नेपालमा श्रृखलाबद्ध हत्यामा संलग्न भारतीय पक्राउ

नेपालमा श्रृखलाबद्ध हत्यामा संलग्न भारतीय पक्राउ

सप्तरी, भाद्र २१

सप्तरी र सुनसरी जिल्लाको श्रृंखलावद्ध हत्या घटनामा संलग्न रहेका एक भारतीयलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

भारतको मधुवनी जिल्ला लौकाहा बगमरिया स्थाई घर भई सप्तरीको सारस्वर–७ मा बस्दै आएका मोहमद मस्तकिम भन्ने २६ वर्षीय रईस मियाँलाई सप्तरी प्रहरीले आइतबार काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

मियाँ ०७६५६६४३ नम्बरको नेपाली राहदानी प्रयोग गरी बैदेशिक रोजगारीकालागी जान लागेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मियाँले मोहमद सकिल हुसेनसँग मिलेर २०६९ असोज १ गते सहबुद मियाँ र उनकी वुहारी सगिरा खातुनको हत्या गरेका थिए। रईस र सकिलले उनीहरुको हत्या गरी साथमा रहेको २ लाख ७६ हजार रुपैयाँ लुटेका थिए।

सकिल सोही बखतदेखि फरार छन्। प्रहरीले घटनाको अनुसन्धानका क्रममा दुवैको शव (कंकाल) कल्यायाणपुर ८ स्थित खाली जग्गामा खाल्टो खनी पुरेको अवस्थामा फेला पारेको थियो।

यसैगरी, रईसले मोहमद सकिल हुसेन र गुल्जार मियाँसँग मिलेर २०७० सालको असोज/कार्तिकमा जण्डौल–६ बस्ने दुलारी देवी साहको हत्या गरेका थिए।

उनीहरुले दुलारी देवी साहलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा कारागारमा रहेका उनका पति धिरेन्द्र साहलाई कारागारबाट छुटाई दिन्छौ भन्दै ६ लाख रुपैयाँ माग गरी उनलाई एकान्त स्थलमा बोलाएर हत्या गरी रकम समेत लुटेका थिए।

दुलारी देवी साह वेपत्ता भएको करिव २ बर्षपछि जण्डौल–८ स्थित चुरे जंगलको फेदीमा २०७२ वैशाख २७ उनको शव (कंकाल) फेला परेको थियो।

यस्तै रईसले मोहमद सकिल, अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन समेतसँग मिलेर २०७० चैत्र १ गते राती त्रिकोल–५ बस्ने स्व.जय राम साहकी पत्नी निर्मला देवी साहको हत्या गरेका थिए।

उनका छोरा दिपक कुमारलाई बैदेशिक रोजगारीमा पठाई दिन्छौ भन्दै निर्मला देवीलाई बोलाई घाँटी थिची धारिलो हतियारले पेटमा रोपेर हत्या गरी उनको साथमा भएको ३ लाख रुपैया लुटेका थिए।

उक्त हत्याका आरोपी मध्ये अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन यस अघिनै पक्राउ परी कारागारमा छन्।

पक्राउ परेका रईसको संलग्नतामा सुनसरीको विभिन्न स्थानहरुमा ३ वटा हत्या घटना भएको पाईएकोले सो बारेमा समेत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्