इटहरीको जेष्ठ समाज- कृष्ण अधिकारी

इटहरीको जेष्ठ समाज- कृष्ण अधिकारी

उन्मुक्त कलम–५
माया तल बग्छ पानी जस्तो । आमा बाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान त्यसैकारण बनेको हो । सबै मान्छे केटाकेटी भएरै आएका हुन्, त्यसैले विकसित मुलुकहरूले बालबालिकाका लागि अलग्गै नीति निर्माण गरे । संयुक्त राष्ट्र संघले पनि अलग्गै सम्बोधन ग¥यो । यस अनुपातमा बृद्धबृद्धाको संरक्षणका लागि नीति निर्माण तहमा रहेका मान्छेहरूमा केटाकेटीको अनुभव छ तर बृद्धको अनुभव छैन । उनीहरूले जुन बेला अनुभव गर्न सक्छन् त्यसबेला उनीहरू नीति निर्माणको तहबाट बाहिरी सकेका हुन्छन् ।
बूढो गोरु जो हिजो हलो जोतेर उब्जनी दिन्थ्यो अथवा बूढी गाई हिजो कामधेनु थिई, थला परेको ठाउँमा अलिकति हरियो घाँस फालिएको हुन्छ तर चपाउन सक्तैन । त्यसभन्दा बढी संरक्षणको उपाय गरिदैन । बरु चाँडो मृत्यु होस् भन्ने कामना गरिन्छ । पश्चिमा विकसित मुलुकहरूका बृद्धबृद्धाहरू त्यस्तै लाग्छ मलाई । छोराछोरी कुनै टाढाको आफन्त एक किलो स्याउ बोकेर हेर्न आएको जस्तो आउँछन् र स्वास्थ्यलाभको कामना गरेर फर्किन्छन् । अस्पतालको शैयामा मृत्यु पर्खेर बसेका ती बृद्धहरूलाई हाम्रो संयुक्त परिवारको परम्परा बताइदिने हो भने अझ रुन्छन् तिनीहरू । यो परिस्थिति जर्मनीमा म आफैँले अनुभव गरेको छु २३ वर्ष पहिले ।
हाम्रो संयुक्त परिवारको पवित्र प्रचलन विश्वकै उत्कृष्ट प्रचलन हो भन्नु पर्छ । हाम्रो यो प्रचलन भित्र पितृ भक्ति छ, कर्तव्यबोध छ । छोराछोरीले मात्र हैन नाति, नातिनी र नातिनी बुहारीसम्मले सेवा गर्छन् बृद्धबृद्धाको । सेवाले पूण्य प्राप्ति हुन्छ भन्ने विश्वास छ र पितृको आशिर्वाद लाग्छ भन्ने विश्वास पनि छ । जसका कारण पश्चिमा समाजको तुलनामा हाम्रो समाज सभ्य छ र बृद्धबृद्धाहरू सुरक्षित छन् ।
आजभोलि हाम्रोमा पनि पश्चिमा प्रदूषित हावा चल्न थालेको छ । बृद्धबृद्धाहरू बोझ ठानिन थालेका छन् । यही हावाको सङ्केत पाएर होला सायद इटहरीका केही जेष्ठ नागरिकहरूले दुई दशक अगाडि एउटा जेष्ठ नागरिक मिलन चौतारीको निर्माण गरे । त्यो चौतारी हुँदै हाल ‘ज्येष्ठ नागरिक समाज’को रूपमा स्थापित भएको छ । कानुनी रूपमा विधिवत संस्था दर्ता भएको जेष्ठ नागरिक समाजले विधान दर्ताको आधारमा हालै आठौँ साधारण सभा सम्पन्न गरेको छ ।

[caption id="attachment_31898" align="aligncenter" width="603"] source: online[/caption]

यो समाज स्थापना भएदेखि हालसम्म २९४ जना जेष्ठ नागरिकले सदस्यता लिएकोमा २५ जना दिवङ्गत भइसकेका छन् भने हाल २६९ जना सदस्यमध्ये पुरुष २१४ र महिला ५५ जनाको समाजमा संलग्नता छ । दिवङ्गत भएका २५ मध्ये २२ पुरुष र ३ महिला भएको कुरा पनि समाजको अभिलेखबट थाहा हुन्छ । एउटा सामाजिक संस्था सरह यो जेष्ठ नागरिक समाजले खेलकुद लगायतका कार्यक्रमहरू सम्पन्न गर्ने गरेको छ । सदस्यमा रहेको प्रतिभाको आधारमा गीत, भजन, वालन आदि गाउने र मनोरञ्जन गर्ने काम दैनिक रूपमा हुन्छ त्यहाँ । दैनिक रूपमा पुराणका कथा वाचन र पर्वहरूमा धार्मिक प्रवचन हुने गरेको छ । पण्डितजीहरूबाट सेवा स्वरूप पुराण वाचन हुने गरेको छ । खेलकुद परिषद र परिषदका सदस्य सचिव केशवबहादुर विष्टको सहयोगमा जेष्ठ नागरिक खेलकुद भवन समेत निर्माण हुने क्रममा छ । सामाजिक र सेवाको भावना भएका जेष्ठ नागरिहरू स्वयम्ले पनि आर्थिक सहयोग प्रदान गरिरहेका छन् यस जेष्ठ नागरिक समाजका क्रियाकलापका लागि । इटहरीका समाजसेवी राजेश श्रेष्ठ, रामबहादुर ताचाभण्डेल र हरिश्चन्द्र भेटवालद्वारा स्थापित अक्षयकोषबाट विभिन्न विधामा पुरस्कार समेत प्रदान गर्दै आएको छ यो समाजले ।
इटहरी उप–महानगरपालिकाले जेष्ठ नागरिकहरू भेला भएर बस्ने घर निर्माण गरिदिएको छ र दिउँसो चिया पिउने व्यवस्था पनि मिलाइदिएको छ । यस वापत नगरपालिकालाई धन्यवाद दिनैपर्छ तथापि यो वर्तमान व्यवस्थापन अस्थायी र अल्पकालीन प्रवृतिको जस्तो देखिन्छ । जेष्ठ नागरिकले पाउनु पर्ने सेवा र सुविधा निगाहको रूपमा हैन राज्यले अधिकारको रूपमा स्थापित गर्नुपर्छ । हाम्रो समाजले पनि जीवन पद्दतिमा सुधार गर्न थालेको कारण सरदर आयुमा बृद्धि हुँदै गएको छ । यसका कारण जेष्ठ नागरिकहरूको संख्यामा बृद्धि हुनु स्वभाविक हो । त्यसरी बृद्धि हुने संख्यालाई व्यवस्थापन गर्न पनि राज्यले नीति निर्माण तहमा विचार पुर्याउनु जरुरी छ । यो प्रसङ्ग इटहरीको मात्र हैन, राष्ट्रव्यापी कुरा हो भनेर बुझ्नु पर्दछ ।
बढ्दो शहरीकरण र बढ्दो यातायातका साधनका कारण बृद्धहरूलाई विभिन्न बाटाहरू पार गरेर नगरपालिकाले बनाइदिएको घरमा पुग्नु सम्भव छैन । र जेष्ठ नागरिकको संख्यामा बृद्धि हुने हुँदा एकै ठाउँ केन्द्रीत गर्न पनि सम्भव छैन । तसर्थ आगामी आ.व.को कार्यक्रममा इटहरी उपमहानगरपालिकाले प्रत्येक वडामा जेष्ठ नागरिक समाजहरू स्थापना गर्न जरुरी छ, जसले गर्दा जेष्ठ नागरिकहरूको उत्तरार्धकाल स्वास्थ्य र सन्तोषका साथ व्यतीत होस् ।
प्रत्येक व्यक्तिले आफ्नो उमेर र समयमा केही न केही आर्जन गर्छ । त्यो आर्जनबाट कुनै न कुनै रूपमा केही न केही राज्यकोषमा गएको हुन्छ । राज्यकोषलाई योगदान गरे वापत बृद्धावस्थामा राज्यले हेर्नुपर्छ, निःशुल्क स्वास्थ्य सेवा र यातायातको व्यवस्था राज्यको तर्फबाट हुनु जरुरी छ । अनाथ भएको खण्डमा राज्यले पूर्ण जिम्मेवारी वहन गर्नु पर्दछ ।
संयुक्त परिवारको सुन्दर संस्कृतिलाई जोगाई राख्नु जरुरी छ । यसका लागि असल छोराछोरी र बुहारीलाई प्रोत्साहन हुनु पर्दछ ।
अबको प्रत्यक्ष सरकार भनेको स्थानीय निकाय नै हो । यी निकायले आगामी बजेट निर्माण गर्दा र नीति नियम तर्जुमा गर्दा जेष्ठ नागरिकलाई ध्यानमा राखी गर्नुपर्छ भन्ने चेत इटहरीमा स्थापित ‘जेष्ठ नागरिक समाज’ले दिएको छ । यस प्रकारका समाजहरू देशव्यापी रूपमा स्थापना हुनुपर्छ भन्ने कामना गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्