५ सय जनसंख्या भएको गाउँपालिका – खेमचन्द्र अधिकारी

५ सय जनसंख्या भएको गाउँपालिका – खेमचन्द्र अधिकारी

[caption id="attachment_29869" align="alignleft" width="300"] लेखक: खेमचन्द्र अधिकारी[/caption]

सरकारले फागुन २७ गतेदेखि ७ सय ४४ वटा स्थानीय तह रहने गरी स्थानीय तहको पुनर्संरचना गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई केही परिमार्जन गरी सरकारले फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी ४ सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र ४ वटा महानगरपालिकाको नाम, संख्या, सिमाना तथा वडा निर्धारण गरेको छ । नयाँ घोषित स्थानीय निकायमध्ये जनसंख्याको आधारमा सबैभन्दा साना १०÷१० वटा नगरपालिका र गाउँपालिका तथा नगरपालिकाको भन्दा बढी जनसंख्या भए पनि नगरपालिका हुन नसकेका १० वटा गाउँपालिका यहाँ प्रस्तुत गरिएको छ । सानो नगरपालिकामा भन्दा ७ गुणा बढी जनसंख्या ठूलो गाउँपालिकामा रहेको छ ।
सबैभन्दा कम जनसंख्या रहेको नगरपालिका डोल्पाको ठुलीभेरी नगरपालिका हो । ८ हजार ३ सय ७० जनसंख्या र ४ सय २१ दशमलव ३४ वर्ग किमी क्षेत्रफल भएको यस नगरपालिकामा ११ वटा वडा रहेका छन् । दुनै, माझफल, जुफाल, रह गाविस मिलाएर यो नगरपालिका बनाइएको छ ।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाकोे जनसंख्या १० हजार १ सय ४ रहेको छ । ३ सय ९३ दशमलव ५४ वर्ग किमी क्षेत्रफल र ११ वटा वडा रहेको यो नगरपालिका त्रिपुराकोट, सूँ, ल्हाँ, पहाडा र लिकु गाविस गाभेर बनाइएको हो ।
त्यस्तै, संखुवासभाको मादी नगरपालिकाको जनसंख्या १४ हजार ४ सय ७० मात्रै रहेको छ । १ सय १० वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा ९ वटा वडा रहेका छन् ।
कालिकोटको तिलागुफा नगरपालिकाको जनसंख्या १५ हजार ७ सय ६६ रहेको छ । यस नगरपालिकामा ११ वटा वडा रहेका छन् ।
कालिकोटकै रास्कोट नगरपालिकामा १६ हजार २ सय ७२ जनसंख्या र ९ वटा वडा रहेका छन् । ५९ दशमलव ७३ वर्ग किलोमिटर क्षेत्रफलमा यो नगरपालिका फैलिएको छ ।
बाजुराको बडिमालिका नगरपालिकाको जनसंख्या १६ हजार ८ सय १८ रहेको छ । ९ वटा वडा रहेको यो नगरपालिकाको क्षेत्रफल २ सय ७६ वर्ग किलोमिटर रहेको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाको जनसंख्या १६ हजार ९ सय ७० रहेको छ । ९० दशमलव २७ वर्ग किलोमिटर क्षेत्रफल भएको यस नगरपालिकामा ९ वटा वडा रहेका छन् ।
संखुवासभाको पाँचखपन नगरपालिकाको जनसंख्या १७ हजार ५ सय २१ रहेको छ । स्याबुन, वाना र जलजला गाविस समेटिएको यस नगरपालिकाको क्षेत्रफल १ सय ४८ दशमलव ३ वर्ग किलोमिटर रहेको छ ।
संखुवासभाकै धर्मदेवी नगरपालिकाको जनसंख्या १८ हजार २ सय ३५ रहेको छ । आँखीभुइँ, माम्लिङ र तामाफोक गाविस समेटेर बनाइएको यो नगरपालिकामा ९ वटा वडा रहेका छन् जसको क्षेत्रफल १ सय ३२ दशमलव ८२ वर्ग किलोमिटर रहेको छ ।
जनसंख्याको आधारमा दसौं सानो नगरपालिका बाजुराको त्रिवेणी हो । १८ हजार ३ सय ६३ जनसंख्या र ९ वटा वडा रहेको यो नगरपालिकाको क्षेत्रफल १ सय ७० दशमलव ३२ वर्ग किलोमिटर रहेको छ ।
यसरी जनसंख्याको आधारमा साना १० वटा नगरपालिकामध्ये ३ वटा संखुवासभामा रहेका छन् । बाजुरा, कालिकोट र डोल्पामा २-२ वटा रहेका छन् भने तेह्रथुममा एउटा रहेको छ ।
२० हजारभन्दा कम जनसंख्या रहेका अन्य ३ वटा नगरपालिका रहेका छन् । ती नगरपालिकामध्ये लमजुङको राइनासको जनसंख्या १८ हजार ५ सय २७ रहेको छ । बाजुराको बुढीनन्दा नगरपालिकाको जनसंख्या १८ हजार ६ सय ७६ र तेह्रथुमको म्याङलुङ नगरपालिकाको जनसंख्या १९ हजार ६ सय ५९ रहेको छ ।

यसरी २० हजारभन्दा कम जनसंख्या भएका १३ वटा नगरपालिका हुँदा जनसंख्याको आधारमा ठूलो गाउँपालिकातर्फ भने ६० हजारसम्म जनसंख्या भएको देखिन्छ । यस्ता गाउँपालिका बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, सर्लाही, महोत्तरी, रौतहट जिल्लामा रहेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो । ५९ हजार ९ सय ४६ जनसंख्या रहेको यो गाउँपालिका १ हजार ४१ दशमलव ७३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गाविस समावेश गरी बनाइएको यस गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।
बाँकेकै बैजनाथ गाउँपालिकामा ५४ हजार ४ सय १८ जनसंख्या रहेको छ । १ सय ४१ दशमलव ६७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा चिसापानी, नौबस्ता, वनकटवार, टिटिहिरिया गाविस मिलाइएको छ । यसमा ८ वटा विभाजन गरिएको छ ।
बाँकेकै खजुरा गाउँपालिकाको जनसंख्या ५० हजार ९ सय ६१ रहेको छ । १ सय १ दशमलव ९१ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिकामा रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर गाविस मिलाइएको छ । ८ वडा यस गाउँपालिकामा रहेका छन् ।
प्रसिद्ध बढैया तालको नामबाट नामकरण गरिएको बढैया ताल गाउँपालिका धेरै जनसंख्या रहेको चौथो ठूलो गाउँपालिका हो । ४७ हजार ८ सय ६८ जनसंख्या रहेको यस गाउँपालिकाको क्षेत्रफल १ सय १५ दशमलव १९ वर्गकिलोमिटर रहेको छ । ९ वटा वडा रहेको यस गाउँपालिकामा जमुनी, सोरहवा, मैनापोखर र कालिका गाविस समावेश छन् ।
रुपन्देहीको गैडहवा गाउँपालिका जनसंख्याको आधारमा पाँचौ ठूलो गाउँपालिका हो । ४७ हजार ५ सय ६५ जनसंख्या र ९६ दशमलव ७९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा गाविस समेटिएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको जनसंख्या ४८ हजार २ सय १८ रहेको छ । ८८ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ८ वटा वडा रहेका छन् । पकडी अभिराव, फुलिका, पिपरा, बलुह्वा, डुमरा, हरनामपुर र बिजुवा बनगाई गाविस समेटिएर यो गाउँपालिका बनाइएको छ ।
कपिलवस्तुमा मायादेवी गाउँपालिका भएजस्तै रुपन्देहीमा पनि मायादेवी नामकै गाउँपालिका रहेको छ । जुन जनसंख्याको आधारमा सातौं ठूलो गाउँपालिका हो । ४७ हजार १ सय ९६ जनसंख्या रहेको र ७२ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा धमोली, कम्हरिया, गोनहा र हाटीबनगाई गाविस समावेश गरिएको छ ।
आठौं ठूलो गाउँपालिका सर्लाहीको चक्रघट्टा गाउँपालिका हो । ४६ हजार ८ सय ५ जनसंख्या रहेको यसको क्षेत्रफल ४३ दशमलव ३६ वर्गकिलोमिटर रहेको छ । कौडेना, मोतिपुर, औरही, खोरिया, सलेमपुर, सोहडवा, बेल्ही, सुन्दरपुर गाविस समावेश गरी निर्माण गरिएको यस गाउँपालिकामा १३ वटा वडा रहेका छन् ।
महोत्तरीको भंगाहा गाउँपालिका नवौं ठूलो गाउँपालिका हो । ४६ हजार ७ सय ५४ जनसंख्या रहेको र ७७ दशमलव २१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा भंगाहा, हातीसरवा, सिंगयाही, मेघनाथ गोरहन्नाह, धरमपुर र हरियारपुर हरिनमरिन गाविस समेटिएका छन् । गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।
रौतहटको गुजरा गाउँपालिका जनसंख्याको आधारमा दसौं ठूलो गाउँपालिका हो । ४६ हजार ५ सय ९२ जनसंख्या र १ सय ५० दशमलव ३३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा रंगपुर, कनकपुर, लक्ष्मीपुर दोस्तिया, प्रतापपुर पल्टुवा र सिमरा भवानीपुर गाविस समेटिएका छन् । यस गाउँपालिकामा पनि ९ वटा वडा रहेका छन् ।
जनसंख्याको आधारमा ठूला गाउँपालिकामा सबैभन्दा बढी बाँकेमा ३ वटा रहेका छन् । त्यस्तै, रुपन्देहीमा २ वटा तथा बर्दिया, रौतहट, महोत्तरी, सर्लाही र कपिलवस्तुमा १-१ वटा छन् ।
कम जनसंख्या हुने गाउँपालिका
जनसंख्याको आधारमा ६० हजार जनसंख्या रहेको गाउँपालिका सबैभन्दा ठूलो रहेको छ भने सबैभन्दा सानो गाउँपालिकाको जनसंख्या भने ५ सय ३८ मात्रै रहेको छ ।
मनाङको नार्फु गाउँपालिकाको जनसंख्या ५ सय ३८ छ । साबिकका नार र फु गाविस मिलाएर बनाइएको यस गाउँपालिकाको क्षेत्रफल भने धेरै छ । जनसंख्या भन्दा डेढ गुणा भन्दा पनि बढी अर्थात् ८ सय ३७ दशमलव ५४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् ।
मनाङकै चामे गाउँपालिका दोस्रो सानो गाउँपालिका हो । १ हजार १ सय २९ जनसंख्या र ५ वटा वडा रहेको यो गाउँपालिका ७८ दशमलव ८६ वर्गकिलोमिटरमा फैलिएको छ ।
मुस्ताङको दालोमे गाउँपालिकाको जनसंख्या १ हजार ४ सय २३ रहेको छ । ५ वटा वडामा विभाजित यो गाउँपालिकाको क्षेत्रफल १ हजार ३ सय ४४ वर्गकिलोमिटर रहेको छ ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको जनसंख्या १ हजार ४ सय ५१ रहेको छ । ६ वडामा विभाजित यसको क्षेत्रफल ३ सय ४५ दशमलव ५७ वर्ग किलोमिटर रहेको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका पाँचौं सानो गाउँपालिका हो ।१ हजार ८ सय ९९ जनसंख्या र क्षेत्रफल ७ सय २७ वर्गकिलोमिटर भएको यो गाउँपालिकामा ५ वटा वडा कायम गरिएको छ ।
मनाङको नासोङ गाउँपालिकाको जनसंख्या १ हजार ९ सय ३८ रहेको छ । ९ वटा वडा रहेको यो गाउँपालिकाले ७ सय ९ दशमलव ५८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको जनसंख्या २ हजार १ सय २६ र क्षेत्रफल ३ सय ७७ दशमलव ३८ वर्ग किलोमिटर रहेको छ । ६ वडामा विभाजित यो गाउँपालिका सातौं सानो गाउँपालिका हो ।
बझाङको काँडा गाउँपालिकाको जनसंख्या २ हजार १ सय ८२ रहेको छ । ५ वटा वडामा समेटिएको यो गाउँपालिकाको क्षेत्रफल १ हजार ४ सय ६७ वर्ग किलोमिटर रहेको छ ।
मनाङको नेस्याङ गाउँपालिका क्षेत्रफलको आधारमा नवौं सानो गाउँपालिका हो । २ हजार २ सय २२ जनसंख्या रहेको यस गाउँपालिकामा ९ वटा वडा रहेका छन् । यसको क्षेत्रफल ६ सय ९४ दशमलव ६३ वर्ग किलोमिटर रहेको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका जनसंख्याको आधारमा दसौं सानो गाउँपालिका हो । २ हजार २ सय ७३ जनसंख्या र ६ वटा वडा रहेको यो गाउँपालिकाले ८३ दशमलव ३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
सबैभन्दा कम जनसंख्या हुने १० वटा गाउँपालिकामध्ये सबैभन्दा बढी मनाङमा ४ वटा, डोल्पामा ३ वटा, मुस्ताङमा २ वटा र बझाङमा एउटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्