नेपाली यू–२३ टोलीद्वारा बंगलादेशको यू–२३ टोली १ – ० ले गोल अन्तरले पराजित

नेपाली यू–२३ टोलीद्वारा बंगलादेशको यू–२३ टोली  १ – ० ले गोल अन्तरले पराजित

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलको तयारीमा रहेको नेपाली यू–२३ टोलीले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशको यू–२३ टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशको टोलीलाई १ – ० ले पराजित गरेको हो ।
नेपालको जितमा कप्तान विमल घर्ति मगरले निर्णायक गोल गरे । पहिलो हाफको २० औं मिनेटमा अन्जन विष्टको पासमा विमलले गरेको गोल नै नेपालको जितमा प्रयाप्त रह्यो । विमलले अन्जनले डी बक्स भित्रबाट मिलाईदिएको पासलाई दायाँ खुट्टाले पोस्टको जाली चुमाएका थिए ।
तर, विमल गोल गरेको केहि समयपछि नै घाइते हुदै मैदानबाट बाहिरिएका थिए । बिपक्षि टोलीको पोस्टमा कडा प्रहार गर्ने क्रममा विमलको ल्यान्डिङ नमिलेपछि उनी घाइते भएका थिए । तर, विमलको इन्जुरी सामान्य रहेको बताईएको छ ।  त्यसपछि विमलको स्थानमा विश्वास श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
पहिलो हाफमा १ – ० ले अघि रहेको नेपालले दोस्रो हाफमा पनि केहि गोल गर्ने अवसर पाएको थियो । तर, नेपाली खेलाडीले उक्त अवसर सदुपयोग गर्न सकेनन् । खेलको ६४ औं मिनेटमा गोलरक्षक अगी बढेको अवस्थामा अन्जनले प्रहार गरेको ओभरहेड सट डिफेन्सलाई लागेर बाहिरिएको थियो । यस्तै ७८ औं मिनेटमा सुनिल बलको प्रहार आकाशिएको थियो भने खेलको इन्जुरी समयमा विश्वास श्रेष्ठले गोल गर्ने सुनौलो मौका खेर फालेका थिए । बंगलादेशको गोलरक्षक पोजिसनमा नभएको बेला विवेक बस्नेतको क्रस बललाई विश्वासले पोष्टको दिशा दिन सकेनन् । त्यसअघि खेलको ६९ औं मिनेटमा बंगलादेशका हेमन्तो विश्वासको कडा प्रहार नेपाली गोलरक्षक एलन न्यौपानेले बचाएका थिए । खेल अवधिभर बंगलादेशले निकालेको डरलाग्दो आक्रमण त्यही थियो ।
युएइमा हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेको हो । छनोटमा नेपाल समूह ’डी’ र बंगलादेश समूह ‘इ’ मा रहेको छ  । नेपालसँगै समूह डी मा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल असार ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेल श्रावण ४ गते लेबनानसँग खेल्ने छ । समूहको विजेताले चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्