बिकसित बिराटनगरको सपना !! – बिबेक दाहाल 

बिकसित बिराटनगरको सपना !! – बिबेक दाहाल 

कुनै बेला "मृत सहर" को उपनाम पाइसकेको बिराटनगर सहरले अहिले आएर मृत सहर नभइ केही समय "कोमा" मा गएर भेन्टेलेटरमा उपचार भईरहेको सहर हो भन्ने सम्मको प्रतिबाद गर्न सक्ने अवस्था आइसकेको जस्तो लाग्छ । समय संगै सबै कुरा परिवर्तन हुदै जानू पर्दछ , यदि कुनै पनि कुरा समय संगै हिड्न सकेन भने त्यसको अस्तित्व धेरै समय रहन सक्दैन भन्ने कुरा हामी सबैलाई अवगत भएकै कुरा हो ।

बिराटनगरको हालैको अवस्था हेर्ने हो भने बिरक्त लाग्ने खाले छ । जताततै भत्केको सडक , धुलो धुवाँले हिड्न सकिने अवस्था छैन । व्यवस्थित रुपमा विकास निर्माणकार्य गर्न नसक्दा सर्वसाधारणको दैनिकी साथै स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ । तर पनि अहिले अवस्थालाई नै सकरात्मक ढङ्गले हेर्ने हो भने आशाका धेरै किरणहरु देख्न सकिन्छ जस्तो लाग्छ । वर्तमानको बिराटनगर सहरलाई अबको ५ वर्ष पछिको बिराटनगर सहरमा परिकल्पना गर्ने हो भने पक्कै पनि मृत या कोमामै गएको सहर बिस्तारै होसमा आउदै गरेको कल्पना गर्न सक्छौ हामीले । एकपटक सकरात्कम पक्षमा अबको ५ वर्ष पछिको विराटनगर सहरको कल्पना गरौ ।

सडकमा विकास :
एसियाली विकास बैंकको सहयोगमा बिराटनगरमा चलिरहेको  विकास निर्माणका कामले ढलको समस्या समाधान गर्नेछ भन्ने आशा विराटनगरबासीको छ । केही वर्षमा नै सडक चौडा तथा सरर सवारीसाधन चलाउन योग्य हुनेछ । चौडा सडक भएको कारण ट्राफिक जामको समस्या ज्यादा नहोला , यदि भइहाले पनि बिराटनगरमा धेरै वर्षदेखि निर्माण जारी रहेको रिङरोडको सडक सम्पन्न भए यस्लाई घटाउन मद्दत गर्नेछ । बिराटनगरको बजार क्षेत्रका सडक पनि सडक बिस्तारको कामले चौडा हुनेछन् । पार्किङको लागि बिराटनगर उपमहानगरपालिकाले अन्डरग्राउण्ड पार्किङको निर्माण गरिसकेको हुनेछ साथै बजार छेउमा रहेका खाली जग्गाको उपयोग गरि पार्किङको अहिलेको समस्या समाधान हुनेछ । बिराटनगरमा बढी भिड हुने सडकमा आकाशे पुलको निर्माण गरेर सडक दुर्घटना कम गर्न सफल हुनेछ साथै विराटनगरबासीको लागि सहज अबस्था निर्माण गर्न केही वर्ष मै विराटनगर उपमहानगरपालिका सफल हुनेछ भन्ने आशा गरौ ।

शिक्षा क्षेत्रमा ठुलो फड्को :
हाल बिराटनगर सहरलाई अौद्योगिक क्षेत्र भन्दा पनि शैक्षिक हबको रुपमा बढी महत्त्वका साथ हेरिन्छ । दुईवटा मेडिकल कलेज , उच्च शिक्षामा नेपाल मै उत्कृष्ट नतिजा ल्याउन सक्ने कलेज तथा बिद्यार्थी , इन्जिनियरिङ कलेज , होटल व्यवस्थापनका उत्कृष्ट कलेजहरु , बिदेश गएर महङ्गो शुल्कमा पढ्नु पर्ने कलेज तथा विश्वविद्यालय बिराटनगर मै आउनु र केही वर्षको अन्तरालमा नै अझ धेरै शिक्षा क्षेत्रमा लगानी बढ्दै जाने अवस्थाले विराटनगर सहर देशकै शैक्षिक हब हुनेमा कुनै संका छैन । अझ संघियतामा मुलुक गइसकेपछि शैक्षिक क्षेत्रमा पनि नयाँ सम्भावना खुल्ने पक्कै छ । सस्तो शुल्क तथा उत्कृष्ट शिक्षा प्रदान गर्न सके छिमेकी मुलुक भारतका सिमा क्षेत्रका विद्यार्थी बिराटनगरमा तान्न पनि ग्राहो हुने छैन । शैक्षिक पर्यटनको सम्भावना प्रवल रहेको देखिन्छ बिराटनगरमा ।
स्वास्थ्य क्षेत्रमा आमूल विकास :
बिराटनगर अौद्योगिक या शैक्षिक हब मात्रै नभएर स्वास्थ्य सुविधाको लागि बिराटनगर , पुर्वका विभिन्न जिल्ला साथै भारतका सिमा क्षेत्रका जनताको लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्छ बिराटनगर । दुईवटा ठुला मेडिकल कलेज स्तरीय बिभिन्न अस्पतालहरुले गर्दा बिराटनगर स्वास्थ्य क्षेत्रमा पनि निक्कै अगाडी बढ्न सक्ने अबुमान सजिलै गर्न सकिन्छ  । बिराटनगरमा अहिले पनि भारतका बिभिन्न सहरबाट उपचारको लागि बिराटनगरका अस्पतालमा मानिसहरु आउने गरेका छन्  । अझ डाक्टर र नर्सिङ  पढ्नको लागि भारत , भुटान , माल्दिभ्स लगायतका मुलुकबाट बिद्यार्थीहरु बिराटनगरका मेडिकल कलेजमा भर्ना भइरहेका छन् । बिराटनगरको भविष्य स्वास्थ्य पर्यटनमा पनि प्रवल रहेको छ ।
बिशेष अौद्योगिक क्षेत्र :
अौद्योगिक सहरको रुपमा चिनिएको बिराटनगर सहरमा  सरकारले बिशेष अौद्योगिक क्षेत्रको रुपमा विकास गर्न सके बिराटनगरको साथै देशकै अर्थतन्त्रमा राम्रो उडान हुनेछ । सरकारले बिशेष अौद्योगिक क्षेत्रको रुपमा दिने सम्पूर्ण सुविधा र सब्सिडि दिन सके बिराटनगरमा बन्द भएका ठुलासाना सबै उद्योग तथा नयाँ उद्योग खुल्ने सम्भावना निकै ठुलो छ । यस्ले बिराटनगरमा रोजगारीको सृजना साथै देशमा उद्य्यमशिलताको क्रान्ति नै हुने पक्का छ । पर्यटनको हिसाबले हेर्ने हो भने देशभरबाट नै विद्यार्थीहरुलाई अौद्योगिक रिसर्च तथा भ्रमणको लागि उचित गन्तव्य बन्न सक्छ बिराटनगर । यस्तै विराटनगरको अहिलेको मेन बजार साह्रै साघुरो भएको कारण अब नयाँ बजार क्षेत्र कन्चनबारी क्षेत्रमा निर्माण गर्दै लाने हो भने बिराटनगर बजार अझ ठुलो तथा व्यवस्थित हुनेछ ।
प्रदेश राजधानी तथा महानगरपालिकाको सम्भावना :
देश संघियतामा गइसकेको अवस्थामा विभिन्न प्रदेशको राजधानी कुनै सहरलाई बनाउनुपर्ने छ , हाल प्रदेश नं १ मा पर्ने बिराटनगर सहर यस प्रदेशको राजधानीको रुपमा बलियो बिकल्पको रुपमा रहेको छ । प्रदेशको राजधानी बन्न सके विकासका नयाँ सम्भावना विराटनगरमा अवस्य नै बढ्नेछ । त्यसैगरी बिराटनगर उपमहानगरपालिका बाट महानगरपालिका बन्ने सम्भावना पनि नकार्न सकिन्न किनभने यसविषयमा छलफल सुरु भइसकेको छ । यस्ले पनि विराटनगरलाई विकसित सहर बन्न भुमिका खेल्न सक्नेछ ।
पुर्वाधारमा विकास :
हाल बिराटनगरमा ठुला विकासका पुर्वाधार निर्माण धमाधम चलिरहेको छन् । ठुला सपिङ्ग मल होस या होटेल , मल्टिपेक्स् होस या रिक्रिएसन सेन्टर बिराटनगरमा केही वर्षको दौरानमा नै ठुला भौतिक पुर्वाधार निर्माण हुनेछन् । यस्ले पर्यटनको सम्भावना पनि बढाउनेछ , भारतीय पर्यटकलाई पुर्वाञ्चलका विभिन्न रमणीय स्थल जस्तै भेडेटार , धनकुटा , हिले , ईलाम लगायतका पहाडी इलाकाको प्रचारप्रसार गर्न सके विराटनगर उनिहरुका लागि स्टे ट्रान्जिटको रुपमा हुनेछ यस्ले विराटनगरको होटेल व्यवसायमा राम्रो आम्दानी गर्न सकिनेछ ।नेपाल मै पहिलोपटक  बिराटनगरमा बनिरहेको दुई तल्ले बसपार्कले पनि विराटनगरको नयाँ परिचय दिनेछ ।

माथि उल्लेख गरिएका उदाहरण तथा भविष्यमा विराटनगरमा गर्न सकिने कामहरु यतिमा मात्रै सिमित छैनन् र माथिमा कामहरु कुनै असम्भव कामहरु पनि होइनन् । तर मुख्य कुरा बिराटनगर विकास गर्न सरोकारवाला तथा हामी बिराटनगरका जनतामा इच्छाशक्ति हुनु जरुरी छ । आगामी स्थानीय निर्वाचनमा बिराटनगरले सक्षम जनप्रतिनिधिको चयन गर्न सके यी माथि उल्लेखित सबै सपना तथा आशा पूरा हुन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्