झापामा एघार स्थानीय तह, एक उपमहानगर, सात नगर र तीन गाउँपालिका प्रस्ताव

<span class='c1'>झापामा एघार स्थानीय तह, एक उपमहानगर,</span> <span class='c2'>सात नगर र तीन गाउँपालिका प्रस्ताव</span>

झापा,दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ ।

जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्गत झापामा एउटा उपमहानगरपालिका, सात नगरपालिका र तीनवटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङ्ख्यामा सहमति भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले भूगोल र जनसङ्ख्याका आधारमा झापामा ११ वटा स्थानीय तह रहने प्रस्तावमा सहमति जुटाएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजकसमेत रहनुभएका ओझाले बताउनुभयो ।

भूगोल र जनसङ्ख्याका आधारमा झापामा तह निर्धारण गरिएको हो । यसका लागि २०६८ सालको राष्ट्रिय जनगणनालाई जनसङ्ख्याको आधार बनाइएको छ जसअन्तर्गत झापामा दलको सहमतिअनुसार मेचीनगरलाई उपमहानगरपालिका प्रस्ताव गरिएको छ ।

त्यस्तै, अब बन्ने नगरपालिकाको नाम विभिन्न इकाई सम्मिलित गरी वीरता, दमक, भद्रपुर, कनकाई, गौरादह, शिवसताक्षी, अर्जुनधारा नगरपालिका प्रस्ताव गरिएको छ । त्यस्तै, विभिन्न इकाई सम्मिलित भई बन्ने तीन गाउँपालिकाको नाम बाह्रदसी, कचनकवल र कमल प्रस्ताव गरिएको छ ।

एघार स्थानीय तहमध्ये मेचीनगरलाई मेची उपमहानगरपालिका प्रस्ताव गरिएको छ, जसका लागि मेचीनगर, बाहुँनडाँगी, ज्यामिरगढी, धाइजन, दुहागढी र शान्तिनगर इकाई सम्मिलित गरिने प्रस्ताव छ । सो उपमहानगरको केन्द्र इँटाभट्टा प्रस्ताव गरिएको छ । ती इकाई सम्मिलित गर्दा सो उपमहानगरको जनसङ्ख्या एक लाख ३० हजार ३८६ पुग्छ ।

सात नगरपालिकामध्ये बिर्तामोड नगरपालिका र गरामनी गाविस सम्मिलित गराई वीरता नगरपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र बिर्ताबजार रहने प्रस्ताव गरिएको छ भने यसको जनसङ्ख्या ८१ हजार ७७८ रहेको छ ।

लखनपुरसमेत जोडेर दमक नगरपालिका बनाइने र केन्द्र दमकमै रहने प्रस्ताव गरिएको छ जसको जनसङ्ख्या ९५ हजार ५२१ रहनेछ ।

गौरादह, खजुरगाछी र गौरीगञ्ज इकाई सम्मिलित गौरादह नगरपालिकाको केन्द्र गौरादह रहनेछ, त्यसो गर्दा त्यहाँको जनसङ्ख्या ६७ हजार ५३५ पुग्नेछ ।

शिवसताक्षी, धरमपुर र पाँचगाछी इकाई सम्मिलित शिवसताक्षी नगरपालिकाको केन्द्र व्याङ्डाँडा रहने प्रस्ताव छ जसअनुसार त्यहाँको जनसङ्ख्या ६४ हजार ५९६ रहनेछ । साबिक शिवगन्ज गाविसको माईपूर्वको भाग सो स्थानीय तहमा समावेश गरिएको छैन ।

कनकाई नगरपालिका तथा शरणामती, टाघनडुब्बा र कुमरखोद गाविस इकाई सम्मिलित कनकाई नगरपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र चप्रामारी वा शरणामती प्रस्ताव गरिएको र त्यहाँको जनसङ्ख्या ७४ हजार ९९५ पुग्नेछ । त्यसरी बन्ने कनकाई नगरपालिकामा साबिक शिवगञ्जको माईपूर्वको भाग, डाँगीवारीको विरीङ पश्चिमको भाग र शनिअर्जुनको ३ नम्बर वडाको दही झोडासमेत समावेश गर्ने प्रस्ताव गरिएको छ ।

भद्रपुर नगरपालिका, पृथ्वीनगर, जलथल र हल्दिवारी गाउँ सम्मिलित भई भद्रपुर नगरपालिकाको प्रस्ताव गरिएको छ । नगरपालिकाको केन्द्र भद्रपुर रहने प्रस्ताव छ भने जनसङ्ख्या ८६ हजार ८१६ रहनेछ ।

शनिअर्जुन नगरपालिका, बुधवारे र खुदुनावारी सम्मिलित अर्जुनधारा नगरपालिका बनाउने र त्यसको केन्द्र शनिश्चरे बजार रहने प्रस्ताव गरिएको छ । त्यसमा शनिअर्जुन ३ नम्बर वडा दहीझोडा क्षेत्र भने समावेश हुने छैन । त्यसो गर्दा अब त्यहाँको जनसङ्ख्या ८३ हजार १४१ हुनेछ ।

डाँगीवारी, चकचकी, गोलधाप र राजगढ गाविस सम्मिलित गरी बाह्रदशी गाउँपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र चकचकीबजार रहने प्रस्ताव छ भने जनसङ्ख्या ४१ हजार ३०३ हुनेछ । त्यसो गर्दा डाँगीवारीको विरीङ पश्चिमको भाग समावेश गरिनेछैन भने घेराबारी पारिको क्षेत्र समावेश गरिनेछ ।

प्रस्तावित अर्को गाउँपालिका कचनकवलमा घेराबारी, पथरीया, बालुवाडी, केचना, पाठामारी र बनियानी गाविस इकाई सम्मिलित गरिनेछ । त्यसको केन्द्र बनियानी बजार प्रस्ताव गरिएको छ भने जनसङ्ख्या ३९ हजार ५३८ हुनेछ । त्यसमा घेराबारीको विरीङ पारिको क्षेत्र समावेश हुनेछैन ।

तोपगाछी, बैगुन्धुरा, महाभारा र कोरोबारी गाविस सम्मिलित कमल गाउँपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र क्याम्पाबजार हुने प्रस्ताव छ भने त्यहाँको जनसङ्ख्या अब ४२ हजार ४७८ पुग्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्