काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा गरेको हो ।
मलेसियामा हुने एसीसी यू–१९ एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले ४ वैकल्पिक खेलाडीसहित १४ सदसीय टोलीको घोषणा गरेका हुन् ।
एसिया कपको लागि नेपाली टोलीमा कप्तान दिपेन्द्रसँगै सन्दिप लामिछाने, अनिल कुमार शाह, सन्दिप सुनार, पवन सर्राफ, रोहित कुमार पौडेल, प्रनित थापामगर, शाहव आलम र आशिफ शेख रहेका छन् ।
यस्तै किशोर महतो, विक्रम कुमार भूषाल, सन्दिप जोरा, नन्दन यादव र सुमित महर्जन टिममा परेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रकाश केसी, ललित नारायण राजवंशी, रिजन ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
छनोट खेल मलेसियामा आगामी सेप्टेम्बरको ८ देखि १७ तारिखसम्म हुनेछ । नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेको छ । त्यस्तै समूह बि मा मलेसिया, हङकङ र म्यानमार रहेको छ । फाइनलमा पुग्ने दुई टोलि एसिया कपको लागि छनोट हुनेछन् ।