क्लब मैत्रीपूर्ण फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नर्वेको क्लब भालेरीङगालाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा युनाइटेडले भालेरीङगालाई ३ – ० ले पराजित गरेको हो ।
ओस्लोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मौरिनो फेल्लानी, रोमेरो लुकाकू र स्कोट म्याकटोमिनेले समान एक एक गोल गरे । घरेलु टोलि भालेरीङगालाई पराजित गर्ने क्रममा युनाइटेडका फेल्लानीले पहिलो हाफको ४४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप दुइ गोल गर्यो । दोस्रो हाफको सुरुवातमै लुकाकूले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा युवा खेलाडी म्याकटोमिनेले गोल गरेपछि युनाइटेडले ३ – ० को सहज जित पायो । युरोपियन फुटबलको नयाँ सिजन सुरुअघि तयारीका लागी युनाइटेड नर्वे पुगेको हो । यसअघि युनाइटेड प्रि सिजनको लागि अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कप खेलेको थियो ।