किन लाग्यो शेयर बजार ओरालो ? – खेमचन्द्र अधिकारी

किन लाग्यो शेयर बजार ओरालो ? – खेमचन्द्र अधिकारी

शेयर बजारमा एउटै विषयले चर्चा पाउँथ्यो । त्यो हो चुनाव हुने भएपछि बजार बढ्छ । अघिल्ला वर्षमा सामान्यतः वैशाखदेखि बढ्ने गरेको शेयर बजार मापक नेप्से यसपटक चैत शुरुदेखि नै बढ्यो । यसले लगानीकर्तामा थप उत्साह थपियो । बीमा कम्पनीको चुक्तापूँजी बढाउनुपर्ने भनी बीमा समितिको निर्देशन आएपछि चैत तेस्रो सातामा बजार निकै माथि पुग्यो । सबै बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशतको दरले बढ्यो । ३ दिनसम्म कारोबार खुल्नासाथ सर्किट ब्रेक नै लगाउनुप¥यो । बजारमा थोरै शेयर संख्या भएका बीमा कम्पनीको दिनमा ५०÷६० कित्ता शेयर कारोबार भए पनि १० प्रतिशत मूल्य बढ्यो भने त्यसपछि बिक्री आदेश नै नहुने र तर खरिद आदेश भने धेरै हुने प्रवृत्ति देखियो । ३ दिनसम्म लगातार यस्तो भइरह्यो । यही अवधिमा नेप्से परिसूचक पनि माथि पुग्यो भने बीमाले बजार बढाउँदा सबै कम्पनीको शेयर मूल्य बढ्नाले बजारमा हरियाली छायो । लगानीकर्ताको मनोबल त्यतिबेला घट्यो जब आशा गरेअनुसार बजार उकालो लाग्न सकेन । वर्ष ०७४ को पहिलो कारोबार भएको दिन वैशाख २ गते बजार ओरालो लाग्यो ।

त्यसपछि पनि बजार घटबढ भइरह्यो । हुन त बजारमा शेयरमूल्य घटबढ हुनु भनेको सामान्य विषय हो । यो प्रकृतिको नियम नै हो । तर चुनावले बजारलाई सकारात्मक प्रभाव पार्छ भनेर जसरी लगानीकर्ता, बजार विश्लेषक र ब्रोकरले अनुमान गरेका थिए त्यस्तो भने देखिएन । चुनाव आउनै लाग्दा बजारमा झन् नकारात्मक असर देखियो । २ अर्बको हाराहारीमा कारोबार हुने गरेको बजार १ अर्ब बाट पनि ओरालो लाग्यो र चुनावको ३ दिनअघि त ५० करोडको हाराहारीमा आइपुग्यो । चुनावभन्दा अगाडिको अन्तिम दिन भने बजार घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर बढेर १ अर्बको हाराहारीमा पुग्दा सबै मिडियाले चुनावको संकेत भनेर लेखे । चुनावले बजारमा राम्रो प्रभाव पारेको र अघिल्लो दिनको तुलनामा दोब्बर मूल्यको कारोबार भएको भनी प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरे । कारोबार रकम दोब्बर बढेको भनी प्राथमिकताका साथ प्रकाशन भयो । हो, ५० करोडबाट १ अर्बको हाराहारीमा कारोबार त भएको हो तर त्यसको ३ दिनअघि दिनहुँ डेढ अर्बदेखि २ अर्बको हाराहारीमा कारोबार भइरहेको थियो भन्ने कुरा बिर्सिएर चुनावले बजार बढाएको र अब जेठ लागेपछि (चुनावपछि) बजार झन् बढ्ने भनी सबै मिडियामा प्रकाशन÷प्रशारण भयो । तर, नतिजा उल्टो आयो । आइतबार चुनाव भएपछि जेठ १ गते सोमबारदेखि निरन्तर ओरालो लागेको बजार साताभर उकालो लाग्न सकेन । बजार मात्रै ओरालो लागेन, कारोबार रकममा पनि कमी आएपछि लगानीकर्ता उत्साहित हुन सकेनन् ।

 

आइतबारसम्ममा महानगरपालिकाबाहेक लगभग सबै स्थानको नतिजा आइसकेको हुनाले बजार बढ्ने अनुमानविपरीत बजार दोहोरो अंकले घट्न पुग्यो । १ दशमलव १ प्रतिशत (१६ दशमलव ६३ ) अंकले नेप्से ओरालो लागी १६२७ दशमलव २४ अंकमा अडिएको छ । यस दिन कारोबार रकममा समेत गिरावट आएको छ । उत्पादन र अन्यबाहेक सबै समूह ओरालो लागेका थिए । बीमा समूह सबैभन्दा धेरै १०४ अंकले ओरालो लागेको छ । यसरी बजार घट्नुको कारण के हो भन्ने अहिले कसैले पनि अनुमान गर्न सकिरहेका छैनन् । प्रधानमन्त्रीको परिवर्तन, बजेट वक्तव्य, संविधान संशोधनलगायतका विषयका कारण बजार घटेको अनुमान धेरैको छ । अनुमान अनुमान नै हो । त्यो सही नहुन सक्छ । तर, एउटा विषय के चाहिँ छ भने अब बजार उकालो लागेपछि तीव्र गतिमै उकालो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्