“अब नेपालमा पनि प्राइभेट सेक्टर अघि बढ्नुपर्छ क्रिकेट विकासमा” – बिबेक दाहाल

“अब नेपालमा पनि प्राइभेट सेक्टर अघि बढ्नुपर्छ क्रिकेट विकासमा” – बिबेक दाहाल

केही दशकदेखि नेपालमा क्रिकेट खेल निकै लोकप्रिय हुदै गएको छ । के गाउँ के शहर , सबै क्षेत्रमा क्रिकेट खेल प्रतिको रुचि भरपुर पाइन्छ नेपालमा पनि । विश्व क्रिकेटको दमदार टोली भारतसंगको सिमा जोडिएको कारणले पनि नेपालमा क्रिकेट लोकप्रिय हुदै गएको अनुमान लगाउन सकिन्छ । नेपाली क्रिकेटले पनि सिमित सेवा सुविधा तथा सरकारको सामान्य सहयोगमा नै विश्व क्रिकेटमा आफ्नो नाम क्रिकेटमा उदाउँदो टोलीको रुपमा चिनाउन सफल भईसकेको छ । यसमा हामी नेपालीले गर्व गर्नुपर्छ । न कुनै सरकारी स्तरको खेलकुद हेर्ने निकायको प्लान , न कुने अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान , न खेलाडीलाई उचित जीवन धन्न चाहिने आर्थिक सहयोग यस्तै-यस्तै कुराबाट बञ्चित हुदाहुदै पनि नेपाली खेलाडीले आफ्नो सीप र जाँगरले नेपाललाई विश्वकप २०-२० सम्म पुगाउन सफल भएका छन् ।

नेपाली  क्रिकेट सधैं यसरी कति दिन चल्न सक्ला र? भोको पेट खेलाडीको खेल कहिले सम्म टिक्न सक्ला र ? हुन त नेपालमा क्रिकेट विकास गर्ने निकाय नभएको हैन तर उक्त निकाय सधैं राजनीतिक भर्ना तथा आन्तरिक विवादमा नै रुमलिरहेको छ ।
नेपालको क्रिकेट हेर्ने निकाय क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को बारम्बारको विवादका कारण क्रिकेटको उच्च निकाय आईसीसीले नेपाली क्रिकेट बोर्डलाई अहिले खारिज नै गरेको छ । यस्तो लाजमर्दो अवस्थामा पनि क्रिकेट क्षेत्रका निकायमा अझै गम्भीरता देखिएको छैन । मलाई लाग्छ सरकारको मात्रै यसमा जिम्मेवारी नभई नेपालका निजी कम्पनीहरुले पनि क्रिकेट विकासमा हात हाल्नु जरुरी छ ।

भारत , अस्ट्रेलिया लगायतका विश्व क्रिकेटका हस्ती देशहरूमा निजी क्षेत्रका कम्पनीहरुको ठुलो सहयोग छ । इन्डियन प्रेमियर लिग (आईपिएल) विश्वभर लोकप्रिय र सफल हुनुमा भारतीय निजी कम्पनीको सहयोगको ठुलो हात छ । विभिन्न निजी कम्पनीको सम्झौता र आर्थिक सहयोग  बिना आईपिएल आजको जस्तो हिट हुने थिएन । भारतीय निजी विजनेस हाउसको योगदानले नै आज क्रिकेट अलावा फुटबल , कब्बडी , ब्याडमिन्टन जस्ता खेलमा भारत बलियो हुदै गएको छ । निजी क्षेत्रको प्रवेशले सम्पुर्ण खेल जगतमा नयाँ उर्जा उत्पन्न भएको छ भारतमा ।

नेपालको निजी क्षेत्रको खेलमा योगदानको इतिहास  हेर्ने हो भने ज्यादै सन्तोषजनक छैन । केही बिजनेस हाउस (वाईवाई , नेपाल टेलिकम, आदि ) ले साथ दिएपनि अन्य कर्पोरेट सेक्टरको उपस्थिति न्यून रहेको छ । केही वर्ष यता भने नेपालमा पनि विजनेस सेक्टरले खेल क्षेत्रलाई पनि समेटेका छन् तर अझै पर्याप्त भने भएको छैन । एभरेस्ट प्रेमियर लिगको नाममा जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल मै अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता जारी रहेको छ । यस्ता प्रतियोगिताले खेलाडीलाई उचित अभ्यासको मौका तथा आर्थिक रुपमा सबल हुन समेत मद्दत गर्नेछ । सरकारको अत्यन्त न्यून वार्षिक बजेट तथा खेलमा राजनीतीको प्रवेशले क्रिकेटलाई अझ कमजोर बनाउदैछ । यस्तो अवस्था निजी क्षेत्रले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटि (सामाजिक उत्तरदायित्व) को हिसाबले पनि खेल क्षेत्रमा लगानी गर्न अगाडि आउनुपर्छ , नेपालमा बढिरहेको क्रिकेट प्रेमीको क्रेज हेर्न हो भने खेल क्षेत्रक‍ो आयोजना तथा प्रायोजनबाट पनि बजारीकरणमा ठुलो योगदान हुन सक्छ  । भारतमा आईपिएलले यसलाई पुष्टि गरिसकेको छ । आज आईपिएलको प्रायोजक बन्न अर्बौं रुपैयाँ खर्च गर्न कम्पनीहरु तयार रहेका छन् । नेपालमा पनि निजी क्रिकेट अभ्यास गराउने संस्था कम्तिमा पनि हरेक ठुला सहर जहाँ क्रिकेटको सम्भावना रहेको छ त्यहा खोलीनुपर्छ ।

केही दशक अघि सम्म क्रिकेटमा लागेर भविष्य छैन भन्ने अवस्था थियो भने आजसम्म आईपुग्दा त्यो अवस्थामा सुधार आएको छ । निजी तथा गैरआवासीय नेपालीहरुको सहयोगमा नेपाली खेलाडीहरुलाई पनि विदेशमा गई अभ्यासको वातावरण बन्दै गएको छ । भर्खरै अस्ट्रेलियाका कप्तान समेत बनिसकेका माईकल क्लार्कले नेपाली युवा खेलाडी सन्दिप लामिछानेलाई अस्ट्रेलियामा आफ्नो क्लबबाट खेल्न आमन्त्रण गरेका छन् , यो नेपाली क्रिकेटको ठुलो सफलता हो । यसरी नै सबै क्षेत्रबाट खेलाडीलाई एस्पोजर तथा लगातार अभ्यासको वातावरण मिल्ने हो भने नेपालको क्रिकेट क्षेत्रमा निकै राम्रो सफलता हात पर्नेमा कुनै शंका छैन ।

क्रिकेट विकासका लागि सरकारले खटाएका संस्था तथा व्यक्तित्वहरुले मनै देखि यस क्षेत्रको बिकासका लागि खट्ने हो भने क्रिकेट खेलले नेपालीहरुलाई एकतामा बाड्ने मात्रै होइन नेपालको नाम विश्वमा चिनाउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्