झापाको गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय सङ्कटमा

झापाको गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय सङ्कटमा

दमक । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ ।

विसं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अचेल बिहान–बेलुका राष्ट्रिय र स्थानीय पत्रपत्रिका पढ्न आउने बाहेक पुस्तकालयमा अरु किताब पढ्न कोही नआउने गरेको स्थानीय हेमसागर अधिकारी बताए ।

पुस्तकालयको वार्षिक आम्दानी रु ४६ हजार रहेको छ । यहाँ पुराना उपन्यास र ऐतिहासिक किताब राखिएका छन् । पुस्तकालयका कर्मचारी सरिता घिमिरेले बिहान ७ बजेदेखि ९ बजे तथा बेलुका ४ देखि ६ बजेसम्म पुस्तकालय खोल्ने गरेको बताए । उहाँले सो पुस्तकालयको रेखदेख गरेवापत रु एक हजार परिश्रमिक पाउनुहुन्छ ।

“पुस्तकालयको व्यवस्थापन हुन नसक्दा यहाँ आउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ,” घिमिरेले भने । पुस्तकालयमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका गरी एक हजारभन्दा बढी पुस्तक रहेका छन् ।

तत्कालीन समयमा कर्णेल भक्तबहादुर बस्नेत, दौलतविक्रम विष्टलगायतको पहलमा उक्त पुस्तकालय स्थापना गरिएको थियो । दुई कोठे भवनमा रहेको सो पुस्तकालयको नाममा बैगुनधुरामा चार बिगाहा जग्गा समेत रहेको छ । सो जग्गा साहित्यकार विष्टले पुस्तकाललाई उपलब्ध गराएका हुन् ।

पुस्तकालयका उपाध्यक्ष नवीन जोशी पुस्तकाललाई व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ । “भवन जीर्ण छ, पुस्तकालयतर्फ पाठकको ध्यान आकर्षित गराउन सकेका छैनौ,” उनले भने । पुस्तकालयलाई पठनीयस्थलका रुपमा जीवन्त दिन यस क्षेत्रका व्यवसायी तथा सरोकारवालाले मासिक रु २० तिरेर पाठक बन्ने गरेका उनले बताए ।

“गाविसले उपलब्ध गराएको बजेटबाट तारबार हाल्ने योजना छ,” उपाध्यक्ष जोशीले भने । पुस्तकालयलाई बैगुनधुराको जमिनबाट वार्षिक रु ३५ हजार तथा घुम्तीबाट वार्षिक करिब रु ११ हजार आम्दानी हुन्छ । पुस्तकालयलाई व्यवस्थित गर्न आठ वर्ष अगाडी राजेन्द्र शर्माको अध्यक्षतामा समिति समेत गठन गरिएको थियो । व्यवस्थापन समिति सक्रिय नहँुदा पुस्तकालय सङ्कटमा परेको स्थानीय शेरबहादुर शर्मा बताउछन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्