पछिल्लो समयदेखिको अपराजित यात्रालाई कायम राख्ने दाउमा रहेको नेपालको सपना एकाएक रिजाल मेमोरियल स्टेडियममा तुहिएसँगै नेपाली खेलकुद वृत्तमा मात्र नभएर नेपाली फुटबल समर्थकहरुमा नेपाली फुटबलको अवस्थाबारे चर्चा सुरु भएको छ । विशेषगरी सामाजिक सञ्जालहरुमा नेपाली फुटबलसामु चर्चापरिचर्चा बढेको हामी देख्न सक्छौ । लामो समय विभिन्न कारणले सुस्ताएको नेपाली फुटबल पछिल्ला केही समयदेखि आशाको दियो बाल्न सफल भएको थियो । साग गेम जितेर होस् या बंगबन्धु कप जितेर होस् नेपाली फुटबल सुधारोन्मुख अवस्थातर्फ धकेलिएको स्पष्ट हुन्थ्यो । यद्धपी एसिया कप छनौट खेलमा फिलिपिन्ससँग पराजित भएसँगै नेपालले हारमात्र बेहोरेन, नेपाली फुटबल पुनः पुरानै अवस्थामा फर्कन लागेको हो ? भन्ने कुरालाई धेरै समर्थकहरुमाझ चिया गफ बनाउन बाध्य भयो । पछिल्ला समय नेपालकालागि भाग्यमानी सावित हुँदै आएका कप्तान विराज महर्जन चोटका कारण मैदान प्रवेश गर्न नसकेपछि नेपाल, स्ट्राइकर भरत खवासको कप्तानीमा मैदानमा उत्रिएको थियो । घरेलु मैदानमा उच्च समर्थन र साथ पाएको फिलिपिन्सको टीम सामु निरीह बन्दै नेपालले ४– १ को नजिता फिलिपिन्सलाई सुम्पियो ।
नेपालका मुख्य प्रशिक्षकमा ग्यातोकु कोजी नियुक्ति भएसँगै उत्कृष्ट नतिजा निकाल्न सुरु गरेको नेपाल किन हार बेहोर्न बाध्य बन्यो त ? विशेष गरी सामाजिक सञ्जालमा यसबारे विभिन्न टीका–टिप्पणी सुरु भइसकेका छन् । उसो त वरियता क्रममा नेपाल भन्दा ४६ औ स्थानमाथि रहेको फिलिपिन्सले यसअघि भएका खेलहरुमापनि आफ्नो उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै आएको कुरा सर्वविदितै छ । त्यसो त उत्कृष्ट लयमा मात्र नभएर नेपालका लागि भाग्यमानी सावित हुँदै आएका नवयुग श्रेष्ठ चोटका कारण टिममा नपरेपछि टिमलाई केही घाटा पक्कै पर्न गयो भने एकातर्फ नवयुगको अभाव मैदानमा खट्एिको कतिपय उनका समर्थकहरु बताउछन् । सर्वाधिक रुचाइने फुटबल खेलको विकासमा एन्फा लगायत खेलकुदका निकायहरु गम्भीर भएर लाग्न अत्यन्त जरुरी छ । समयमा हुन नसक्ने राष्ट्रिय लिग लगायत अन्य गोल्डकप प्रतियोगितालाई अझ बढाउदै खेलाडीलाई बढि भन्दा बढी खेल खेल्ने अवसर प्रदान गर्नसक्नुपर्छ । नकआउट प्रतियोगिताको तुलनामा पक्कैपनि लिग गेमहरुमा खेलाडीले आफूलाई निखार्ने मौका पाउछन् । भनेको समयमा प्रतियोगिता गर्न असक्षम रहने खेलकुदका निकायहरुले खेलाडीबाट धेरै आशा अपेक्षागर्नुपनि त्यति उपयुक्त छैन ।
कमजोर व्यवस्थापन, राजनीतिक खिचातानीका साथै अभ्यासकालागि उपयुक्त खेल मैदान नहुँदा नहुँदैपनि जुन साहसका साथ नेपाली खेलाडीहरु विपक्षी सामु पुरै ९० मिनेटको समय मैदानमा रहन्छन्, यहि नै महत्वपूर्ण कुरा हो । खेलाडीले फुटबलकै मात्र भर परेर जिविकोपार्जन गर्न नसक्ने अवस्थामापनि जुन हिम्मतका साथ, जुन लगनशिलताका साथ खेलाडीहरु मैदानमा उत्रिछन्,् हामीले यसकुराको जति प्रशंसा गर्दापनि कमै हुन्छ । देशका लागि खेल्ने खेलाडीले जित्दा त सबैमा खुशीयाली छाउँछ, तर हारमा अनेकन टीका–टिप्पणी गर्नुअघि उनिहरु कस्तो माहोलमा खेल्दै छन्, अथवा खेलाडीले अभ्यास गर्ने उपयुक्त वातावरण पाएका थिए वा थिएनन् भन्नेतर्फ पो सबैले सोच्ने हो कि ?