अमेरिका र परिवर्तन – मान्सी दाहाल

अमेरिका र परिवर्तन – मान्सी दाहाल

 

अब शरद ऋतुको सुन्दरता कथामा मात्र सीमित थिएन । यहाँका रूखहरूले साँच्चै रङ बदलिरहेका थिए । तर ती पातहरूमा भन्दा आफ्नो जीवनमा आउने परिवर्तनको लहरले मलाई कस्तो महसुुस गराउने हो ? भन्ने कुरामा म बढी केन्द्रित थिएँ । कताकता उत्साहित पनि ।

अमेरिकाका गगनचुम्बी महलहरूले मलाई रोमाञ्चित पार्न सकेनन् । म अचम्भित थिएः मान्छेहरूको रफ्तार देखेर । सबैलाई भ्याइनभ्याइ थियो । यन्त्रझैं सबै दौडिरहेका थिए ।

कहिल्यै कुरा गरेर नभ्याउने म, यहाँ भने कसैलाई आफ्नो बकम्फुसे गफ सुनाउने आँट गर्न सकिरहेकी थिइनँ । समय खेर नफाल्ने बानी र लगनशीलनाले गर्दा नै यहाँका मानिसले सफलताको शिखर चुमेको हो भनेर आफूलाई सम्झाउन खोज्थेँ ।

त्यही व्यस्तताबाट एकैछिन समय निकालेर रमाइलो गर्नुमै त जीवनको सुन्दरता छ भनेर मेरो चञ्चल मनले सधैं झैं मेरो परिपक्वतालाई झस्काइदिन्थ्यो ।

‘परीक्षामा आएका अंकहरूले मलाई कहिल्यै खुसी पारेनन् तर मैले बटुलेका मीठा सम्झनाहरूले सधैं मेरो ओठमा मुस्कान छर्ने गर्दछन्', एपीजे अब्दुल कलामका पंक्तिहरूभन्दा प्रिय आजसम्म मलाई अरू कुनै पंक्ति लागेनन् । सायद त्यही भएर होला भविष्यको बारेमा केही थाहा नभए पनि वर्तमानमा आफूलाई प्रफुल्लित पार्न पोख्त छु।

आफ्नो मनोवादमा रमाउन थालेँ भने त वर्षौं बित्ला, नभौंतारिकन अमेरिकाको सन्दर्भमा फर्किन्छु । कलेजमा थुप्रै मानिसहरूले मलाई कुन देशबाट आएको भनेर सोध्ने गर्थे । यही प्रश्न हजारपटक सोध्दा पनि मलाई वाक्क लाग्दैनथियो, वाक्क त त्यतिबेला लाग्थ्यो जब गर्वसाथ नेपाल भनेपछि उनीहरूले नबुझको झैं गरी अपत्यारिलो अनुहारको भाव देखाउँथे ।

एकचोटि युवाहरू बिदेसिएपछि नेपाल फर्किंदैनन भनेर मानिसहरूले लख काटे पनि ममा देशभक्तिको भाव भरिएको छ । त्यही भएर म आफूभित्रको सबै फूर्ति जम्मा गरेर उनीहरूलाई नेपालको व्याख्या गर्ने गर्थें। एकजनाले त मलाई नेपालमा इन्टरनेट पनि हुन्छ भनेर सोधेका थिए । सुरुमा झनक्क रिस उठे पनि उनीहरूको अज्ञानतालाई हटाएर नेपालकै राम्रो छवि बनाउने जिम्मा मेरो हातमा पनि छ भनेर उनीहरूलाई नेपालबारे राम्रोसँग वर्णन गर्थें । कतिले मैले भनेकै भरमा ‘नेपालको भ्रमण अवश्य गर्छु' भन्दा मलाई आनन्द लाग्थ्यो ।

साथीहरूले मौसमको तापक्रम कुनै कुराको तौल र कतै पुग्ने दुरीको कुरा गर्थे, म एक्कै छिन चुप्प लाग्थेँ । कारण मलाई ति कुराहरूमा रुचि नभएको होइन तर मलाई फरेनहाइटलाई सेल्सेसमा, पाउन्डलाई किलोग्राममा र माइललाई किलोमिटरमा परिणत गर्न समय लाग्थ्यो ।

गणितमा ग्राफ बनाएको नबुझ्दा साथीहरूले ‘क्याल्कुलेटरमा हाल्ने त हो नि' भन्थे । नेपालमा त्यस्तो ग्राफ बनाउने क्याल्कुलेटर मैले कहिल्यै नदेखेर होला दिमागले त्यो धर्का कसरी माथि तल गयो भनेर नबुझिन्जेल मलाई आनन्दसँग बस्न दिँदैन थियो । घरीघरी मेरो कक्षामा सहपाठीहरूले निक्कै सजिलो प्रश्न सोध्ने गर्थे । जसको उत्तर सायद नेपालमा कक्षा ५ मा पढिरहेको विद्यार्थीले नै दिन सक्थे । मलाई अचम्म लाग्ने गथ्र्यो किन हामी पछाडि र यिनीहरू अगाडि ?

साँच्चै भन्ने हो भने प्लस टुको मोटामोटा किताब पढेर होला मलाई यहाँ पढेको जस्तो पनि लाग्दैनथियो । ‘हामी किन पछाडि ? ' भन्ने प्रश्नको उत्तर मैले बिस्तारै पाउन थालेकी थिएँ । नेपालमा जस्तो तीनघन्टे जाँचलाई भन्दा यहाँ व्यावहारिक रूपमा ज्ञान बटुल्ने क्रमलाई प्राथमिकता दिइन्थो ।

आफूले पढाइको दबाब महसुस नगरे पनि दुई महिनामात्र अर्थशास्त्र पढेकै भरमा मैले दैनिक जीवनमा अर्थशास्त्रीको जसरी सोच्न सुरु गरेकी थिएँ । हो त्यो अर्थशास्त्रीको सोच निक्कै काँचो होला तर मैले कमसेकम सोच्न थालेकी थिएँ जुन नेपालमा हुँदा कहिल्यै गरिन ।

कमी सायद ममा नै होला जसले गर्दा नेपालको पढाइलाई मैले जीवनमा उतार्न सकिन तर यहाँ खेलेकै जसरी पढ्दा र मोटा किताब कण्ठ गर्न नपर्दा, दिमागले खुल्ला पङ्ख फिजाएर उड्न पाइरहेको थियो । यसको आनन्द पनि भिन्दै थियो । नेपालमा परीक्षा आउनु अगाडि विद्यार्थीलाई दिनरात पढ्नमात्रै अपेक्षा गरिन्छ ।

यहाँ भने मेरो जाँच अगाडि विद्यार्थीलाई तनाव नहोस् भनेर विभिन्न खे, स्वादिष्ट खानेकुरा र मसाजको व्यवस्था गरिएको थियो । त्यो देखेर मलाई निक्कै रमाइलो लागिरह्यो । नेपालमा परीक्षाभन्दा अगाडि मनोरञ्जनका लागि बाबुआमासँग अनुमति मग्ने आँट कमैले गर्लान् ।

नेपालमा पलेँटी मारेर हातले दालभात खाएको भित्री सन्तुष्टिलाई यहाँको कुनै झिल्के परिकारले मात गर्न सक्दैन तर नेपालको शिक्षण प्रणालीमा रहेको कमी कमजोरीहरूलाई म नकार्न चाहन्न । नेपालमा हासिल गरेको शिक्षाले नै म यहाँ आएर विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छु, मलाई त्यसमा गर्व लाग्छ तर नेपालमा विद्यार्थी जीवनमा पढाइमात्र सबै थोक हो भनेर दिइने दबाबले थुप्रै विद्यार्थीले अमूल्य सीपहरू गुमाउने गर्छन् ।

ती सीपहरूसँगै उनीहरू आफ्नो जीवनको सुनौला दिनहरू पनि गुमाउने गर्छन् । आफ्नो मुलुकको कमी कमजोरीलाई औंल्याउन सक्नु नै त्यसलाई सच्याउनु अघिको महत्वपूर्ण पाइला हो । त्यही भएर मलाई हामी यो कुरामा अगाडि र यो कुरा मा पछाडि छौं भन्नेमा कुनै हिच्किचाहट लाग्दैन ।

सुरुसुरुमा मेरा अमेरिकी साथीहरूले मलाई बोलाउँदा म ‘हजुर' भन्ने गर्थे । त्या ‘हजुर' विस्तारै ‘यस'मा कहिले परिणत भयो मैले पत्तै पाइन । चार महिना नहुँदै ममा धेरै परिवर्तन आए र आउने चार वर्षमा झन् कति परिवर्तन आउने हो, म भन्न सक्दिनँ तर यी परिवर्तनहरूले मलाई बलियो र आत्मनिर्भर बनाउनेछन् भन्नेमा म आश्वस्त छु ।

 

-अन्नपुर्ण पोस्टमा शनिवार, मंसिर २५, २०७३ प्रकासित (साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्