिलेर जाने सल्लाह हुँदैछ । मिल्यो भने उनिहरुलाई खाजा पनि खुवाउँछौ तर पढाईबाट टाडा हुन दिँदैनौ ।'
उनले अगि सुरुमा फोन गरेर साथिलाई पढाउन जाँदैगर किन भनेका रहेछन् भन्ने वुझे । फोनमा वोलेका मान्छे तिनै प्रकाश रहेछन् जसले उनलाई पहिलोपटक गिनीज वर्ल्ड रेकर्डको भुत चढाईदिएका थिए ।
˟˟˟˟˟
लगभग कुरा सकिन लागेका थिए । त्यसैले अन्तिम प्रश्न छोडे¸ 'गिनीज वर्ल्ड रेकर्ड होल्डरको रुपमा सरकारले कसरी चिनेको छ अर्पनलाई?'
उनि एकछिन रोकिए र भने¸ 'नेपालबाट रेकर्ड राख्नेहरुमध्ये म आफुलाई भाग्यमानी संझन्छु । किनकी मलाई त सरकारले युवा अवार्ड भएपनि दियो तर धेरैलाई त उसले चिनेको पनि छैन । रेकर्ड राख्नु भनेको कुनै पनि फिल्डमा गहिरो क्षमता रहेको देखाउनु हो । त्यस्तो दक्षता भएका मानिसहरुलाई अवसर दिँदै प्रभावकारी उपयोग गर्ने योजना भने सरकारको कुनै निकायमा छैन । त्यसले भने थोरै दु:खि बनाउँछ ।'
अन्तिम प्रश्न सोधेँ 'सवैभन्दा गर्व लाग्ने कुनै कुरा?'
राजा थापा भन्ने एकजना भाईले उनको भिडियोबाट प्रेरित भएर रेकर्ड सेटरमा १३८ वटा पेन्सिल मुखमा हालेर वर्ल्ड रेकर्ड बनाएका रहेछन् । खुशी हुँदै सुनाए¸ 'उनको सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुन पाएकोमा गर्व लागेको छ।'