नेपालले आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दै

नेपालले आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज अपरान्ह घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ । समूह एफमा अंकबिहीन रहेको नेपालले आज यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र यमनबीचको खेलको लागि टिकट खरिदको जिम्मा एन्फाले इसेवालाई दिएको छ । एन्फाले खेलको टिकट इसेवाको काउन्टर र खेल स्थल हल्चोकमा बिहान ११ बजेबाट १ बजेसम्म खरिद गर्न सकिने जनाएको छ । नेपाल र यमनबीचको खेलको टिकट मूल्य १ हजार रहेको छ । यस्तै एन्फाले ७ सय मात्र दर्शकलाई टिकट उपलब्ध गराउने जनाएको छ ।

यमनसँगको खेलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरिसकेको छ  । एन्फाले २३ सदसीय नेपाली टोलीको घोषणा सोमबार गरेको हो । र, आज हुने खेलमा नेपाल बलियो यमनलाई पराजित गर्दै अंक खोस्ने योजनाका साथ मैदान उत्रनेछ ।

“हामी जितका लागि खेल्छौ,” यमनसँगको खेलअघि सोमबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका नियमित कप्तान विराट महर्जनले घरेलु मैदानमा अंक जोडे अवे खेलमा सहज हुने बताउँदै भने, “बलियो यमनसँग प्रशिक्षकको निर्देशन, प्लानअनुसार खेल्छौँ । घरमा खेल गुमायौँ भने अवे खेल्न समस्या हुन्छ । हामी घरमा जित्ने लक्ष्यका साथ खेल्ने छौँ ।”

यस्तै कप्तान विराटले नेपाली टोलीका केही महत्वपूर्ण खेलाडी नहुँदा टिमलाई असर पुर्याउने बताए । उनले यमनसँगको खेलका लागि मिडफिल्डर बिक्रम लामा, डिफेन्डर रोबिन श्रेष्ठ टोलीमा नपर्दा खेलाडीमा तालमेल मिलाउन समस्या हुने बताए ।“विक्रम र रोविन टोलीमा छैनन्, नयाँ खेलाडी आएका छन् ,” विराटले भने, “नयाँ खेलाडीहरु आएका छन् तर, खेलाडीबीच तालमेल मिलेको छैन जसले हामीलाई गाह्रो बनाउँछ ।” यसपटक नेपाली टोलीमा बिक्रम फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएकोले प्रतिबन्धमा छन् भने रोबिनको खुट्टाको शल्यक्रिया गरिएको छ । तर, नेपालले यमनसँग डिफेन्स र फरवार्ड लाइन बलियो बनाएर प्रस्तुत हुने कप्तान विराटले बताए ।

नेपाल यमनसँगको यसअघिका दुई भेटमा पराजित भएको छ । नेपाल पछिल्लोपटक सन् २०१४ मा दुबईमा भएको भएको मैत्रीपूर्ण खेलमा यमनसँग २ – ० ले पराजित भएको थियो  । यस्तै फिफा वरियतामा पनि नेपाल यमनभन्दा ४५ औं स्थान तल  छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज ग्योतोकी कोजीले यमन बलियो भएपनि नेपालले भएका खेलाडीबाट सक्ने जति च्यालेन्ज दिने बताए ।  “नेपालमा लामो समय फुटबल लिग नहुँदा टोलीमा केही फिटनेस कमजोर देखिएको छ, तरपनि हामीले जति सिकेका छौ त्यो कुराले यमनलाई च्यालेन्ज दिने छौ,” मुख्य प्रशिक्षक कोजीले भने, “हामीसँग  उपलब्ध भएका  खेलाडीबाट नै राम्रो खेल्नुको विकल्प हामीसँग छैन ।”

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । यता, यमनले भने ताजकिस्तानलाई २ – १ ले हराएको थियो । यस्तै यमनका अधिकांस खेलाडी बाहिर देशका लिग खेल्ने गर्छन । तर, यमनले नेपाललाई कमजोर भने नआक्ने यमनका प्रशिक्षक इब्राहिम नेब्राटोले भनाई छ ।

“विगत केहि महिनाबाट तयारी गरिरहेका छौँ , तयारी राम्रो छ,” प्रशिक्षक इब्राहिम नेब्राटोले भने, “नेपाल टिमबारे सन् २०१२ बाट जानकारीमा छु । नेपालले धेरै सुधार गर्दै लगेको छ । त्यसैले हामी नेपाललाई सम्मान गर्छौ ।”

यमनको अधिकांस खेलाडीहरु गल्फ राष्ट्रको उच्च श्रेणीको लिग खेलेको अनुभव छ । नेपालसँगको खेलमा कम्तिमा ४ जना खेलाडी पहिलो रोजाइमा पर्ने प्रशिक्षक नेब्राटोको भनाई छ । यमनका कप्तान तथा गोलरक्षक आयास इब्राहिम पनि ओमानको उच्च श्रेणीको लिग खेल्ने गर्छन । तर,यमनमा सन् २०१५ बाट जारी गृहयुद्ध र राजनैतिक अस्थिरताले गर्दा यमनको फुटबल निरन्तर ओरालो लाग्दै आएको छ । त्यसैले यमन फुटबलको मध्यमबाट जित निकाल्दै आफ्नो राष्ट्रको शान्ति फर्काउन चाहन्छ ।“केहिबर्षबाट गृहयुद्ध र राजनीतिक घटनाक्रमले गर्दा यमनमा फुटबल लिग हुन् सकेको छैन । जसको कारण फुटबलमा राम्रो हुन् सकेको छैन,” प्रशिक्षक नेब्राटोले भने, “हामी फुटबलको माध्यमबाट जित निकाल्छौ र देशको शान्ति फर्काउन प्रयास गर्ने छौ ।”

होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले आगामी २७ मार्च, २०१८ मा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आफ्नो तेस्रो खेलमा आगामी ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग घरेलु मैदानमै खेल्ने छ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्