आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ ।
दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी गराएको छ ।
नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर, हङकङका अधिकारीले सामुन्द्रिक आधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
खेल भोलि हुने जनाइएको छ । हङकङको मौसम विभागले हङकङ स्थानीय समयअनुसार बिहान ९ बजेसम्म ‘टाइफुन ८’ आउने अनुमान गरेको छ । त्यस्तै अपरान्ह भारी वर्षा हुने विभागले जनाएको छ ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो । हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।
घरेलु टोलिविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ ।
छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नै पर्ने चुनौती रहेको छ । च्याम्पियनसिपको शिर्ष ४ मा नपर्ने टोलि डिभिजन २ मा घटुवा हुने छ । तर, डिभिजन २ बाट शिर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ ।
च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।
च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट १३ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।