झापामा नयाँ ग्यास उद्योग खुल्यो

झापामा नयाँ ग्यास उद्योग खुल्यो

२७ मंसिर, झापा । पूर्वमा खाना पकाउने ग्यासको आपुर्तिमा सहजता ल्याउन झापा जिल्लामा चौथो ग्यास उद्योगका रुपमा पाथिभरा ग्यास उद्योगले उत्पादन सुरु गरेको छ ।

झापाको विर्तामोड-२, चारपानेमा पाथिभरा ग्यास उद्योग प्रा.लि. शनिबारबाट सञ्चालनमा आएको हो । योसँगै जिल्लामा ग्यास उद्योगको सङ्ख्या ४ पुगेको छ ।

यसअघि मेची, त्रिशक्ति/पराजुली र कनकाई ग्यास सञ्चालित थिए । मेची ग्यास उद्योग, दुवागढीमा रहेको छ भने त्रिशक्ति/पराजुली ग्यास, भद्रपुर र कनकाई ग्यास उद्योग, गौरादहमा छ ।भर्खरै सञ्चालनमा आएको पाथिभरा ग्यास उद्योगका प्रबन्ध निर्देशक लय भण्डारी हुन् भने सञ्चालक समितिका अध्यक्ष एकराज उप्रेती हुन् ।

झापाको जनसङ्ख्यालाई मात्र हेर्ने हो भने ४ वटा ग्यास उद्योग अत्याधिक भएको विज्ञ बताउँछन् ।

‘झापामा ग्यास उद्योगको सङ्ख्या अब अत्याधिक भइसक्यो’, त्रिशक्ति/पराजुली ग्यासका प्रबन्ध निर्देशकसमेत रहेका नेपाल एलपी ग्यास उद्योगका केन्द्रीय सदस्य आदित्य पराजुली भन्छन्, ‘जनसङ्ख्याको आधारमा उद्योगको सङ्ख्या धेरै हो ।’

विज्ञहरुले जनसङ्ख्याको आधारणमा ग्यास उद्योगको सङ्ख्या धेरै भएको बताएपनि झापामा अन्य विभिन्न जिल्लाबाट ग्यासका सिलिण्डर भित्रने गरेका छन् ।झापामा अहिले मोरङको कोशी र रिजाल ग्यास, सुनसरीको पि्रमा र सुविधा ग्यास खपत हुने गरेको छ ।

झापामा नै ग्यास उद्योग पर्याप्त भएको भए किन अन्यत्रबाट सिलिण्डर भित्रिइरहेका छन् त ? पुनः पराजुली भन्छन्, ‘ती ग्यासहरु पुराना हुन् । त्यसैले प्रयोग भइरहेका छन् ।’

उनी अब चाँडै अन्य जिल्लाबाट आएका ग्यासहरु विस्थापित हुँदै जाने बताउँछन् । केही वर्षअघि सम्म झापामा धेरै प्रयोग गरिएको विरगञ्जको मनोज ग्यास अहिले प्रयोग हुन छोडिसकेको तर्क गर्दै उनी भन्छन्, ‘अन्य ग्यासहरु पनि विस्तारै विस्थापित हुने क्रममा छन् ।’

‘पूर्वाञ्चलमा ग्यास उद्योगहरु अधिक भए । सुदूरपश्चिममा चाइएको जति ग्यास छैन, यहाँ अत्याधिक भइसक्यो’, पराजुलीले भने । पूर्वमा ९ वटा ग्यास उद्योग छन् ।

नेपाल आयल निगमले झापामा प्रतिमहिना १० देखि ३५ बुलेटसम्म ग्यास पठाइरहेको छ । उद्योग अनुसार कोटा कायम गरेर निगमले बुलेट पठाउँछ ।
‘अहिले आइरहेको ग्यासको अनुपात त पर्याप्त नै हो’, कनकाई ग्यासका निर्देशक नगेन्द्र भण्डारी भन्छन्, ‘तर, महिनैपिच्छे कोटा फेरिँदा समस्या हुन्छ ।’एक बुलेट बराबर १२ सय सिलिण्डर हुन्छ । झापाका ३ वटा ग्यास उद्योगमा तयार गरिएको सिलिण्डर अहिले झापासहित मोरङ, सुनसरी र पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, खोटाङ लगायतमा खपत हुँदै आएको छ ।शनिबारदेखि सञ्चालनमा आएको पाथिभरा ग्यास उद्योग २ विघा क्षेत्रफलमा फैलिएको छ । करिब १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको छ ।‘पूर्वाञ्चलभरिका जिल्लाहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएका हौं’, प्रबन्ध निर्देशक लय भण्डारीले भने ।अहिले उद्योगले १ सय मेटि्रक टन ग्यास स्टक राख्न सक्छ । एक वर्षभित्रमा क्षमता विस्तार गर्ने योजना सञ्चालकहरुको छ ।चाँडै नै सरकारको मापदण्ड बमोजिम ५ हजार मेटि्रक टन ग्यास स्टक गर्न सकिने पूर्वाधार तयार गरिने बताइएको छ ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्