ताप्लेजुङमा दुई दिनदेखि विद्युत अबरुद्ध

ताप्लेजुङमा दुई दिनदेखि विद्युत अबरुद्ध

४ पुस, ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत अबरुद्ध भएको छ । चिसोको समयमा विद्युत अबरुद्ध हुँदा स्थानीय बढी मर्कमा परेका छन् ।

पाँचथर-ताप्लेजुङ खण्डको प्रसारण क्षेत्रमा खराबी आएकाले ताप्लेजुङमा शनिवार दिउँसोदेखि विद्युत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ शाखाले बताएको छ । विद्युत अबरुद्ध हुँदा कलकारखाना, उद्योग र स्थानीय रेडियो स्टेसनहरु बढी प्रभावित बनेका छन् ।

दुई दिनदेखि विद्युत अबरुद्ध भएपछि सदरमुकाम स्थित इलेक्ट्रोनिक पसलमा मोवाईल चार्ज गर्नेको चाप पढेको छ । विद्युत अबरुद्ध भएपछि सदरमुकामका ईलेक्ट्रोनिक पसल, कलकारखाना र रेडियोहरु जेनेरेटर चलाएर सञ्चालन भइरहेको स्थानीय रेडियो तमोरका स्टेसन म्यानेजर सजन पौडेलले बताए ।

कात्तिक महिनामा पाँचथर हुँदै ताप्लेजुङमा जोडिएको केन्द्रीय प्रसारण लाइनको विद्युत प्रसारण क्षेत्र लामो भएकाले भएको अबरोध पत्ता लगाई मर्मत गर्न पनि लामो समय लाग्ने गरेको छ ।

पाँचथर-ताप्लेजुङ प्रसारण क्षेत्रमा ठूला पहाड र जंगल रहेकाले आइतबार आँखाले हेरेको भरमा अबरोध पत्ता नलागेको र आज मेसिनको प्रयोग गरी अबरोध पत्ता लगाउने काम भइरहेको विद्युत प्राधिकरणका कर्मचारी सूर्यप्रकास वनेमले बताए ।

नेपाल विद्युत प्राधिकरणले ताप्लेजुङमा विद्युत वितरण गरेपनि आˆनो कार्यालय र सवारी साधनसहित कर्मचारी नराख्दा विद्युत अबरुद्ध हुँदा समयमा काम हुन नसकेको स्थानीयको गुनासो छ । पाँचथर र ताप्लेजुङको प्रसारण क्षेत्र समेत इलाममा रहेको प्राधिकरणको कार्यालयले हेर्दै आएको छ ।

इलामबाटनै ताप्लेजुङ सम्मको क्षेत्र हेर्न सम्भव नरहेकाले ताप्लेजुङमा कर्मचारी र सवारी साधनसहित कार्यालय स्थापना गर्न केन्द्रमा जानकारी गराए पनि निर्णय भने हुन नसकेको नेपाल विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख सिताराम सिग्देलले बताए ।

अहिले ताप्लेजुङको प्रसारण हेर्न यसअघिको साना जलविद्युत आयोजनाका कर्मचारीलाई नै जिम्मा दिइएको छ । उनीहरुले नै ग्राहकबाट विद्युत महशुल उठाउने र प्राधिकरणलाई बुझाउने काम गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्