उदयपुरमा केरा उत्पादनमा वृद्धि

उदयपुरमा केरा उत्पादनमा वृद्धि

 

उदयपुर, यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् । जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ ।
यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पनि नलागेको र हावाहुरीले पनि बोटलाई क्षति नगरेका कारण सुरुदेखि नै उत्पादन राम्रो रहेको हँडिया–५ का सुकाई चौधरी बताउँछन् ।

अझ वर्षा राम्रो भएका कारण केराका बोट फस्टाउने र केराका घरीहरु पोटाउनेसमेत गरेका कारण पनि केरा उत्पादन बढ्ने देखिएको हो । यता सुन्दरपुर–५ मा डेढ बिगाहा जग्गामा व्यावसायिक रुपमा केराखेती गर्दै आएका कृषक गोविन्द घिमिरे पनि यस पटक केरा उत्पादन राम्रो भएका कारण आय बढ्नेमा आशावादी देखिएका छन् ।

केही महिना अघिदेखि आफूले फाटफुट मात्रै केरा बिक्री गर्दा पनि पचासौँ हजार रुपैयाँ आम्दानी गरिसकेको घिमिरेले बताए ।

दसैँ, तिहार र छठमा सोचे जस्तै बिक्री भए रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने सोचमा घिमिरे छन् । यता, तपेश्वरी र भागलपुर क्षेत्र त उदयपुरको अत्यधिक केरा उत्पादन हुने क्षेत्र हुन् । यस वर्ष सुरुदेखि नै केरामा रोग नलागेको र चैत, वैशाख तथा जेठमा हावाहुरीले केराका बोटलाई असर नगरेका कारण केरा उत्पादन राम्ररी भइरहेको तपेस्वरी–३ का कृष्ण दुलालले बताए ।
यस पटक दसैँ, तिहार तथा छठमा मात्रै जिल्लाका पूर्वी क्षेत्रका कृषकले करोडौँको केराको व्यापार गर्ने अवस्था रहेको जोगिदह–५ का केरा व्यवसायी कृषक जनकलाल चौधरीले बताए ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार यसपटक उदयपुरको पूर्वी क्षेत्रमा केरा उत्पादन राम्रो रहेको छ । पूर्वी भेगमा रोगेस्टा, विलियम हाइब्रिड, मालभोग र चिनियाँ चम्पा जातिका केरा बढी उत्पादन हुने गरेको कार्यालयका प्रविधिज्ञ मोहनलाल फुयाँलले बताए ।

स्थानीय जातका मर्चे, अटिया, कमिले झप्री जातका केरा पनि यहाँ उत्पादन हुने गरेका छन् । उदयपुरमा हाल १४० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । जिल्लाको पूर्वी क्षेत्रमा मात्र झन्डै ७० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको प्रविधिज्ञ फुयाँलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्