विवादमा सौन्दर्य प्रतियोगिता, दोषी को हो ? – भूमिका पाख्रिन

विवादमा सौन्दर्य प्रतियोगिता, दोषी को हो ? – भूमिका पाख्रिन

– भूमिका पाख्रिन

bhumika-pakhrinराजधानी केन्द्रित सौन्दर्य प्रतियोगिताहरु केही वर्षदेखि पूर्वमा समेत सक्रियताका साथ सम्पन्न भइरहेका छन् । छिटो चर्चा पाउनुका साथै मोडलिङ क्षेत्रमा प्रवेश गर्न केहीमात्रामा भएपनि सहज हुने भएकै कारण यस क्षेत्रप्रति युवायुवतीहरुको आकर्षण दिनानुदिन बढ्दो छ । हुन त यस्ता प्रतियोगिताले व्यक्तित्व विकासलाई समेत टेवा दिने भएकै कारण सौन्दर्य प्रतियोगिताको माग पूर्वमा बढेको केहीको तर्क छ । यद्धपी सौन्दर्य प्रतियोगिता गर्नेहरुको होडबाजी चलेसँगै विगतका तुलनामा केही मात्रामा भएतापनि यस्ता प्रतियोगिताहरुको गुस्तरीयतामा सुधार आएको देख्न सकिन्छ । भर्खरै सम्पन्न मिस कोशी सौन्दर्य प्रतियोगितामा आयोजकले पैसा मागेर विजेता बनाउने प्रस्ताव प्रतियोगीलाई राखेको कुरा बाहिरिएसँगै यस विषयले पूर्वमा खलबली मच्चाएको छ । हुन त सौन्दर्य प्रतियोगिताहरुमा यो घटना नौलो भने हैन, तर प्रतिस्पर्धीहरुले विभिन्न आरोप लगाउदै जील्ला प्रशासन कार्यालय मोरङमा उजुरी नै दर्ता गराएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न चर्चा परिचर्चा सुरु भइरहेको छ । सौन्दर्य प्रतियोगितामा यस्ता घटनाहरु किन दोहोरिरहन्छन् ? सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु जरुरी छ । दुइचार दिन मिडियामा छाउन र मिस फलानो भनेर ट्याग भिर्नु भन्दा पनि सर्वप्रथम आफू सक्षम र सबल बन्नु महत्वपूर्ण कुरा हो । साथै यस्ता प्रतियोगिता आयोजना गर्न के कस्ता प्रावधान छन् ? मापदण्ड के छ ? निति नियम के छन् ? यसका विषयमा केहीलाई छोडेर हेर्ने हो भने कतिपय आयोजकहरु नै यस विषयमा जानकार रहेको पाउँदैनौ । आफू र आफ्नो व्यवसायलाई माथि उठाउन कै लागिपनि कतिपय आयोजकहरु यस्ता प्रतियोगिता गराउन तल्लिन रहेको आरोप पनि बेला–बेला लाग्ने गरेको छ । आयोजकहरुले समेत यस्ता प्रतियोगितालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिदँै विवादरहित वातावरणमा प्रतियोगिता सम्पन्न गर्न जरुरी छ । साच्चै भन्नुपर्दा चर्चित मेकअप आर्टिस्ट, दक्ष क्यामेराम्यान अनि नाम चलेका तारे होटलमा फोटो खिचाएपछि आफूलाई मोडल सम्झिनेको जमात ठुलै छ भन्दा अतियुक्ति नहोला । यदि, यसरी नै पूर्वमा विशेषगरी विराटनगरमा सौन्दर्य प्रतियोगिताको बाढी आउने हो भने एक दिन मिस ट्राफिक चोक, मिस कञ्चनबारी, मिस बरगाछी, मिस पान्चाली, मिस पिचरा लगायत प्रतियोगिता आयोजना हुँदैछ भनेको सुन्दा अचम्म नमाने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्