इंग्ल्यान्डविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । आइतबार राती नागपुरमा भएको दोस्रो टि – ट्वान्टी क्रिकेटमा भारतले इंग्ल्यान्डलाई ५ रनले पराजित गरेको हो ।
भारतले दिएको १४५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । भारतले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा क्रममा इंग्ल्यान्डका जोय रुट र बेन स्टोक्सले समान ३८ – ३८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन । त्यस्तै इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १७ तथा जोस बट्लरले १५ रङ बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो । भारतका लागि लोकेश राहुलले ७१ रनको अर्धसताकिए पारी खेले । त्यस्तै मनिस पाण्डेले ३० रनको योगदान दिँदा कप्तान बिराट कोहलीले २१ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए ।
दोस्रो टि – ट्वान्टीको जितसंगै भारतले इंग्ल्यान्डबिरुद्धको तीन खेलको टि ट्वान्टी सिरिज १ – १ को बराबरी बनाउन सफल भएको छ । तेस्रो तथा अन्तिम टि–ट्वान्टी आगामी बुधबार बैंगलोरमा हुनेछ । भारत भ्रमणमा रहेको इंग्ल्यान्डले यसअघि घरेलु टोलीबिरुद्धको टेष्ट र एक दिवसीय सिरिज गुमाएको थियो ।