भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल विर्ता युनाइटेड झापा ११ र सेरक्लब कालिङपोङ भारतबीच हुँदैछ । यता शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले विजय सुरूवात गरेको छ । जारी प्रतियोगितामा ताप्लेजुङले साइनो स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गरेको हो । ताप्लेजुङका लागि खेलको दोस्रो हाफमा खमिर गिल्सन कन्दङ्वा लिम्बूले निर्णायक गोल गरे । निर्धारित समयसम्म थप गोल हुन नसकेपछि नतिजा ताप्लेजुङको पक्षमा पर्न गयो । खेलको म्यान अफ दि म्याच मोरङका वुद्धिमान राई घोषित भए । उनले नगद ५ हजार रुपैँया प्राप्त गरे । पुष २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद २ लाख ५० हजार नगद ट्रफी मेडल साथै उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।