आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग रनले ८३ रनले पराजित भएको हो ।
हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटियो । नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । त्यस्तै आरिफ शेखले २३, उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाउदा विनोद भन्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । नेपाललाई सस्तैमा रोक्न हङकङका इशान खानले ५ तथा एजाज खानले ३ विकेट लिए ।
यो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नै पर्ने चुनौती रहेको छ ।
नेपालले हङकङ दोस्रो खेल आइतबार खेल्ने छ । च्याम्पियनसिपको शिर्ष ४ मा नपर्ने टोलि डिभिजन २ मा घटुवा हुने छ । च्याम्पियनसिपको अन्तिम सातौं चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
छनोटमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट १३ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन । घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।
यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । इशान नवाज १६ रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ – २ विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो ।