त्यस बेला बिराटनगरमा सबैभन्दा अनिश्चित कुरा थियो ‘बन्द’ । मान्छेहरू भन्थेँ ‘धरानको पानी र बिराटनगरको बन्दको भर हुन्न ।’
गएका मान्छे फर्किन पाँउदैनन् भनिन्थ्यो । अझ बिचको दुहबीमा त झन् छिनछिनमा बन्द हुने । म इटहरीमा प्लस टु पढ्दाको कुरा हो यो ।
दाइ भर्खरै बिराटनगर जानुभएको थियो । हामी इटहरीमा सँगै बसेको भए पनि उहाँ ब्याचलर पढ्न गएपछि म रोशन सँग १ वर्ष बसेँ । बेलाबेला उहाँलाई भेटन् हामी बिराटनगर जान्थ्यौ ।
तर बन्द हुन्छ कि हुँदैन भन्ने धेरै सोचेर मात्र । त्यति गरे पनि बेलाबेला त परिहालिन्थ्यो ।
खासमा मलाई सुरुमा इटहरीबाट दक्षिण मननै पर्दैन थियो । कहिल्यै नगएको ठाउँ भएर पनि त्यस्तो लागेको थियो होला । त्यसमा पनि बन्द भइरहने हल्ला । पहिलो पटक गएको थोरै संझिन्छु ।
+++++++
मुकुन्द दाइलाई स्टोन भएकाले अपरेसन गरिएको थियो । उहाँलाई भेट्न रोशन र म जाने भयौ । लोकेसन दिइएको थियो ‘बरगाछीदेखि थोरै अगाडीको बिजुली बजार भनेर ओर्लिनु । त्याँ कसैलाई सप्तकोशी नर्सिङ होम कहाँ हो भनेर सोध्नु ।’
हामी गाडी चढ्यौ । बरगाछी कस्तो होला भन्ने दुवैको मनमा घुम्न थाल्यो । बाटोका धेरै ठाउँ बरगाछी जस्तै लागिरहे । अब त आयो होला भन्ने पनि भई रह्यो । बरगाछी छुटेर गइसक्यो जस्तो पनि हुने ।
चढ्नेबेलामा त बरगाछी नजिकैको बिजुली बजारमा उतारिदिनु भनेका थियौ तर पर हाँसिरहेको सहचालकले पनि बिर्सियो कि जस्तो हुन्थ्यो । उसलाई त्यस्तो कतिले भनिदिन्छन् बिर्सिन के बेर र ? फेरी उ मस्त गफमा थियो । गफमा भएको बेला आफूले धेरैथोक बिर्सिएको पनि संझिँए ।
रोसनलाई पनि भनेँ । उसलाई पनि त्यही डर थियो । उठेर भनिहाल्न पनि आँट आएन । बरु हामीले निर्णय गर्यौ, उसले मानिसहरू ओराल्लनलाई बेलाबेला भन्ने नामहरू ध्यान दिएर सुन्ने । बरगाछी भनेपछि बिजुलीबजार भन्छ ।
बरगाछी भन्नुभन्दा पहिला के के भन्छ भन्ने कुरा सोध्न पाएको भए कति ढुक्क हुनेरहेछ । तर फोन गरेर पनि सोधेनौ । हामीलाई खासमा पहिलोपल्ट जाँदै रहेछन् केही थाहा रहेनछ भन्ने किन पार्नु भनेर अफ्ट्यारो लागेको थियो ।
बिराटनगरमा स्वागत छ भन्ने गेट कटेपछि भने बाटोका साइनबोर्डहरूमा विशेष ध्यान दिन थाल्यौ । बजार सुरु भएको धेरै बेरसम्म पनि गाडी कुदिरहेपछि थाहा भयो बिराटनगर त ठुलो रहेछ । इटहरी त एक छिन साइकल लिएर दौडिँदा सकिइहाल्ने ।
बरगाछी आएको देखेनछौ । गीत बजिरहेकाले उसले भनेको पनि सुनेनौ । उसले पनि बिर्सिएछ । पल्लो सिटमा हुने दाइले पनि भाइ नर्सिङ होम आउने बेला भयो जाऊ भन्नुभयो । उहाँ हामीसँगै चढ्नुभएको थियो गाडी ।
नजिकैनै हाम्रो प्रश्नको जवाफ दिने दाइ हुनुहुँदो रहेछ । यसो बोलचाल गरेको भए त यस्तो टेन्सनै नहुने ।
हामी उत्रियौ । एउटा रिक्सावाला दाइलाई सोधेर बाटो पार गर्यौ । त्यस बेला बिराटनगरको बाटो सफा थियो । बिचमा डिभाइटर थिए तर त्यसलाई ढलाई गरिएको थियो । इटहरीमा जस्तै रूख रोप्नु नि किन ढलाई गरेको होला जस्तो लागेको थियो देख्नासाथ ।
एक छिन बसेर दाइलाई भेटेर फर्किहालेको थिँयौ हामी ।
त्यसपछि सुनिल दाइ बिराटनगर नगएसम्म बिराटनगर पुगिएन ।
+++++++
सुनिल दाइ गएपछि पनि पटकपटक जानुको कारण छ ।
घरमा भएको कम्प्युटर उहाँलेनै लानुभएको थियो । त्यसमा भएका गीतहरू मोबाइलमा हाल्नुपर्थ्यो । २५६ एमबी स्टोरेज भएको सोनी इरिक्सनको फोल्डिङ सेट बोक्थेँ म त्यस बेला ।
गीत त ब्लु टुथबाट पनि हाल्दा हुन्थ्यो भन्नुहोला । मलाई कम्तीमा पनि १० वटा गीत नभई नहुने । फेरी त्यो पनि भर्खरै हिन्दी बुझ्न थालेकाले हिन्दी गीतनै चाहिने । म सिडि किनेर बिराटनगर जान्थेँ र कम्प्युटरमा कपी गरेर छान्थेँ । छानेका गीतहरू कम्भर्टरले घटाएर १ वा २ एमबी सम्मको बनाएपछी मात्र हाल्थेँ । यस्तो गर्दा कहिलेकाँही शुक्रवार राती १ नै बज्थ्यो ।
एक पटक जाडोको बेला । मलाई पुराना हिन्दी गीत सुन्ने भूत चढ्यो । सिडी किनेँ । हामी बिराटनगर लाग्यौ ।
बसपार्कमा पुगेर रिक्सा चढ्यौ र महेन्द्र मोरङ कलेजको होस्टेल पछाडि पुग्यौ । दाइ बाटोकै घरछेउमा बस्नुहुन्थ्यो ।
बेलुका खाना खाएपछि गीतको काम सुरु गर्दै थिँए बत्ती गयो । कतिबेला आँउछ भन्ने सोधेँ । दाइले भन्नुभयो अब ११ बजे ।
बेलैमा सुतेर ११ बजेको आर्लम लगाएर उठ्ने भन्ने भएँ । किनकि गीत छान्न पनि समय लाग्ने तथा भोलि बिहानै फर्किनु पर्ने ।
११ बजे लाइन आयो । उठेँ र गीत छान्न थालेँ । जति सुन्दा पनि मोबाइलमा हाल्न लायक गीत भेटिएन । कस्तो सीडि उठाँएछु जस्तो भयो । लगभग २ घण्टा बसेर छान्दा राख्दा हुन्छ जस्ता ५ वटा पनि गीत भेटिएनन् ।
नहुनु भन्दा हुनुनै ठिक भन्ने लागेर तीनलाई घटाएँ र मोबाइलमा हालेँ । पहिलोपल्ट सीडी खेर गयो भन्ने लाग्यो । उपाय पनि सोचेँ ‘यसलाई लिएर जान्छु र कम्प्युटरमा चलेन भनेर फर्काइदिन्छु ।’
म सुतेँ । जाडोको बेलामा खाली खुट्टा र गीतको धुनमा गतिलो लुगा पनि नलगाई रातको ११ देखि १ बजेसम्म बसेछु । हात र खुट्टा त बरफ जस्ता चिसा भएछन् । दाइले त छेउमा सुन्नै नदिने । रोसन पनि छुन नदिने । म दुईतिरैबाट अलपत्र परेँ ।
बिहान दाइले के के गीत हालिस् त भनेर सोधेपछि बजाँए । सुन्न लायक गीत कुनै रहेनछन् । एउटा गीतले त अझ भन्दोरहेछ ‘ओइ तोबा तुन मुझै बरबाद करदीया’ । म त्यो पल्ट साँच्चै बर्बाद भएँ ।
दाइले पछिसम्म पनि ओइ तोबा भनेर जिस्काइरहनुहुन्थ्यो ।
+++++++
भोलि पल्ट फर्किँयौ । बिहान उठ्दा लाइन थिएन । बेलुका हतारमा कम्प्युटर अफ गरेर सिडि निकाल्न बिर्सिएछु । त्यो पनि उतै छोडियो ।
त्यसपछि भने मैले पुराना हिन्दी गीतको सीडी कहिल्यै किनिन ।
अनिँ अर्को कुरा सिपियुमा भएको सिडी ड्राइभको सानो दुलोमा सियोले खोपेपछि सिडी खुल्छ भन्ने कुरा पनि त्यसपछि सिकेँ ।
सुरज सुवेदी
Twitter: @skyasesh